५० करोड खर्चिँदै ललितपुर महानगरपालिका

anis.shahi20@gmail.com' anish shahi
२५ आश्विन २०७५, बिहीबार १२:४९

काठमाडौं । ललितपुर महानगरपालिकाले यो वर्ष मात्रै सडक स्तारेन्नतिका लागि ५० करोड खर्चिने भएको छ । यस अन्तरगत २८ किलोमिटर सडक पिच गर्ने कार्यक्रम महानगरपालिकाले बनाएको छ । गत वर्ष महानगरले ११ करोड मात्रै सडकमा बजेट विनियोजन गरेको थियो । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार मेलम्ची खानेपानी आयोजनाले पनि भत्काएका धेरै शहरी सडकहरु पिच गर्दैछ । यसमा थप २८ किलोमिटर पिचको काम महानगरपालिकाले आफ्नै स्रोतबाट गर्ने उनले बताए । महानगरपालिकाले यो वर्षबाट चार मिटरभन्दा सानो सडक कालोपत्र नगर्ने भएको छ । पूर्वाधार निर्माणमा संलग्न उपभोक्ता समिति परिचालनमा कडा नीति लिएको छ । समयमा काम नगरे उपभोक्ता समितिहरु नै खारेज गर्ने महानगरले बताएको छ ।

महानगरपालिकाले ४ मिटरभन्दा फराकिला सडकलाई मात्र पिच गर्ने नीति लिएको छ । ४ मिटरभन्दा कम चौडाइ सडकमा ब्लक वा ढुंगा छापिनेछ भने कंक्रिट ढलान सडक बनाइने छैन । यसले शहरमा भूमिगत पानीलाई रिचार्जमा महत्वपूर्ण भूमिका खेल्ने महानगरको विश्वास रहेको महर्जनले बताए । पछिल्लो समय सबै सडकलाई पिच र कंक्रिट ढलान गर्दा आकाशबाट परेको पानी जमिनमुनि जान पाएको छैन । त्यसका कारण काठमाडौंको भूगर्भमा पानीको सतह घट्दै गएर हिँउदयाममा निकै संकट पर्न थालेको छ ।

नगरको घनावस्ती, सम्पदा क्षेत्र र पर्यटकीय क्षेत्रमा पनि ईटा, ढुंगा वा ब्लक बिछ्याइनेछ । स्थानीय उपभोक्ता समितिहरुले महानगरसँग मिलेर सडक, ढल, पानी निर्माण गर्दै आएका छन् । तर, पछिल्लो समय बजेट पारेपछि समयमै काम नगर्ने लगायतका समस्या देखिएको छ । ललितपुर महानगरले बजेटमार्फत त्यसलाई सम्बोधनको प्रयास गरेको छ । बजेटमा आर्थिक वर्ष २०७३/७४सम्म सम्झौता भएर काम सञ्चालन नगर्ने उपभोक्ता समिति खारेज भएको घोषणा गरिसकिएको छ । त्यसपछि सम्झौता भएका आयोजनाहरुको हकमा आगामी आर्थिक वर्षको दोस्रो चौमासिकसम्म म्याद थपिएको छ । यो अवधिमा काम नगर्ने उपभोक्ता समिति खारेज हुनेछन् ।

मेयर चिरिबाबु महर्जनका अनुसार अब जुन आर्थिक वर्षका लागि उपभोक्ता समितिले कार्यक्रम सम्झौता गर्छन्, त्यही वर्षमा सम्पन्न गर्नुपर्ने नीति लिइएको छ । काम सम्पन्न नभए अर्को आर्थिक वर्षमा दायित्व नसार्ने नीति लिइएको छ । ललितपुर महानगरपालिकाले योजना स्वीकृति भएपछि कार्यस्थलको प्रि-फोटो, नक्सा, कार्यातालिका संकलन गरेर मात्रै उपभोक्ता समितिसँग सम्झौता गर्ने बताएको छ । उपभोक्ता समितिले सम्झौता अघि नै आफ्नो लागत सहभागिता दाखिला गर्नुपर्ने नियम ल्याइएको छ ।

शहरी सडकहरुको पिच गर्दा परामर्शदताबाट डिजाइन लिएर सुपर भिजन गर्दै गुणस्तर कायम गर्ने नीति पनि लिइएको छ । महानगरले दशैंअघि नै पिच हुने सडकहरुको लागि टेण्डर आह्वान गर्ने तयारी गरेको छ । सडक पिच गर्दा प्रत्येक सडकमा मेयरकै उपस्थितिमा अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता महर्जनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१