बुढानीलकण्ठमा होमस्टे विकासका लागि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८२, बिहीबार ०६:२५

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा स्थानीय होमस्टे सञ्चालक तथा व्यवसायीहरूसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश स्थानीय पर्यटनलाई व्यवस्थित विकास गर्दै होमस्टे सेवामार्फत आर्थिक सशक्तिकरणको मार्ग खुला गर्नु रहेको नगरपालिका जनाएको छ।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी र उप–प्रमुख अनिता लामाको विशेष उपस्थिति रहेको थियो। नगर प्रमुख अधिकारीले होमस्टे व्यवसाय बुढानीलकण्ठ नगरको सांस्कृतिक पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै यसलाई प्रवर्द्धन गर्न नगरपालिका पूर्ण रूपमा प्रतिवद्ध रहेको दोहोर्याए। उनले होमस्टेले स्थानीय संस्कृतिको संरक्षण र पर्यटकलाई मौलिक अनुभूति दिने भएकाले यस क्षेत्रमा नगरपालिकाले सहजीकरण, तालिम तथा आवश्यक पूर्वाधार निर्माणमा पनि सहयोग गर्ने बताए।

उप–प्रमुख लामाले बुढानीलकण्ठ क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सांस्कृतिक विविधताले समृद्ध भएको उल्लेख गर्दै गुणस्तरीय सेवा, सफाइ, आतिथ्य र स्थानीय पहिचान झल्किने अनुभव प्रदान गर्न होमस्टे सञ्चालकहरूलाई आग्रह गरिन्।

स्थानीय होमस्टे सञ्चालक तथा व्यवसायीहरूले बुढानीलकण्ठ नगरपालिकाले होमस्टे प्रवर्द्धनका कार्यहरू सुरु गरिदिएकोमा खुशी व्यक्त गर्दै नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनीहरूले होमस्टे सेवा विस्तारले नेपाली तथा विदेशी दुवै पर्यटकहरूलाई आकर्षित गर्ने, स्थानीय उत्पादकहरूलाई बजार जोड्ने तथा सामुदायिक आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले नगरपालिका र स्थानीय व्यवसायीबीच प्रत्यक्ष समन्वय स्थापना गर्दै बुढानीलकण्ठमा पर्यटन विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया