‘टेक एन्ड पे’ संशोधनसहित आगामी आवकाे बजेट बहुमतले पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०८२, बुधबार ०५:२५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बाबजुत आर्थिक वर्ष २०८२/८३ को बजेट संसद्बाट पास भएको छ। नदी प्रवाहमा आधारित (रन अफ द रिभर‑आरओआर) जलविद्युत आयोजनासँग ‘टेक एन्ड पे’ अवधारणा अनुरूप विद्युत खरिद सम्झौता (पीपीए) गर्ने विषय संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएकाे हाे।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। बजेटमा ‘टेक एन्ड पे’ को व्यवस्था गरेपछि सत्ता समिकरणमै ठूलो हलचल मच्चिएको थियो।

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर ‘टेक एन्ड पे’ नहटाए बजेट पास नहुने चेतावनी दिएका थिए। सत्ता साझेदार दलका सभापतिले नै बजेट पास नहुने चेतावनी दिएपछि सोमबार साझ कांग्रेस र एमालेबीच ‘टेक एन्ड पे’ हटाउने सहमति भएको थियो।

बजेटमाथि विभिन्न सांसदहरुले प्रश्न पठाएका थिए। सांसदले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीसहित विभिन्न मन्त्रीहरुले दिएका थिए। योसँगै आगामी आर्थिक वर्षको लागि बहुमतले पास भएको छ। रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लामो समयदेखि संसदमा भइरहेको छलफल बहिस्कार गर्दै आएको छ।

प्रतिक्रिया