यमपञ्चक सुरु : आज काग तिहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०७५, सोमबार ०५:२५

नेपालीको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।

काग तिहार
यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ ।

आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । “तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ” । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ ।

बलि राजाको पूजाका सम्बन्धमा एउटा किंवदन्ती पनि छ ः वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे । उनी दानी राजाका रुपमा कहलिएका थिए जसका कारण देवतामा समेत त्रास फैलिएको थियो । भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासित ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरीक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान् विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा वामनलगायत पुराणमा वर्णन गरिएको छ ।

विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ ।

यही मान्यताका कारण आजकाल पनि देउसीभैलो खेल्दा “हामी त्यसै आएनौँ बलि राजाले पठाए” भनी भट्याउने गर्छन् । लक्ष्मीपूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसीभैलो खेल्न थालेका छन् ।

लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुआतदेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ताअघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ ।

तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलन छ जसका कारण दुर्घटना बढ्न थालेको छ । यस मौसममा सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्छन् । तिहारको अन्तिम दिन कात्तिक ४ गते कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ जसलाई भाइटीका भनिन्छ ।

धनतरेस

कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतरेससमेत भनिने आजका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०