कतारमा काम गरेर फर्केका यी युवाले तरकारी खेतिबाट अहिले ७ लाख कमाई गर्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ कार्तिक २०७५, आईतवार ०४:५८

दमौली । विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो ।छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।

‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उहाँले भन्नुभयो, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ ।’ तरकारीखेतीबाटै गैरेले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

तरकारीखेतीसँगै पशुपालनसमेत गर्नुभएका गैरेले भैँसीको दूध बिक्रीबाट वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको छ । तरकारी र दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

युवा अभावमा धान काट्न समस्या स् तनहुँको व्यास नगरपालिका–८ रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित हुनुहुन्छ । गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको र खेतमै धान झरेर जाने समस्या रहेको उहाँ बताउनुहुन्छ ।

युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु र गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उहाँको भनाइ छ । सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गर्नुभयो । “अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश र अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो”, उहाँले भन्नुभयो ।

धान रोपाइँको क्षेत्रफल घट्यो स् तनहुँमा बाह्र हजार दुई सय पचास हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेको छ । तनहुँमा यस वर्ष करीब दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ घटेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लामा कृषिकर्म गर्ने युवा जनशक्तिको अभाव, वैदेशिक रोजगारी तथा बसाइसराइजस्ता कारणले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन बाँझिने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ ।

तनहुँको तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेफाँटलगायतका क्षेत्रहरु धानखेतीका लागि उपयुक्त फाँटका रूपमा लिइन्छ । यहाँका कृषकले सावित्री, मकवानपुरे, रामपुर, हर्दिनाथ, मन्सुलीलगायतका उन्नत जातका बीउ प्रयोग गरी धानखेती गर्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१