श्रीलङ्कामा आएको विनाशकारी बाढीप्रति नेपाल सरकारको दुःख–समवेदना, दुई लाख डलर सहायता प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०८२, सोमबार ०६:३०

काठमाडौं। श्रीलङ्कामा हाल आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख प्रकट गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत श्रीलङ्का सरकार तथा त्यहाँका जनताप्रति समवेदना व्यक्त गर्दै नेपाल यस कठिन घडीमा पूर्णरूपमा साथमा रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा दुई देशबीचको आत्मीयता, मित्रता र पारस्परिक सहयोगका आधारमा नेपाल सरकारले श्रीलङ्कासँग एकजुट भई समर्थन जनाएको बताइएको छ। नेपाल सरकारले विपद्मा परी दिवङ्गत हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरिएको छ।

एक्यबद्धताको भावनास्वरूप नेपाल सरकारले बाढीपीडितहरूको राहत र पुनःस्थापनामा सहयोग गर्न अमेरिकी डलर दुई लाख प्रदान गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, यो कठिन परिस्थितिबाट पुनःउठ्न श्रीलङ्का जनताले देखाउने साहस, शक्ति र धैर्यप्रति नेपाल सरकार तथा नेपाली जनता पूर्ण विश्वास रहेको बताइएको छ।

प्रतिक्रिया