काठमाडाैं। गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ। त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको भक्तपुर नगरपालिकाको पर्यटक शाखाले जनाएको छ।
भक्तपुरमा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटक भित्रिएका थिए। त्यसमा गैरसार्क मुलुकका एक लाख १६ हजार ४०१ र चीनसहितको सार्क राष्ट्रका एक लाख २९ हजार १९२ जना थिए।
आव २०८१/८२ मा अघिल्लो वर्षको तुलनामा करिब एक हजार जना पर्यटक कम भित्रिए पनि पर्यटन शुल्क भने वृद्धि भएको नगरपालिकाले जनाएको छ। आव २०८१/८२ मा पर्यटक शुल्कबाट नपाले रु २९ करोड ११ लाखभन्दा बढी संकलन गरेको नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले बताए।
Arghakhachi cementShree Steel
त्यसमा गैरसार्क पर्यटकबाट २३ करोड ३३ लाख ७८ हजार ७६० र चीनसहितका सार्क राष्ट्रका पर्यटकबाट पाँच करोड ७७ लाख ४३ हजार पर्यटन शुल्क उठेको छ। आव २०८०/८१ मा पर्यटक शुल्कबाट नगरपालिकाले २७ करोड ४५ लाख संकलन गरेको थियो। त्यसमा गैरसार्क पर्यटकबाट २० करोड ९९ लाख ७५ हजार ९५० र सार्क तथा चीनसहितका राष्ट्रका पर्यटकबाट छ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको थियो।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा एक करोड ८३ लाख १२ हजार ४६० बढी पर्यटक प्रवेश शुल्कबाट नगरपालिकाको आय वृद्धि भएको हो। नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांकअनुसार आव २०८१/८२ मा सबैभन्दा बढी भारतीय पर्यटकले नगरको अवलोकन गरेका छन्। गत वर्ष भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटक भक्तपुर आएको केन्द्रले जानकारी दिएको छ।
प्रतिक्रिया