ओली राजीनामाको मुडमा !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव गुटमा रहेका केहीलाई आफूतिर तान्न राजीनामाको उधारो नयाँ सुत्र प्रयोग गरेको खुलेको छ । पार्टीका शीर्ष नेताबाटै सरकारको आलोचना हुँदा त्यसले आफु र पार्टीलाई समेत क्षति पुग्न सक्ने भन्दै उनले १३ गतेको स्थायी कमिटी बैठक अगाडी नै पार्टी अध्यक्षबाट राजीनामा दिन लागेको स्रोतको दावी छ । तर, आफ्नो राजीनामालाई प्रचण्ड–माधव गुटको जीतको रुपमा नलिन र बाहिर छताछुल्ल नपार्न पनि उनको सर्त छ ।

पछिल्लो समय पार्टीका अर्का अध्यक्ष प्रचण्डले सिधै नयाँ एमाले पार्टी दर्तामा प्रधानमन्त्री ओलीको संलग्नता छ भनेर दिएको अभिब्यक्ति पछि ओलीले नयाँ चाल चल्न राजीनामाको कुरा उठाएको हुनसक्ने अड्कलबाजी समेत गरिएको छ । ‘पार्टीमा के–के खिचडी पाक्छ हामीलाई नै थाहा हुन्न,’ नेकपाका एक नेता भन्छन्, ‘ओलीजी र प्रचण्डजीको दिमागमा के पाक्छ र के निस्कन्छ भन्ने कसैले बुझ्दैनन्, सबै अनुमान मात्रै हो ।’

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा दिनुपर्ने अडानबाट प्रचण्ड–माधव गुट पहिले नै पछाडि हटिसकेको छ । भारतीयसँग मिलेर राजीनामा मागेको आरोप लागेपछि र सडकमा ओलीपक्षको प्रदर्शन शुरु भएपछि प्रचण्ड–माधव गुटपछि हटेको हो ।

यता ओलीले पार्टी अध्यक्षबाट साँच्चै राजीनामा दिने हुन् की भन्ने बुझेपछि ओली निकट नेताहरुको बालुवाटार आउजाउ बढेको नेकपाका एक नेताले बताए । ओलीलाई राजीनामा दिनबाट रोक्नुपर्ने अडानमा रहेका रक्षामन्त्री ईश्वर पोख्रेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, खगराज अधिकारी, महेश बस्नेत, गोकुल बाँस्कोटाले राजीनामा दिन नहुने भनेका छन् । यिनै नेताहरु अहिले ओलीले दुवै पद नछाड्ने भन्दै मिडियाबाजी समेत गरिरहेका छन् ।

तर अध्यक्ष ओलीले पनि राजीनामा उधारो हुने र कोही आत्तिन नपर्ने भन्दै त्यो नयाँ कार्ड मात्रै भएको आफ्ना निकटलाई बताएका छन् । ओली पार्टीबिरोधी र अटेरी होइन पार्टी बचाउन लागिपरेको सन्देश दिन र प्रचण्ड–माधव गुटमा रहेका तर ढुलमुले नेताहरुलाई पनि आफ्नै गुटमा तान्न यो सुत्र खोजिएको ओली निकटको दाबी छ ।

सोमवार, साउन १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री