अस्पतालको ४ करोड ८० लाख गायब : बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०८२, सोमबार ०६:१८

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतलगायतले भोटेकोशी जलविद्युत् आयोजनालाई धम्क्याएर लिएको ५ करोडमध्ये ४ करोड ८० लाख रुपियाँ गायब पारेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्रबिसे नगरपालिकामा आइतबार छापा मारी त्यससम्बन्धी कागजात नियन्त्रणमा लिएपछि उक्त रकम गायब पारिएको पाइएको हो ।

नगरपालिकाका मेयर बस्नेतलगायतको समूहले मध्य भोटेकोशी जलविद्युत् आयोजनालाई धम्क्याउँदै बाह्रसबिसे नगरअस्पतालका लागि भन्दै १० करोड रुपियाँको लिने सहमति गर्न सफल भएको थियो । ५ –५ करोड गरी दुई किस्तामा उक्त रकम लिने सहमति भएअनुरूप सो आयोजनाले पहिलो किस्तामा ५ करोड नगरपालिकालाई दिएको थियो । तर, त्यसरी अस्पताललाई दिएको रकम मेयर बस्नेतले अन्यत्र खर्च गरेको पाइएको छ । अस्पताललाई दिएको ५ करोड मेयर बस्नेतले अन्यत्र खर्च गरी दुरुपयोग गरेको भन्दै अख्तियारमा पटक पटक उजुरी आएपछि अख्तियारको विशेष टोलीले आइतबार बाह्रबिसे नगरपालिकामा पुगी छापा मारेको हो । अख्तियारले अस्पताललाई भनेर ल्याइएको रकम कहाँ कहाँ खर्च भयो ? भनेर नगरपालिकाका कर्मचारीहरूसँग सोधपुछ गर्दै त्यससम्बन्धी सबै कागजात नियन्त्रणमा लिएको थियो । कागजात नियन्त्रणमा लिएपछि अख्तियारले गरेको थप अनुसन्धानका क्रममा भोटेकोशीबाट प्राप्त भएको ५ करोडमध्ये २० लाख मात्रै अस्पतालमा पठाएर अन्य पैसा मेयर बस्नेतले आफूखुशी विभिन्न शीर्षकमा खर्च गरेको पाइएको हो । यसरी मेयर बस्नेतले अस्पतालका लागि भनेर ल्याइएको रकम जथाभाबी र अन्यत्र खर्च गरेको पाइएपछि मेयर बस्नेतसमेत अनुसन्धानको घेरामा पर्नुभएको छ । स्रोतका अनुसार मेयर बस्नेतले अस्पतालका लागि प्राप्त सो रकम आफूनिकट विद्यालय, तथा अन्य विभिन्न निकट संस्थाहरूलाई वितरण गर्नुभएको छ ।

नगरपालिका र मध्यभोटेकोशी कम्पनीबीच गत २०८१ साल भदौ २३ मा बाह्रबिसे नगर अस्पतालको स्तरवृद्धि गर्न भन्दै कम्पनीले १० करोड रुपियाँ नगरपालिकालाई उपलब्ध गराउने सम्झौता भएको थियो । सो सम्झौतामा नगरपालिकाका तर्फबाट मेयर बस्नेत र भोटेकोशी कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्रलगायतले हस्ताक्षर गरेका छन् । यसैगरी सम्झौतामा आयोजना प्रभावित ३ र ४ नं वडामा ५०–५० लाख रुपियाँ दिने निर्णय पनि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply