फूलकाे माैसम : भाइतिहारका लागि मखमलीकाे माला गाँस्न र बजारमा बेच्नकै चटारो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०७५, मंगलवार ०५:५५

भक्तपुर। वर्षौंदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ ।उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका बनमाला र अन्य जाति पनि बारीमा लगाएको मखमली फूल टिपेर माला गाँस्नमै व्यस्त छन् तिहार लागिसक्यो, तिहारमा माला बिक्री गर्न नसके फूल खेर जाने भएकाले यहाँका करीब ६० घरपरिवारलाई मखमली फूल टिप्न, माला गाँस्न र बजार लैजान चटारो भएको हो ।

अहिले यहाँका बासिन्दालाई धान भित्र्याउने भन्दापनि माला बिक्री गर्ने चटारो भएको स्थानीय सन्तमाया बाला बताउँछिन् । दश वर्ष अघिसम्म यहाँका वनमालाहरुले मात्रै फूल खेती गर्दै आए पनि पछिल्लो समयमा फूलखेती आम्दानीको मुख्य स्रोत भएको र एकै पटक दुई बाली लाउन सकिने भएपछि यहाँका किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् ।दिनभरमा एकजनाले १०० देखि १५० वटासम्म माला गाँस्ने गरेका छन् । अहिले बिहानैदेखि रातिसम्म नै कोही माला गाँस्ने कोहीले बजार पुर्याउने कामको चाँजो यहाँका बासिन्दाले मिलाएका छन् । व्यापारी गाउँमै माला र फूल लिन आउने भएपछि धेरैले व्यापारीलाई नै माला दिएका छन् भने व्यापारीको माग बमोजिम माला गाँस्नसमेत सकिएको छैन ।

आत्मनिर्भर – सन्तमाया भन्छिन्, “मखमली फूलखेतीले आत्मनिर्भर बनाएको छ, दशैँ–तिहारका लागि अन्यत्र खर्च खोज्न जानु पर्दैन, चाडपर्व मनाएर पनि रकम बचत गर्न सकिन्छ, धान नफल्ने खेत तथा बारीमा लहलह फूल झुल्न थालेपछि यैे खेती शुरु गरेका हौ ।”मखमली फूल खेती गरेकै ठाउँमा अन्यजातका फूल तथा भटमास, मकै लगाएर दोहोरो बालीसमेत उनीहरुले भित्र्याउने गरेका छन् ।

एक रोपनीमा एक लाख – एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु १ लाखसम्म आम्दानी हुने भएपछि किसानहरु फूलखेतीतर्फ आकर्षित भएका हुन् । किसानले चारआनादेखि पाँच रोपनी जग्गासम्ममा फूल खेती गर्दै आएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डु र चाँगुनारायण नगरपालिका –९ ताथली फूलखेतीका लागि प्रसिद्ध छ ।

भक्तपुरका विभिन्न स्थानमा करीब पाँच सय हेक्टर जमीनमा फूलखेती हुने गरेको छ । वर्षेनी जिल्लामा करीब रु तीन करोडभन्दा बढीको फूल बिक्री हुने गरेको छ । घरबाट व्यापारीहरुले प्रतिमाला रु २० देखि २५ सम्म दिने गरेका र आफैँले बजारमा लगेर बेच्दा रु ५० सम्म आउने गरेको उनीहरु बताउँछन् ।भक्तपुरमा उत्पादन भएका मखमली फूल र माला राजधानीसँगै विभिन्न जिल्ला र विदेशमा समेत निर्यात हुने र गाउँमै व्यापारी आएर लैजाने भएपछि किसानलाई निकै सहज भएको गरिबसँग विश्वेश्वर कृषि समूहकी संयोजक मन्सरा मिश्र बताउछिन् ।

यसरी भए आकर्षित – विसं २०६० मा स्थानीय विकास कोषले फूलखेतीमा किसानलाई आकर्षित गर्न तालीम र बिउविजन दिएपछि किसानहरु फूलखेतीमा आकर्षित भएका हुन् । वैशाख–जेठ महीनामा रोपेको मखमली फूल साउनदेखि टिपेर राख्ने र असोजदेखि बिक्री गर्ने गरिन्छ । साउनदेखि फूल टिप्न थाले पनि कात्तिकसम्म नै फूल टिप्न मिल्छ ।मखमली फूलको माला खोज्न साउनदेखि नै व्यापारी आउने गरेको ताथलीकी सरिता बालाले जानकारी दिइन् । खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले अहिले बनमाला बाहेक अन्य जातिले पनि फूलखेती गर्ने गरेको उनको भनाइ छ ।व्यावसायिक फूलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने गरिएको संयोजक मिश्रको भनाइ छ ।भाइटीकामा कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिए दाजुभाइले दीर्घजीवन पाउने विश्वासका कारण तिहारमा यो फूलको महत्व बढेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०