“बालबालिकालाई घरको काम सिकाउँ, व्यस्त बनाउँ”

 

दुर्गा देवकोटा
लम्की । विश्वमा महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि बढ्दोरुपमा देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशले जस्तै नेपालमा पनि बन्दाबन्दी (लकडाउन) गरिएको छ ।

लामो समयको बन्दाबन्दीबाट विश्वमा तथा नेपालमा समेत आर्थिक, सामाजिकलगायत धेरै क्षेत्रमा नराम्ररी क्षति पुगिरहेको छ । नेपालको डेढ महिना लामो लकडाउनबाट यहाँको सामाजिक व्यवस्थामा ठूलो क्षति पुगिरहेको भए पनि यो अवधिमा घरभित्रै सीमित रहेका बालबालिकाले भने घरको काम सिकिरहेका छन् र कतिपयले यस्तै घरायसी काममा अभिभावकलाई सघाउन पनि थालेका छन् । त्यसैले लकडाउनबाट सिर्जित धेरै समस्या हुँदाहुँदै पनि सिर्जनशीलरुपमा बालबालिकाले सिकेको कृषिकर्म तथा घरको कामलाई भने सकारात्मकरुपमा लिनुपर्छ ।

निकै लामो समय घरैमा बस्न बाध्य भएपछि अभिभावकले बालबालिकालाई घरको काम सिकाउन थालेका छन् भने बालबालिका पनि कतिपय यसैमा रमाएका छन् । एसइई या उच्चशिक्षाको परीक्षा दिने तयारीमा रहेका बालबालिका यतिखेर समय निकालेर घरायसी काममा अभिभावकलाई सघाउन थालेका छन् । खानाका विभिन्न परिकार बनाउनेदेखि खाद्यान्न भण्डारण, तरकारी उत्पादनमा बालबालिकाले समयको सदुपयोग गर्न थालेका छन् ।

लम्की चुहा–१ की १० वर्षीया बालिका रेखा बम आजभोलि भान्साको काम सिकिरहेकी छिन् । “मैले चिया, रोटी, तरकारी पकाउन सिकेँ”, बालिका रेखाले भनिन्, “पहिले पहिले बिदा हुँदा साथीहरुसँग खेल्ने गर्थें, यसपटकको लामो बिदामा आमाले घरको काम सिक भन्नुभयो, भान्साको काम सिक्न थालेकी छु ।” रेखाकी आमा ममता सिंहले छोराछोरी फुर्सदिला भएपछि आफूसँगै घरको काममा व्यस्त राख्न थालेको बताए । “छोराछोरी पढ्ने र समय–समयमा टेलिभिजन हेर्थे, टेलिभिजन पनि कति हेरुन् खाली समयमा घरायसी काममा सघाउन थालेका छन्”, सिंहले भने, “मसँगै काम गर्छन् आजभोलि काम बाँडफाँड गरिदिएकी छु । यसले मलाई पनि सहयोग भएको छ । उनीहरुको समय व्यतित हुनाका साथै कृषिकर्म पनि सिकेका छन् ।”

कैलालीकै टीकापुरकी १४ वर्षीया बन्दना विक पनि घरको काम सिक्न थालेकी छिन् । बन्दनाले घर सरसफाइ, भान्साको काम र करेसाबारीको काममा समेत अभिभावकलाई सघाउने थालेको बताइन् । “आमाबुवासँग सबै काम गर्न थालेकी छु”, बन्दनाले भनिन्, “बिहान घर सफा गर्ने, बिस्तारा मिलाउने, लुगा धुने काममा आमालाई सघाउँछु, दिउँसो आमासँग करेसाबारीमा काम गर्छु । समय सजिलै बितेको छ अनि करेसाबारीमा तरकारी बालीको बारेमा धेरै जानकारी पनि लिइसकेँ ।” बन्दनाले त्यसबाहेक मोबाइलमा उत्प्रेरणा दिनेखालका ज्ञानवर्द्धक सेमिनार, मन्तव्य, फिल्मसमेत हेर्न थालेको बताइन् ।

कक्षा १२ को परीक्षाको तयारीमा रहेकी पूर्णिमा शर्मा घरको कामबाहेक आजभोलि पुराना किताबसमेत अध्ययन गर्ने गर्छिन् । “आजभोलि भान्साको सबै काम मैले सम्हालेकी छु, आमाले घर बाहिरको काम गर्न थालेकी छिन् । उनलाई पनि सजिलो भएको छ”, पूर्णिमाले भनिन्, “अन्य समयमा पुराना किताब पढ्न थालेकी छु, केही साहित्यिक किताबसमेत अध्ययन गर्न थालेँ ।”

पूर्णिमा साथीहरुसँग भिडियो कन्फ्रेन्समार्फत पढाइसम्बन्धी छलफल गर्ने, हिसाब सिक्ने कार्यसमेत गरिरहेको बताउँछिन् । “परीक्षा नजिकिँदै गर्दा विद्यालय बन्द भए के गर्नु ? बन्दको पनि सदुपयोग गर्नुपर्छ भनी मैले नयाँनयाँ सीप सिक्ने, घरको काममा सघाउने, थप पुस्तक पढ्ने कार्य गर्न थालेकी हुँ”, पूर्णिमाले भनिन्, “यो समय सदुपयोग गर्ने हो, परीक्षा अनिश्चित भएको छ । तनाब त किन नहुनु तर काममा व्यस्त रहे तनाव व्यवस्थापनमा सहयोग पुग्छ ।”

टीकापुरकै सुष्मा परियारका पिता टेलर व्यवसायी हुन् । एसइईको तयारीमा रहेकी सुष्माको परीक्षा स्थगित भएपछि आजभोलि उनले पितासँग सिलाइको काम सिक्न थालेकी छन् । “साँझ बिहानको समय अध्ययन गर्छु, दिउँसो बाबासँग सिलाइ सिक्न थालेकी छु”, सुष्माले भनिन्, “दुई साता तनाव भयो, यो वर्ष खेर जान्छ भन्ने पिरले केही काममा मन लागेन । पछि बाबाले सम्झाएपछि सीप सिक्न थालेँ ।” सुष्माले एक महिनामा बाबाले कटिङ गरेको कपडा सिलाउने काम सिकिसकेको बताइन् । “सजिलो काम म गरिदिन्छु, बाबालाई सहयोग भएको छ”, सुष्माले भनिन्, “घरमै कपडा सिलाउनेहरु आउँछन्, हाम्रो व्यापार पनि चलिरहेको छ । मैले पनि सिक्न थालेकी छु ।”

रेखा, बन्दना, पूर्णिमा, सुष्माजस्तै केही बालबालिका अभिभावकको सहयोगमा घरको काम सिक्न थालेका छन् भने केही बालबालिकामा मनोसामाजिक समस्या पनि देखिन थालेको छ । लामो समय विद्यालय बन्द हुँदा बालबालिकामा समस्या देखिन सक्ने भएकाले अभिभावकले सतर्कता अपनाउनुपर्ने शिक्षाविद्हरु बताउँछन् । लम्की चुहाका रोशन जैसी एसइईको तयारीमा थिए । परीक्षा स्थगित हुँदा उनले लामो समयसम्म किताब छोएनन् । “मेरो छोराले परीक्षा हुन्न भन्दै किताब पढ्न छोड्यो, खाना नखाने, टोलाएर बस्ने ग¥यो”, रोशनकी आमा रुपा जैसीले भनिन्, “मलाई पनि तनाव भयो, मनोसामाजिक परामर्शदातालाई बोलाए, उनले चार घण्टा छोरासँग कुरा गरिन् । छोरा आजभोलि नियमित अध्ययन गर्ने, घरमै ब्यायाम गर्ने, घरको काममा सघाउन थालेको छ ।”

मनोसामाजिक परामर्शदाता धनराज विक यो समयमा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने बताए । “अभिभावक चनाखो हुनुपर्छ, नियमित विद्यालय गइरहेका, साथीभाइसँग खेलिरहेका विद्यार्थीमा घरभित्रै थुनिँदा मानसिक समस्या देखिनसक्छ”, परामर्शदाता विक भन्नुहुन्छ, “यस्तो बेलामा बालबालिकालाई घरको काममा व्यस्त राख्ने, आफूसँगै रमाउने वातावरण तयार गर्नुपर्छ ।”

उनका अनुसार फरक व्यवहार देखापरेमा चिकित्सकको सल्लाह लिने, मनोसामाजिक परामर्श दिने कार्य आवश्यक हुन्छ । “धेरै बालबालिकाले पढाइ बिदापछि घुम्न जाने, रमाइलो गर्ने योजना बनाएका थिए, योजना बनाएका कुरा पूरा गर्न नपाउँदा तनाव त हुन्छ नि”, विक भन्छन्, “यो बेला घरको काम, बारीको काम, केही नयाँ सीप सिकाउने वातावरण तयार गरेमा उनीहरुको दैनिकी सहज हुन्छ ।”

विकका अनुसार बालबालिकालाई पढाइको तनाव कम गर्न घरायसी काममा अभिभावकले सँगसँगै हिँडाउनु सकारात्मक पक्ष हो । यसले घरायसी कामको बोझ कम गर्न मद्दत गर्छ भने बालबालिकालाई अभिभावकसँग नजिक गराउने काम गर्छ । लकडाउनका कारण विद्यालय बन्द भएपछि तनावमा रहेका केही विद्यार्थी कहिले विद्यालय चल्छ भनी प्रधानाध्यापकलाई दैनिक सोध्नसमेत थालेका छन् । जानकी गाउँपालिकास्थित जनता मावि मुनुवाका प्रधानाध्यापक नारायणप्रसाद तिमिल्सिनाको दैनिक विद्यार्थीलाई सम्झाउनमै दिन बित्ने गरेको छ । “दैनिक १० जना विद्यार्थीले फोन गरेर सोध्ने गरेका छन् । विद्यार्थी धेरै निराश भएको देखिन्छ”, प्रअ तिमिल्सिनाले भने, “हामीले घरको काम सिक, घरमा भएका अन्य किताब पढ्ने गर भन्छौँ ।”

यसैगरी खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशर रावललाई पनि एसइईको तयारीमा रहेका विद्यार्थी दैनिक फोन गर्ने गर्छन् । “सम्पर्कमा आएका विद्यार्थी कहिले परीक्षा हुन्छ भनी सोध्छन्, लकडाउन खुलेको दुई सातापछि हुनसक्छ भन्ने गरेका छौँ”, रावल भन्छन्, “हाम्रो विद्यालयमा केही विद्यार्थी बाहिरी जिल्लाका पनि थिए, उनीहरु गृहजिल्ला फर्किएका छन्, उनीहरु बढी चिन्तित छन् ।”

विद्यार्थीहरु परीक्षा कहिले हुन्छ भनी अन्योल भएपछि पढाइमा ध्यान नगएको बताउँछन् । उनीहरु आफ्नो वर्ष खेर जाने भन्दै चिन्तासमेत व्यक्त गर्न थालेका छन् । “यसरी चिन्ता गर्ने विद्यार्थीका अभिभावकलाई परामर्श दिन थालेका छौँ”, प्रअ रावल भन्छन्, “बालबालिकामा समस्या नदेखियोस् भन्नेमा हामी सतर्क भएका छौँ, समस्या देखिएका विद्यार्थीलाई मनोसामाजिक परामर्शतादातासँग सम्पर्क गराउने कार्य गर्न थालिएको छ ।”

यस्तो अवस्थामा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नसक्ने भएकाले उनीहरुलाई घरमै विभिन्न रचनात्मक क्रियाकलापमा संलग्न गराई पढाइप्रति उत्प्रेरणा जगाउन आवश्यक रहेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए । “प्रेरणा दिनेखालका मन्तव्य, फिल्म हेर्न लगाउनुहोस्”, अवस्थी भन्छन्, “घरको काम सिकाउने गरौँ, जसरी हुन्छ बालबालिकालाई व्यस्त र सिर्जनात्मक कार्यमा सक्रिय गराउन आवश्यक छ ।”

शिक्षा विकास समन्वय इकाइ कैलालीका प्रमुख वैकुण्ठ सुवेदी विद्यार्थीमा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले स्थानीय तहले विद्यार्थीलाई घरमै अध्ययनका लागि प्रोत्साहन गर्ने कार्य गरिरहेको बताए । “केही विद्यार्थीको हतारमा परीक्षा भयो, एसइई परीक्षा त अघिल्लो दिन स्थगित भएकाले तनाव हुनु स्वाभाविकै हो”, सुवेदी भन्छन्, “यस्तो बेलामा मनोसामाजिक परामर्श दिनेखालका कार्यक्रम रेडियो तथा सञ्चारमाध्यममार्फत दिन आवश्यक छ ।” अभिभावकले बालबालिकालाई आफूसँगै पारिवारको वातावरणमा घुलमिल गराउने प्रयास गरेमा बालबालिकाको मनमा नकारात्मक कुरा खेल्न नपाउने सुवेदीले बताए ।

बिहिबार, जेष्ठ १, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री