छोरा सम्झेर भक्कानिए प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०७५, सोमबार ०५:३७

दोलखा । वर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर मुखैमा आएको चुनावको वातावरणले छपक्कै छोपेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचनमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो वर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न झापा पुगेका थिए । झापाका सभा सकेर उनी काठमाडौंफर्किने तरखर गर्दै थिए। अचानक काठमाडौंबाट एउटा अपत्यारिलो खबर आयो जसले उनी छाँगाबाट खसेझैं भए।

‘अघिल्लो साल मंसिर २ गते दिन झापामा केपी ओलीजीको चुनावी क्षेत्रमा थिएँ,’ शनिबार दोलखा सदरमुकाम चरिकोटमा दाहालले वर्ष दिनअघिको घटना सम्झिँदै भने, ‘राजधानी फर्कने तरखर गर्दै थिएँ, अचानक एउटा खबर आयो, प्रकाश अब रहेनन्‘१’

यति भनेपछि दाहालका गला अवरुद्ध भएका थिए । उनी बोल्नै सकेनन् । केही बेर भक्कानिए । चरिकोटको टुँडिखेल मैदानमा उनलाई सुन्न बसेकाहरू स्तब्ध बने । छोरा बितेको प्रसंगपछि भक्कानिएका दाहालको केहीबेर गला अवरुद्ध भयो । तुरुन्तै आफूलाई सम्हाले । प्रसंग मोडिहाले । उनले अघिल्लो वर्षको निर्वाचनको माहोलबीच आफ्नो परिवारमा आइपरेको उक्त विपत्पछि देशमा कम्युनिस्ट पार्टीको गठबन्धनले जितेको, पार्टी एकीकरण भएको र दुईतिहाइको कम्युनिस्ट सरकार गठन भएकोतर्फ प्रसंग मोडेर सुन्न बसेकाहरूको ध्यान अन्यत्रै खिच्न खोजे।

तत्कालीन माओवादी केन्द्र निकटको एउटा गैरसरकारी संस्था रिनेजम नेपालले अध्यक्ष दाहाललाई आफ्ना छोरा प्रकाश दाहालको स्मृतिमा आयोजना गरेको फुटबल प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुने अवसर जुटाइदिएको थियो । प्रायः मञ्चहरूमा लामो राजनीतिक भाषण गर्ने दाहालले शनिबार उक्त सभामा राजनीतिक भाषण गरेनन् । झन्डै ४ मिनेट बोलेका उनले छोराको प्रसंग झिकेलगत्तै भक्कानिए पनि आपूmलाई सम्हाल्न खोजे । ‘प्रकाश मेरो परिवारको सदस्य मात्र भन्दा पनि पार्टीको पनि एउटा योद्धा थियो,’ दाहालले भने, ‘ऊ जत्तिको युवा प्रतिभालाई प्रोत्साहन दिएकोमा आभारी छु।’

अघिल्लो वर्ष मंसिर ३ गते बिहान निधन भएका प्रकाश दाहालको चितामा दागबत्ती दिँदै गहभरि आँसु पारेर अन्त्येष्टिमा आएका कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणलाई हात हल्लाएर आपूm सम्हालिएको सन्देश दिएको दृश्यले धेरैको मन छोएको थियो।

जानकारहरुका अनुसार दाहाल आफैंमा जति शक्तिशाली छन् त्यति नै उनका आफ्नै दुःख छन् । जेठी छोरी ज्ञानु केसीको ५ वर्षअघि क्यान्सर लागेर निधन भयो । श्रीमती सीता बिरामी छिन् । ‘देशको तनाव जति छ, उहाँलाई त्योभन्दा बढी पारिवारिक तनाव छ भन्ने लाग्छ,’ नेकपाका नेता एवं दोलखा १ का प्रदेशसभा सांसद विशाल खड्काले भने, ‘यस्तो बेलामा यस्ता कार्यक्रमले उहाँलाई लागेको चोटमा मलम लगाउन बल मिल्नेछ भनेर पार्टीको सल्लाहबमोजिम प्रकाशको स्मृतिमा दोलखामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गरेका हौं,’ । खड्काले दोलखाको कार्यक्रमबाट प्रकाशको सामाजिक तथा राजनितिक पक्षलाई उजागर गरेको सुनाए।

दोलखाकै एकजना कम्युनिस्ट कार्यकर्ताले चार्टड गरिदिएको हेलिकप्टर चढेर शनिबार मध्याह्न चरिकोट ओर्लिएलगत्तै दाहाल नेकपाको जिल्ला कार्यालय पुगेका थिए । त्यहाँ जिल्ला पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गरेर प्रतियोगितास्थल टुँडिखेल आएका थिए । ढिलो गरी चलेको प्रतियोगिताको छोटो उद्घाटन समारोह सकिएलगत्तै दाहालले केहीबेर दोलखा जिल्ला फुटबल संघ र गोरखा जिल्ला फुटबल संघबीच भएको उद्घाटन खेलसमेत हेरेका थिए।

निकै ठूलो धनराशि खर्च गरेर गरिएको प्रतियोगितामा राष्ट्रियस्तरका ए डिभिजनसहित दर्जन बढी टिम सहभागी छन् । प्रचण्डकी बुहारी एवं स्वर्गीय प्रकाशकी पत्नी विना मगरको विशेष सक्रियतामा आयोजना भएको यो कार्यक्रममा विना भने आइनन् । आयोजकहरूले उनी समापनमा आउने बताएका छन्। नागरिक न्युजबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०