एमसीसीबारे संसदीय समितिमा छलफल हुनुपर्ने माग

 

काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे छलफल हुनुपर्ने सांसदहरुले माग गरेका छन् ।

सार्वजनिक रूपमा बहस र विवादमा रहेको भन्दै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस लगायत दलका सांसदहरूले संसदमा दर्ता भएको एमसीसीबारे समितिमा छलफल हुनुपर्ने माग गरेका हुन् ।

नेकपाका सांसद दीपकप्रकाश भट्टले नेपाल र अमेरिकाबीच सम्बन्ध लामो समयपछि सौहार्द रहेको बताउँदै एमसीसीबारे बाहिर अनेकन विवाद भइरहेकाले समितिले छलफल गर्नुपर्ने बताए । प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतकसमेत रहेकी सांसद पुष्पा भुसालले पनि एमसीसीबारे समितिमा छलफल गराउन समिति सभापति पवित्रा निरौला खरेलको ध्यानाकर्षण गराएकी थिइन् ।

एमसीसीका परियोजना लागु हुने मिति असार १६ रहेको तर अझैसम्म संसदबाट पारित नभएको र संसदमा छलफलसम्म नभएको प्रति कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले पनि ध्यानाकर्षण गराएका थिए ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।

एमसीसी सम्झौतालाई लिएर सत्तारुढ नेकपाभित्र पनि भइरहेको छ । नेकपाले यसको अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने प्रतिवेदन बुझाइसकेको छ ।

शुक्रबार, असार १२, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री