माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ पुष २०७५, बिहीबार ०५:२०

बेझाड । माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् ।

घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७०र०७१ देखि साविक जिल्ला कृषि विकास कार्यालयले माछापालनकार्यक्रममार्फत सहयोग गरेपछि जिल्लामा माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो ।

कार्यालयले परम्परागत शैलीमा माछापालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउन प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । अन्य पेशा तथा व्यवसायका तुलनामा माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको माछापालन व्यवसायी सङ्घ जिल्ला अध्यक्ष एवं अगुवा कृषक महेश्वर पन्त बताउनुहुन्छ । “उत्पादित माछा बिक्री गर्न बजार सहज भएपछि यस व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन्”, उहाँले भन्नुभयो ।

एक कृषकले वार्षिकरूपमा रु दुई लाखदेखि तीन लाखसम्म माछापालन व्यवसायबाट आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । पाँच रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय गर्नुभएका पन्तले वार्षिक करीब तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

यहाँका कृषकले सिल्भर, बिगहेड, कमन, रहु, ग्रास कार्प जातको माछापालन गरेका छन् । सीमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमीनमा कृषकले माछापालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लामा हालसम्म १५६ जना कृषक माछापालन व्यवसायमा आबद्ध छन् । यहाँ छ दशमलव ५५ हेक्टर क्षेत्रफलमा १४१ वटा पोखरीमा व्यक्तिगत तथा सामूहिकरूपमा कृषकले माछापालन व्यवसाय गर्दै आएको पाइएको छ ।

जिल्लाको तानसेन, रामपुर, रैनादेवी छहरा, गल्धा, दोभान, पोखराथोक, बौघापोखराथोक, सोमादी, कसेनी, अर्गलीलगायतका क्षेत्रका कृषक यस व्यवसायमा आबद्ध छन् । बिक्रीका लागि बजार सहज भए पनि भैरहवाबाट माछाका भुरा ल्याउन समस्या परेको सम्बद्ध कृषक गुनासो गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१