नेपाल पर्वतारोहण संघको साझा उम्मेदवारमा कुलबहादुर गुरुङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८२, मंगलवार ०६:२१

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङलाई साझा उम्मेदवारको रुपमा अघि बढाएको छ । गुरुङलाई विभिन्न राजनीतिक दलका पर्यटन व्यवसायीहरुले समेत साझा उम्मेदवारको रुपमा अघि सारेको हो ।

पर्यटन क्षेत्रको सवाल र मुदाहरुमा प्रखर वक्ताको रुपमा स्पष्ट धारणा राख्न सक्ने गुरुङ नै भएकाले एनएमएको अध्यक्षमा गुरुङलाई अघि सानुपर्ने माओवादी, एमाले, समाजवादी र स्वतन्त्र व्यवसायी निकट संगठनहरुमा समेत छलफल हुने गरेको पाइएको छ ।

आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको तर्फबाट गुरुङलाई सर्वसम्मत अध्यक्ष पदमा घोषणा गरिसकेको छ ।

करिब चार दशकदेखि नेपालको पर्यटन व्यवसायमा सक्रिय गुरुङले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा उकास्नका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

‘नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि मेरो उम्मेदवारी हो । म अनुभव, कार्यदक्षता र साझा नेतृत्वमार्फत एनएमएलाई अझ प्रभावशाली र उत्तरदायी बनाउनेछु’, उनले भने ।

नेपालका हिमाली सम्भावनालाई चिनाउने अभियान, पर्वतारोहणको सुरक्षित व्यवस्थापन तथा सम्बन्धित समुदायको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको दावी छ ।

को हुन कुल बहादुर गुरुङ

नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष, तथा अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ (UIAA) का व्यवस्थापन समिति सदस्यको रूपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।

त्यस्तै, गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (GTEAN) तथा गणेश हिमाल पर्यटन विकास समिति (GHTDC) का संस्थापक अध्यक्ष, हिमालयन समुदायहरूको जलवायु (CAHC) का सचिव, किवानिस नेपाल जिल्लाका मास्टर ट्रेनर, र एलाइन्स ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा.लि. का प्रबन्ध निर्देशक समेत रहेका छन् ।

प्रतिक्रिया