बुद्धमंगल ताल संरक्षणको प्रचारप्रसारमा अभाव

परासी । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं १२ मा पर्नेऐतिहासिक बुद्धमंगल  ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिन पुगेको छ । तालमा पर्याप्त पानी भएपनि झार धेरै भएकाले तालको सुन्दरता छोपिएको छ । यो तालको ऐतिहासिकता गौतम बुद्धसँग जोडिएको छ । स्थानीयवासी दीपक बरालका अनुसार बुद्धमंगल ताल ऐतिहासिक हुनुमा शाक्यमुनि बुद्धसँग यसको सम्बन्ध जोडिनु नै हो । यस तालको नामकरण बुद्धमंगल हुनुले पनि बुद्धसँग कुनै न कुनै किसिमले यसको अन्तरसम्बन्ध छ भन्ने बुझ्न सकिन्छ । साढे ६ विघामा फैलिएको र गोलाकार आकृतिमा रहेको यो ताल आजसम्म सुकेको दृष्टान्त छैन । निर्मल र कञ्चन पानी रहेको यस तालको सम्बन्ध बुद्धसँंग जोडिएका विषय र अन्य पनि धेरै किवन्दतिहरु सुनाउने पुस्ता आज पनि जिउँदै भेटिन्छन् ।

बुद्धमंगल ताल संरक्षण समितिका अध्यक्ष दीप प्रकाश लोहनीका अनुसार गौतम बुद्ध काठमाडौँ खाल्डो जाने क्रममा परासीदेखि १२ किलोमिटर पूर्व हाल बर्दघाट नगरपालिका – १२ ९साविक जहदा ५० स्थित मनोरम यो ताल देखेपछि आफ्नो अनुयायीसहित यसै ताल छेउ राति बास बस्नुभएको र सो बसाइको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइहरु दबिला र मंगललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको किंवदन्ति सुन्न पाइन्छ । ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ ९पुरानो दबिला, नयाँ दबिला० रहेका छन् भने मंगलको नाउँ अगाडि बुद्धसमेत जोडी बुद्धमंगल ताल नामकरण गरिएको छ ।

प्रमाणित रुपमा भन्न नसकिए पनि यो ताल धेरै ऋषिमुनि सन्न्यासीहरुको तपस्या थलो बनेको थियो भन्ने तर्कलाई पत्याउने आधार धेरै रहेको अध्यक्ष लोहनीले बताउनुभयो । तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदी पछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि पत्याउन सजिलो आधार मिलेको हो । बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थहरुको मिहिन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा निश्चय पनि केही तथ्यहरु हात पर्ने विश्वास स्थानीयवासीको छ ।

नाक र कानमा गहना लगाएको विशाल मत्स्य देवता तालमा  रहेको कथाहरु पनि प्रख्यात छन् । गहना लगाएको माछा विश्वास गर्न नसकिने भए पनि विशाल माछा तालमा रहेको र त्यो बेलाबखत सतहमा आउने गरेको प्रत्यक्ष देखेका दावी कतिपय स्थानीयवासीले गर्ने गरेका छन् । त्यसैगरी, अजिङ्गर पनि बेलाबखतमा देखिने गरेका छन् । सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ ।

 

 

 

बुधबार, अशोज १७, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री