पदबाट हटाइएकै दिन मन्त्रीको लाश भेटियो, बर्खास्त गरिनुभन्दा पहिल्यै मरिसकेको खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८२, मंगलवार ०५:४०

काठमाडौं । रुसको अनुसन्धान समितिले देशका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट मृत फेला परेको रिपोर्ट गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मात्रै स्टारोभोइटलाई उनको पदबाट हटाएका थिए ।

उनलाई बर्खास्त गर्नुको कुनै कारण दिइएन। त्यसको केही समयपछि उप-परिवहन मन्त्री आन्द्रेई निकितिनलाई नयाँ मन्त्री नियुक्त गरियो। अब अनुसन्धान समितिले यो घटनाको पछाडिको कारण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ।

स्टारोभोइटको मृत्युको घोषणा हुनुभन्दा अघि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई पत्रकारहरूले स्टारोभोइटको बारेमा सोधेका थिए। प्रश्न थियो – कुर्स्कमा भएका घटनाहरूका कारण पुटिनले स्टारोभोइटमाथिको विश्वास गुमाएका हुन् ?

जवाफमा पेस्कोभले भने, “यदि विश्वास गुमेको भए, राष्ट्रपतिको आदेशमा यही लेखिएको हुन्थ्यो। यस्ता कुनै शब्द प्रयोग गरिएको थिएन।”

फोर्ब्स प्रकाशनले अनुसन्धान एजेन्सीसँग सम्बन्धित स्रोतहरूलाई उद्धृत गर्दै लेखेअनुसार कि स्टारोभोइटको मृत्यु सम्भवतः शनिबार र आइतबार बीचको रातमा भएको हुन सक्छ।

राज्य डुमा (रूसी संसदको तल्लो सदन) रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभले पनि रूसी मिडिया आउटलेट रिभीलाई स्टारोभोइटको “धेरै पहिले” मृत्यु भएको बताए।

यद्यपि, आरबीसी रिपोर्ट अनुसार सोमबार स्टारोभोइट आफ्नो कारबाट केही मिटर टाढा झाडी पछाडि मृत फेला परेका थिए। उनको शव भेटिएको ओडिन्ट्सोभो पार्किङ स्थलमा काम गरिरहेका अनुसन्धानकर्ताहरूको तस्बिर र भिडियोहरू बाहिर आएका छन्।

स्टारोभोइटलाई मे २०२४ मा यातायात मन्त्री बनाइएको थियो। उनी लगभग एक वर्षसम्म यस पदमा रहे। यसअघि उनी युक्रेनसँग सीमा जोडिएको कुर्स्क क्षेत्रको गभर्नरको रूपमा करिब पाँच वर्ष काम गरिसकेका थिए। उनीपछि एलेक्सी स्मिरनोभलाई त्यहाँको गभर्नर नियुक्त गरिएको थियो।

यसअघि, स्मिर्नोभले कुर्स्क सरकारको प्रमुखको रूपमा काम गरेका थिए। मिडिया र टेलिग्राम च्यानलका स्रोतहरूका अनुसार स्टारोभोइट विरुद्ध फौजदारी मुद्दा दायर गर्न सकिन्छ। ‘कोमरसेन्ट’ ले लेखेको छ – स्मिर्नोभले कथित रूपमा पूर्व मन्त्री स्टारोभोइट विरुद्ध बयान दिएका थिए।

आरबीसी प्रकाशनका अनुसार कुर्स्क क्षेत्रमा किल्ला निर्माणको क्रममा स्टारोभोइट भ्रष्टाचारमा संलग्न थिए कि थिएनन् भन्ने बारेमा अनुसन्धान भइरहेको थियो।

प्रतिक्रिया