काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको सोमबार बिहान टेकु दोभानमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।शेर्पाको अन्तिम श्रद्धाञ्जली स्वरूप ऊर्जा मन्त्री कुलमान घिसिङ र पर्यटन सचिव हरिप्रसाद मैनालीले राष्ट्रिय झण्डा ओढाई सम्मान प्रकट गरेका थिए । यसैबीच, नम्बर १८ गण कीर्तिपुरबाट खटिएको १० जनाको १ सेक्सन टोलीले शोक सलामी अर्पण गरेको थियो ।
अन्त्येष्टि समारोहमा नेपाल पर्यटन बोर्डका सीईयो दिपकराज जोशी, नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पा,राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना लगायतका पर्यटन व्यवसायी, संघ संस्थाका प्रतिनिधि थिए ।
सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको पहिलो सफल आरोहण गर्दा कान्छा २१ वर्षका थिए । १५ जेठ २०१० (२९ मे १९५३) मा सम्पन्न उक्त ऐतिहासिक आरोहण दलमा १६ जना बेलायती र ३५ जना नेपाली शेर्पा सहभागी थिए ।
कान्छा शेर्पाको योगदान नेपाली पर्वतारोहण इतिहासमा सधैं स्मरणीय रहनेछ । अन्त्यष्टिमा कान्छाका दुई छोरा लाक्पा तेन्जिङ, छिरिङ पिन्जो शेर्पा लगायत सहभागी थिए ।
९३ वर्षका कान्छा शेर्पाको निधन बिहीबार बिहान २:१० बजे काठमाडौंको कपनस्थित निवासमै भएको थियो । उनी केही महिनादेखि घाटीको क्यान्सर र ट्युमरबाट पीडित थिए । पाँच दाजुभाइ र तीन दिदीबहिनीमध्येका माइला कान्छा नाम्चेमा जन्मिएका थिए ।
उनको वास्तविक नाम फुर्वा भए पनि घरपरिवारमा ‘कान्छा’ भनेर बोलाइँदा नागरिकतामै सोही नाम राखिएको थियो ।

प्रतिक्रिया