वर्षाकाल अगाडि नै नागढुङ्गा–नौविसे सडक खण्ड मर्मत सम्पन्न गर्न निर्देशन

1010d2d2ac74983a04a79d43e6a98adcकाठमाडौँ ९ बैशाख । सरकारले आगामी वर्षाकाल अगावै नागढुङ्गा–नौविसे सडक खण्डको मर्मत कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई निर्देशन दिएको छ ।

सो सडक खण्डको मर्मत कार्य सुरु भएको लामो समय भइसक्दासमेत उल्लेखनीय प्रगति नभएको भन्दै चर्को आलोचना भइरहेको बेला सरकारको तर्फबाट पछिल्लो धारणा आएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटालगायतको उच्च सरकारी टोलीले आज स्थलगत निरीक्षण गरी वर्षा पूर्व नै मर्मत कार्य सम्पन्न गर्न निर्देशन दिएको हो ।

समयमै सडक मर्मत हुन नसक्दा सवारी आवागमनमा समस्या पैदा भएको, लामो समयसम्म सवारी जाम हुने गरेको, धुलोका कारण समस्या पैदा भएको, सामान्य पानी पर्ना साथ पहिरो जाने गरेको छ ।

सरकारका तर्फबाट पटक–पटक समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिइएपनि काम हुननसकेको अवस्थामा सचिव बाँस्कोटाको नेतृत्वको टोलीले आज पछिल्लोपटक निर्देशन दिएको हो ।

सो सडक खण्डमा निर्माण व्यावसायीले न्यून मात्रामा जनशक्ति परिचालन गरेको, प्राविधिक उपकरणसमेत न्यूनरुपमा परिचालन गरिएका कारण समयमै काम सम्पन्न हुनसकेको छैन ।

सोमबारको स्थलगत निरीक्षणमा मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशक दयाकान्त झा र सडक विभागका मर्मत सम्भार हर्ने उपमहानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।
सचिव बाँस्कोटा नेतृत्वको टोलीले यसअघि गत मङ्सिर २५, पुस १५, पुस ३० र माघ २० गतेसमेत स्थलगत निरीक्षण गरेको थियो ।

सो सडक खण्डअन्तर्गत करिब एक हजार ५०० मिटर सडक ढलान गर्ने तयारी गरिएको छ ।

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री