काठमाडौं। राजस्व अनुसन्धान कार्यालय बुटवलले चिनीलाई चामल भनेर बेच्ने पश्चिम नवलपरासीका एक जनासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
विभागले नवलपरासीको रामग्राम नगरपालिका–८ मा रहेको नवज्योति ट्रेडर्सले ३ करोड ४७ लाख बराबरको चिनीलाई चामल उल्लेख गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाएको फेला परेपछि सञ्चालक सौरभ यादवविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो।
नवज्योति ट्रेडर्सले सुर्खेतस्थित आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्स सञ्चालक पुष्पा शर्मालाई चामलको बिल बनाएर ११ लाख बढीको चिनी पठाएको अवस्थामा ट्रकसहित पक्राउ परेपछि अवैध कारोबार भएको खुलेको हो।
उक्त ट्रेडर्सले ट्रक पक्राउपछि थप अनुसन्धानका क्रममा तीनपटकसम्म चामलको बिल बनाएर चिनी पठाउने गरेको भेटिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए।
मूल्य अभिवृद्धि करमा दर्ता नभएको र पटक पटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याइएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले नवज्योति ट्रेडर्सका सञ्चालक यादवलाई ३ करोड ४७ लाख ६२ हजार बिगो कायम गरी शत प्रतिशत जरिवाना माग गरिएको छ ।
कुल ६ करोड ९५ लाख २५ हजार जरिवाना सहित कैद सजाय माग गरेर मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताए।
सामान खरिद गर्ने सुर्खेतस्थित आवागवन स्टोर्स एन्ड अर्डर सप्लायर्स सञ्चालक पुष्पा शर्माविरुद्ध पनि ११ लाख ७१ हजार बिगो कायम गरी शतप्रतिशत जरिवानासहित मुद्दा दायर गरेको छ।
प्रतिक्रिया