डेङ्गु सङ्क्रमण भेटिन थालिएपछि स्थानिय त्रसित

anis.shahi20@gmail.com' anish shahi
२६ आश्विन २०७५, शुक्रबार ०८:२१

बर्दिवास। वडादशैँ पर्वको मुखमा डेङ्गु सङ्क्रमण भेटिन थालिएपछि महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा त्रास फैलिएको छ । गत वर्ष लाग्दो असोजदेखि नै शुरु भएको डेङ्गु प्रकोपले ८४७ जना सङ्क्रमित भएको सम्झँदै यहाँका बासिन्दा यसपाली पनि दशैँकै मुखमा यो समस्या भेटिएपछि त्रसित भएका हुन् ।बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचारका लागि आएका बर्दिवास–३ गौरीडाँडाका ५० वर्षीय जनकप्रसाद घिमिरे र बर्दिवास–६ कृष्णपुरका ३५ वर्षीय विनोद भट्टराईमा अहिले डेङ्गुको सङ्क्रमण भेटिएको हो । यो समस्या पुष्टि हुनासाथै नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि सचेतना अभियानसँगै लार्भा नष्ट अभियान शुरु गरेको बर्दिवास नपाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

नगर क्षेत्रमा डेङ्गुको सङ्क्रमण भेटिएपछि जाँच र उपचार सामग्री तन्दुरुस्त गरिएको बर्दिवास जिल्ला अस्पतालले जनाएको छ । “नगरमा डेङ्गुको सङ्क्रमण भेटिएपछि हामीले जाँच र उपचार सेवाको सबै तयारी गरेका छौँ”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले भन्नुभयो, “यो नियन्त्रण गर्न अस्पतालभित्रको तयारीसँगै डेङ्गु बिस्तार हुने कारणको निवारणका लागि सामाजिक सचेतना र लार्भा नष्ट अभियान पनि सँगसँगै बढाउन पर्ने हुन्छ ।” गत वर्ष जस्तै यसपाली पनि असोजमै यो समस्या देखिएपछि तत्काल यसलाई नियन्त्रण गर्न सबैपक्षको पहलकदमी आवश्यकपर्ने झा बताउनुहुन्छ ।

सफा पानीमा फुल पार्ने ‘एडिज एजिप्टाइ’ नाउँको लामखुट्टेले टोकेपछि डेङ्गु सर्ने गर्छ । बोतलको बिर्को, कचौरा वा गिलासमा ननिथ्रिएको थोरै पानी (२ एम एल) मा पनि पूmल पार्ने यो लामखुट्टेका लार्भा धेरैजसो सडक किनारमा फिँजाएर राखिएका पुराना टायर ट्युबको कापमा जमेको पानीमा भेटिने गरेको अस्पतालकै स्वास्थ्यकर्मी रामबाबु यादवले बताउनुभयो । एकपटकमा ३०० फुल पार्ने यो लामखुट्टेका नयाँ लार्भा सात दिनमै पूर्ण बयस्क हुने र डेङ्गु सङ्क्रमित पोथीले पारेका फुलबाट विकास हुने सबै सङ्क्रमित हुने भएकाले यसको सङ्क्रमण चाँडै फैलनेतर्फ सामाजिक सजगताको आवश्यकता रहेको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् ।गत वर्ष अभियान नै चलाएर घरघर र पसल÷पसलमा ‘एडिज एजिप्टाइ’ पोथी लामखुट्टेले फुल पार्नसक्ने ठाउँ नष्ट गरिएका थिए । तर अहिले फेरि पुराना टायर र ट्युब सडक किनारमा राखिन थालेपछि यसलाई अब सामाजिक अपराधकै कोटीमा राखेर कारवाहीको विषय बनाइने नगर प्रमुख कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०