मुख्य पर्यटकीय गन्तब्य हेलम्बु डायरी (फोटो र भिडियो )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ कार्तिक २०७५, बिहीबार १४:०८

हेलम्बुको मेलम्चीघ्याङ 

साविकका हेलम्बु, किउल, पाल्चोक, महाँकाल र ईचोक गाविसहरु गाभिएर बनेको हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको उतर पश्चिमी भेगमा अवस्थित छ । हेलम्बु गाउँपालिका समुन्द्री सतहबाट करिब १००० देखि ५००० मिटरसम्मको उचाईमा फैलिएर रहेको छ । २०६८ सालको जनगणना अनुसार गाउँपालिकाको कुल जनसंख्या १७,६७१ रहेको छ । माथिल्लो भूभागमा ह्योल्मो र तामाङ जातीको बाहुल्यता रहेको छ भने तल्लो बेशी भूभागमा ब्राम्हण, क्षेत्री, दमाई, कामी, आदि जातीको बाहुल्यता रहेको छ । यहाँका प्रमुख पर्यटकीय केन्द्रहरु आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, घोप्टेघ्याङ ,पाल्चोकी माई आदि हुन् । हेलम्बु क्षेत्रभित्र ऐतिहासिक महत्वका गुम्बा (घ्याङ), माने, गुफा आदि धेरै संरचनाहरु रहेका छन् ।

https://www.facebook.com/rastriyakhabar/videos/284902972134360/

हेलम्बु क्षेत्रमा ह्योल्मो जातीको बाहुल्यता छ । ह्योल्मो जातीको मुख्य बसोवासको थलो योल्मो क्षेत्र (हेलम्बु) को नामाकरणका बारेमा विभिन्न मतहरु रहेका छन् । दावा साङवो लामाको पुस्तक (योल्मापा देवा ङ्येतोङ वंशको ईतिहास, २०६२) मा लेखिए अनुसार यो ठाउँ नेछेना वेयुल ह्योल्मो हो । नेछेनाको अर्थ महातीर्थस्थल हो । वेयुलको अर्थ अमूल्य चीज लुकेको ठाउँ हो । ह्योलको अर्थ वरिपरि हिमालले घेरिएको स्थान र मो को अर्थ देवी अर्थात आमा याङ्रीद्धारा रेखदेख गरिएको क्षेत्र भन्ने बुझिन्छ । त्यही शब्द हेलम्बु हुन गएको भन्ने मत बलियो छ ।

https://www.facebook.com/rastriyakhabar/videos/345441792691152/

 शिक्षाको उज्यालो
हेलम्बु क्षेत्र (साविक हेलम्बु गाविस) को सबैभन्दा शुरुको बस्ती तिम्बु हो भने अन्तिमको बस्ती मेलम्चीघ्याङ । सबैभन्दा अन्तिमको बस्ती मेलम्चीघ्याङस्थित मेलम्चीघ्याङ आवासीय मावि हेलम्बु र सिन्धुपाल्चोक सेरोफेरोमा मात्रै चर्चित छैन, स्तरीय पढाई, चुस्त दुरुस्त अनुशासन र राम्रो व्यवस्थापनका लागी नेपालकै नमुना बनेको छ ।  सम्पूर्ण रुपले साथ दिने समर्पित शिक्षकहरुको टीम छ । त्यसैले त त्यो स्कूल जिउँदोजाग्दो छ । शिक्षाको ज्योति मेलम्चीघ्याङमा झलमल्ल बलिरहेछ ।

 

 

सजावट 

हेलम्बु सेरोफेरोका घ्याङयुल, तार्केघ्याङ, मेलम्चीघ्याङ आदि कैयन प्राचीन बस्तीका घर (खाङबा) हरु माहुरीको गोलोजस्तै थिए । एकनासका, असाध्यै मिलेका र लोभलाग्दा । घरका झ्याल (कार्कुङ) र ढोका (घो) मा असाध्यै मिहिन तरिकाले बुट्टा खोप्ने चलन छ, जसलाई हेल्मो भाषामा ‘मिर्चा कुम्बा’ डिजाइन भनिन्छ । भुइँतल्लालाई होकाङ र माथिल्लो तल्लालाई साकाङ भनिन्छ । भुइँ तल्लोमा खाना खाने, सुत्ने र पूजापाठ गर्ने सुन्दर हल हुन्छ । काठको भुइँ, काठको भित्ता र काठको सिलिङ छापिएको सिनित्त परेको कोठाको भाडाकुडा सजावट असाध्यै लोभलाग्दो । भाडा राख्ने दराज (छिटि) र खाना खाने होचो टेबुल (सोल्जो) ले कोठाको सुन्दरतामा मिठास थपेको हुन्छ ।

भान्सा कोठामा भाडाकुडामा असाध्यै सजाएर राख्ने चलन छ हेल्मो समुदायमा । भाडा राख्ने त्यो दराजजस्तो संरचनालाई छिटि भनिन्छ । नयाँ बनेका घरहरुको भित्रको सजावटचाहि पहिलेको जस्तै छ । गाउँपालिकाले मौलिक वास्तुकला बचाउने गरी घर बनाउन प्रोत्साहन गरिरहेको छ । पुरानै मिर्चा कुम्बा शैलीमा तेम्बाथाङमा एकीकृत बस्तीको निर्माण भैरहेको छ, जहाँ गाउँपालिकाले सहयोग गरिरहेको छ । छरिएका बस्तीमा बाटो, बिजुली, विद्यालय जस्ता पूर्वाधारको अभाव भएकोले एकीकृत बनी बनाउने अवधारणाका साथ विभिन्न बस्तीमा काम भैरहेको छ । तेम्बाथाङ त्यसैको उदाहरण हो । मेलम्चीघ्याङ, तार्केघ्याङ त्यसका ठूला बस्तीहरु हुन्, एकीकृत बस्तीहरु नै हुन् ।

बाटोघाटो कठिन 
हेलम्बु सेरोफेरोले बेहोरिरहेको सबैभन्दा ठूलो हैरानी नै बाटोघाटोको हो । अधिकांश बस्ती कच्ची मोटर बाटोबाट जोडिएका छन् । कतैपनि बाटो पक्की बन्न सकेको छैन । हिउँद बर्षा सबै याममा मोटर चल्न सक्ने बाटाहरु थोरै छन् । तिम्बु बजारसम्म हिउँद बर्षा सबै याममा मोटर गुडेपनि तार्केघ्याङ, नाकोते, मेलम्चीघ्याङ आदि विभिन्न बस्तीमा बर्षामा मोटर चल्न सक्दैन । अधिकांश सडकहरु साँघुरा छन् । मोडहरु सहज छैनन् । बाटोहरु ठाडा र भिराला भएकोले जोखिमयुक्त यात्रा गर्न यात्रु बाध्य छन् । नदी तथा खोलाहरुमा पक्की पूलको पनि अभाव रहेको छ । काठमाडौंबाट तिम्बुसम्म दैनिक १०—१२ वटा बसहरु चल्ने गरेका छन् । नागोते—मेलम्चीघ्याङ सडक खण्डको चोक्फूमा मोटर गुड्ने काठे फड्के छ, देख्दै डरलाग्दो । स्थानीयको सहज जीवनपायन र पर्यटकहरुको सहज आवतजावतका लागी बाटो सजिलो बन्नु असाध्यै जरुरी छ । त्यससंगै पदमार्गलाई पनि व्यवस्थित गरिनुपर्छ । पदयात्राको प्रख्यात ठाउँ भएकोले पदमार्गलाई पनि आवश्यक पूर्वाधारहरु सहित सहज बनाउनुपर्छ । ढुंगा छाप्ने, सार्वजनिक शौचालय र धाराहरुको व्यवस्था गर्ने, ओत लाग्ने र दृश्यावलोकन गर्न सहजे हुने संरचना बनाउने, आवश्यक ठाउँमा झोलुंगे पूल बनाउने, संकेतपाटी राख्ने जस्ता काम गरियो भने पैदलयात्रुलाई हिडौं हिडौं जस्तो अवश्य लाग्छ । मोटर बाटोको स्तरोन्नतीबाहेक यस्ता काममा पनि राम्ररी ध्यान जानुपर्छ ।

https://www.facebook.com/rastriyakhabar/videos/1171286533028988/

युवाहरुको लगनशीलता  

। स्याउ र गुम्वाहरुको सहर भनेर चिनिने ग्रामिण भेगको अत्यन्त मनमोहक सुन्दर पर्यटकीयस्थल हेलम्वुमा स्याउ मासिएपछि त्यसको पहिचान जिवित राख्न केही वर्ष अघि भारतको हिमाञ्चल प्रदेशबाट स्थानीय युवाहरुले हजारौँ बोट स्याउको बेर्ना ल्याएर हुर्काएपछि हेलम्बुको पहिचान र मुहार पुनः फेरिँदै गएको हो । हेलम्बुको शेर्मान्थाङ, नाकोते, मेलम्चीघ्याङ, तार्केघ्याङ, छिमीघ्याङ लगायत गाउँमा यसपालीदेखि थोरै परिमाणमा भएपनि स्याउको उत्पादन हुन थालेपछि यहाँका स्थानीय युवा  र पर्यटन व्यवसायी हौसिएका छन् ।

यसकै माध्यमबाट झन बढी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनमा उत्तिकै आँत्तुर देखिएका युवाहरुमा वाङदावा लामा ,पेम्बा दोर्जे शेर्पा ,पेमा शेर्पा निर्मल बन्जारा जोडतोडले लागेका छन् ।  हेलम्बुको पहिचानसंगै पर्यटन प्रवद्र्धन हुनेमा आशा जगाएको युवाहरुलाइ फोन गरेर पर्यटकीय नगरी हेलम्बु घुम्नको लागि आङ्दावा लामा ९८४९३०७१९५,निर्मल बन्जारा ९८५११७५३१०,पेमा शेर्पा ९८४१९१८७६१ र पेम्बा दोर्जे शेर्पा ९८४१७८८१६४ मा सम्पर्क गरि जान सक्नुहुनेछ ।

धन्यवाद ।

फोटो फिचर :         

 

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१