पर्यटन क्षेत्रको विकास नहुनुमा विद्यमान ऐनकानुन बाधक : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७५, शुक्रबार ०४:०७

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन क्षेत्रको विकास तीब्र गतिमा अघि बढाउन नसक्नुमा विद्यमान ऐनकानुन बाधक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारण सभा समारोहलाई सम्बोधनको क्रममा प्रचण्डले  हरेक काममा ढिलासुस्ती गर्ने पूरानो संस्कार अझै हाबी भएको भन्दै त्यसलाई चिरेर जानुपर्नेमा जोड दिनुभयो । प्रचण्डले भने, ‘२०२९ सालका, २०४० सालका ऐनले नै अहिले पनि पर्यटन क्षेत्रलाई गाइड गरिरहेको छ । त्यसले अहिलेको परिवर्तनलाई संबोधन गर्न सक्दैन ।’ पर्यटक यातायात क्षेत्र मर्यादित भएमात्रै नेपालको सुन्दरताबारे विश्वभर सकारात्मक सन्देश प्रवाह हुने भन्दै प्रचण्डले सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्न सके पचासौं लाख पर्यटक नेपाल भित्र्याउन सकिने बताउँनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नगरिक उडडयनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको दीगो विकासका लागि ६ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याउने दाबी गर्नुभयो । पूरानो पर्यटन ऐनमा ८० प्रतिशत भन्दा बढि संसोधन गर्नुपर्ने भएकोले यसलाई संसोधन नभएर नयाँ ऐनको रुपमा ल्याउन लागिएको भनाई उहाँको थियो ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि पूर्वाधार विकासमा सरकारले तदारुकताका साथ पहलकदमी अघि बढाइरहेको भन्दै यस अभियानमा जुट्न सबैलाई आह्वान गर्नुभयो । उहाँले सन् २०२० मा २० लाख र २०३० मा ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गर्दै त्यसका लागि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधारको मर्मत सम्भार गर्नुका साथै २२ घण्टा सञ्चालनमा ल्याउने काम गरिएको, पोखरा र गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अभिलम्ब सक्नेगरी काम अघि बढाइएको तथा निजगढ विमानस्थलको लागि तीब्र रुपमा काम अघि बढाइएको बताउनुभयो ।

एनटीभीएका अध्यक्ष रामशरण कार्कीले पर्यटक यातायात क्षेत्रको विकासविना पर्यटन क्षेत्रको दीर्घकालिन विकास असम्भव रहेको उल्लेख गर्दै यस क्षेत्रलाई नियमनसँगै प्रोत्साहन गर्ने खालको स्पष्ट नीति निर्माण गर्न अभिलम्ब पहल गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटक यातायात क्षेत्रमा स्वतस्वफुर्त रुपमा ठूलो लगानी भएको भएपनि राज्यस्तरबाट लगानी सुरक्षित गर्नेखालको ठोस पहल गर्न नसकेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाललगायतका बक्ताहरुले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अभियान अत्यान्तै स्वागतयोग्य भएको भन्दै पर्यटन विकासका लागि अब भाषणबाजी नभई ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१