तरकारीमा खानै नहुने गरी विषादीको मात्रा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०८२, शुक्रबार १२:३३

कञ्चनपुर । कञ्चनपुरमा बिक्री भइरहेको तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक विषादीको मात्रा पाइएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीले तरकारीको नमूना परीक्षण गर्दा यो तथ्य पत्ता लागेको हो।

शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी बजारका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीको नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष भेटिएको छ। करेलाको नमूना परीक्षण गर्दा त्यसमा कार्वामेट १४.८५७ प्रतिशत र अर्गानोफस्फेट ६०.५९९ प्रतिशत विषादी पाइएको थियो।

तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र उपभोगयोग्य मानिन्छ। यदि ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राखेर वा ‘क्वारेन्टाइन’ गरेपछि मात्र खानयोग्य हुन्छ। तर, विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइएमा तरकारी नष्ट गर्नुपर्छ किनभने त्यो खानयोग्य हुँदैन।

प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ। झलारी बजारमा अनुगमनका क्रममा सङ्कलन गरिएका काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका नमूनाहरू परीक्षण गरिएको थियो। रायोको नमूनामा ३३.९४८ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो भने अन्य नमूनामा विषादीको अवशेष ०.१५० देखि २७.९२७ प्रतिशतसम्म पाइएको थियो।

विषादीको मात्रा अत्यधिक भेटिएका तरकारीहरू पसलबाट तत्काल जफत गरी नष्ट गरिएको छ। विषादी प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गराइएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाले जनाएको छ।

गत दुई साताअघि महेन्द्रनगरको सब्जीमण्डीमा राखिएको काँक्राको नमूनामा पनि खानै नहुने मात्रामा विषादी फेला परेको थियो। चालु आर्थिक वर्षमा हालसम्म सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट २,१६७ वटा कीटनाशक विषादी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ। तीमध्ये १६ वटा नमूना खान अयोग्य पाइएका छन्, भने आठ वटा नमूना केही दिन पर्खेर मात्र खानयोग्य थिए। बाँकी २,१४३ वटा नमूना भने खानयोग्य थिए।

कञ्चनपुरबाट मात्र ८२२ वटा तरकारीका नमूना सङ्कलन गरिएकोमा नौवटा नमूनामा विषादीको मात्रा अत्यधिक पाइएको छ। कैलालीमा पनि ६२४ तरकारीका नमूना सङ्कलन गरिएकामा पाँचवटा नमूनामा खान अयोग्य विषादी भेटिएको थियो।

तरकारीमा प्रयोग गरिने विषादीले पेट दुख्ने, बान्ता हुने, पाचन प्रणालीमा समस्या आउने, टाउको दुख्ने, पक्षघात हुनेजस्ता समस्या निम्त्याउँछ। लामो समयसम्म विषादीयुक्त तरकारीको प्रयोगले आन्द्रा, कलेजो वा छालाको क्यान्सर हुने सम्भावना पनि हुन्छ।

प्रतिक्रिया