काठमाडौँ । पछिल्लो २४ घण्टाभित्र छिमेकी मुलुक भारत र पाकिस्तानमा आत्मघाती विस्फोट भएको छ । इस्लामाबाद र नयाँ दिल्लीमा भएको यी विस्फोटहरूमा तीन दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् र दर्जनौँ घाइते भएका छन्।
पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी–११ स्थित जिल्ला तथा सत्र अदालतको प्रवेशद्वारनजिक मंगलबार दिउँसो आत्मघाती विस्फोट भएको हो।
गृहमन्त्री मोहसिन नक्वीका अनुसार विस्फोटमा १२ जनाको मृत्यु र कम्तीमा २७ जना घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको छ, जसमा केहीको अवस्था गम्भीर छ।
प्रहरीले अदालत वरपरका क्षेत्र खाली गराएर प्रमाण संकलन सुरु गरेको छ। फोरेन्सिक टोलीले अनुसन्धान अगाडि बढाइरहेको भए पनि विस्फोटको स्रोत र उद्देश्य खुल्न बाँकी छ।
प्रधानमन्त्री सहबाज सरिफले घटनाको कडा निन्दा गर्दै आक्रमणमा ‘भारत समर्थित अतिवादी समूह’ संलग्न हुनसक्ने दाबी गरेका छन्। भारतले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
इस्लामाबादको विस्फोटअघि करिब १८ घण्टा पहिले भारतको नयाँ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक रोकिराखेको कारमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १२ जनाको ज्यान गएको छ र २० भन्दा बढी घाइते भएका छन्। कार विस्फोटपछि वरपरका अन्य सवारीसाधनमा आगलागी भई ठूलो क्षति पुगेको छ।
दिल्ली प्रहरीले आतंकवादी आक्रमणको आशंका गर्दै प्रतिआतङ्कवाद कानुन अन्तर्गत अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार, उक्त सेतो आई–२० कार फरिदाबाद मोड्युलसँग जोडिएको र डा. मोहम्मद उमर नामका व्यक्ति सोही कारभित्र लामो समय बसिरहेको देखिएको बताइन्छ।
सुरक्षा निकायहरूले हालै जम्मु–कश्मीर र हरियाणामा सञ्चालन गरिएको अपरेसनबाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको पनि जनाएका छन्। विस्फोटमा प्रयोग गरिएको आरडीएक्सको पुष्टि भने अहिलेसम्म भएको छैन।
सुरक्षा एजेन्सीहरूले आत्मघाती आक्रमणको कोणबाट पनि अनुसन्धान सुरु गरेका छन्। घटनास्थलमा आरडीएक्सको कुनै प्रमाण भने भेटिएको छैनन्।
प्रतिक्रिया