लुम्बिनीमा सवा दुई अर्ब रुपैयाँ बढी लगानीमा पाँच तारे होटल बन्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७५, आईतवार ०४:५२

बुटवल । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सवा दुई अर्ब रुपैयाँ बढी लगानीमा पाँच तारे होटल बन्ने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीनजिकै खुनगाईमा स्थानीय अम्रिक चौधरीको एकल लगानीमा सात बिगाहा क्षेत्रफलमा होटल भिल्लाजियो प्रा.लि. निर्माण सुरु भएको हो ।

स्थानीय उद्यमीको लगानीमा बन्न लागेको पाँचतारे होटल लुम्बिनीकै पहिलो हो । पहिलो चरणमा साढे तीन बिगाहा जग्गामा बनाउन लागिएको होटलमा एक अर्ब ५९ करोड १० लाख ८७ हजार रुपैयाँ लगानी हुने होटलका अध्यक्ष चौधरीले बताए । यो लगानी जमिन बाहेकको हो ।

‘हामीले पहिलो चरणमा डेढ अर्बभन्दा केही बढी लगानी गर्छौं, विस्तारै लगानी थपेर सात तारे होटेल बनाउने योजनासाथ अघि बढेका छौं’, उनले भने । दोस्रो चरणमा ८० करोड लगानीमा गार्डेनसहितको रिसोर्ट बनाइने छ । यस्तै, तेस्रो चरणमा एक अर्ब बढी लगानीम हेलिप्याडसहितको साततारे बनाइने छ । साततारे बन्दासम्म होटलमा करिब ५ अर्ब लगानी पुग्ने अनुमान गरिएको संचालक चौधरीले बताए ।

एक सय ३० वटा कोठासहित बन्ने होटलमा २ सय ५० वडा बेड रहने छन् । होटलमा २ वटा प्रेसिडेन्टियल सुइट, १० वटा एक्जिक्यिुटिभ, ९० वटा डिलक्स, २३ वटा सुइट रुम तथा तीन वटा रेष्टुरेन्ट रहने छन् । त्यहाँ एउटा ठूलो र ३ वटा साना गरी ४ वटा स्विमिंग पुल बनाइने छ । यस्तै, होटल भित्रै ४ सय वर्गमिटरको वातावरणमैत्री ध्यान केन्द्र पनि स्थापना गरिने छ । होटलमा प्रत्यक्षरुपमा करिब एक हजारले रोजगारी पाउनेछन् । स्थानीयलाई प्राथमिकता दिइ रोजगारी दिइने संचालकले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१