प्रधानमन्त्री ओलीको समय पाएनन् सुस्ताका बासिन्दा

काठमाण्डु । सीमामा दैनिक भोग्नुपरेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् ।सीमामा भारतीय पक्षबाट भइरहेका ज्यादतीबारे सरकार प्रमुखलाई प्रत्यक्ष भेटेर पीडा पोख्न चन्दा उठाएरै आएका उनीहरुले प्रधानमन्त्री ओलीको समयसम्म पाएनन् ।

पटकपटक प्रधानमन्त्रीलाई भेट्न खोज्दासमेत समय नदिएपछि सोमबार फर्किएको सुस्ताबासीले गुनासो गरे । २४ जनाको टोली गत असोज ९ गते राति राजधानी आएको थियो । सुस्ताबाट आई राजधानीमा बसोबास गर्दै आएकाहरुले उनीहरुलाई साथ दिएका थिए ।सुस्ता बचाउ अभियानका अध्यक्ष गोपालप्रसाद गुरुङले भने, ‘टोली आउँदा प्रधानमन्त्री अमेरिका हुनुहुन्थ्यो ।

उहाँ आएपछि भेटेर ज्ञापनपत्र बुझाउन बसेका थियौं, भेट्ने निकै प्रयास ग¥यौं । तर सकिएन ।’ उनका अनुसार सुस्ताका अधिकांश स्थानीय खेती भित्र्याउने समयमा सीमा समस्या समाधानको माग गर्न आएका थिए । लुगाफाटो, तरकारी र खानेकुरा आफैं लिएर आएका उनीहरु थापाथलीस्थित कालमोचन घाटमा आश्रय लिएर बसेका थिए ।

उनले भने, ‘चुनावको समयमा राष्ट्रियताका कुरा धेरै उठ्छ तर जितेर गएपछि राष्ट्रियता सबै हराउने रहेछ । सुस्ताका सम्बन्धमा पनि त्यही भयो । राष्ट्रियताका बारेमा चुनावमा खुब कुरा उठ्यो , अहिले कोही पनि बोल्दैनन् ।’ उनका अनुसार काठमाण्डु बसाइमा गाउँलेका ८० हजार खर्च भयो । ३८ हजार गाउँपालिकाले सहयोग गरेको थियो । बाँकी गाउँले आफैंले बेहोरेका हुन् ।

बुधबार, अशोज २४, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री