सहकारी मार्फत देशलाई समृद्ध पार्न सकिन्छ : प्रधानमन्त्री

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ आश्विन २०७५, आईतवार ०४:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको  विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औँल्याउनुभयो ।

कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यामबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

“बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उहाँले पु-याएको योगदान महत्वपूर्ण छ, उहाँसँग थुप्रै अनुभव छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति हो भन्नुभयो ।

केशव बडाल सहकारी पत्रकारिता सम्मान

यसैबीच यस वर्षबाट केशव बडाल सहकारी पत्रकारिता सम्मान वितरण शुरु गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासङ्घकी सञ्चालक ओमदेवी मल्लद्वारा स्थापित रु एक लाख एक हजार राशिको कोषमार्फत यस वर्षबाट पत्रकारिता सम्मान प्रदान गर्न थालिएको हो ।

सहकारीको क्षेत्रमा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै हरेक वर्ष उक्त सम्मान वितरण गरिने जनाइएको छ ।

यस पटक पहिलो सम्मान नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंलाई प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१