कालो मरिचमा ठुलै मात्रामा तस्करीको आशंका

udaysanu@gmail.com' uday shrestha
८ आश्विन २०७५, सोमबार १७:०४

नेपालगन्ज, ८ असोज – नेपालगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको राजस्व गुल्मले भारतबाट फुटकर रुपमा आयात हुने सामानको लागि भन्सार राजस्व बुझाउनको लागि कडाईको साथमा चेकजाँचलाई तिब्रता दिएको छ भने नेपालगन्जमा भारततर्फ फुटकर रुपमा निर्यात हुने सामानमा कुनै चेकजाँच नगरेको भेटिएको छ ।

हिजोको दिनको तलुनामा आजभोलि नेपालगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले फुुटकर रुपमा आयात हुने सामानको लागि भन्सार गराएर मात्र छोड्ने गरेको देखिएको छ । चेकजाँचमा खटिएका ड्यूटी कर्मचारीहरुको सक्रियताका भन्सार राजस्व संकलन हुनुको साथै भन्सार नै गराउनु पर्ने भएपछि आजभोलि फुटकर रुपमा किनमेल गर्न रुपैडिहा जाने र
क्यारिङ गर्ने गिरोहहरुको चाप भने अहिले घट्दो अवस्थामा रहेको देखिएको छ ।

घरायसी लगायतका सामानको रुपैडिहा जाने प्रवृति अहिले भन्सार कार्यालयको चेकजाँचमा खटिएका कर्मचारीको कारण घट्दो हुनुको साथै जाने आउने भाडा र भन्सार राजस्व जोड्दा नेपालगन्ज बजारमैं सस्तोमा सामान पाइने भएको हुनाले आजभोलि अधिकांशहरु स्थानिय बजारलाई प्राथमिकता दिएको देखिएको छ ।

भन्सार कार्यालयमा भएको कडाईका कारण अहिले स्थानिय व्यापारीहरु पनि आफ्नो व्यापार फस्टाएको कारण खुशी समेत भएको बताएका छन् ।

रुपैडिहाबाट फुटकर रुपमा आयात हुने सामानमा कडाईका साथ चेकजाँचलाई कडाई पारिएको छ भने उता नेपालगन्जबाट रुपैडिहातर्फ जाने सामानमा कडाईका साथ चेकजाँच नहुने हुनाले अत्यधिक मात्रामा प्रतिबन्धित सामानहरु हिजोआज निर्यात भइरहेको जानकारीमा आउन थालेको छन् ।

रुपैडिहाबाट क्यारिङ गर्ने समूह अहिले भन्सारमा कडाई भएपछि नेपालगन्जबाट रुपैडिहातर्फ कालो मरिच, केराउ, चना र सुपारी निर्यात कार्यमा संलग्न रहेको स्रोतले बताएको छ ।

नेपालगन्जको स्थानिय बजारमा कालो मरिच प्रति केजी रु. ४ सयमा खरिदा बिक्री हुन्छ भने सोही कालो मरिच भारतको रुपैडिहामा प्रति केजी रु. ८ सयमा खरिद बिक्री हुने भएकोले अहिले अत्यधिक मात्रामा कालो मरिचको तस्करी भइरहेको स्रोतले बताएको छ ।

रुपैडिहाबाट नेपालगन्ज सामान आयात गर्ने क्यारिङ समूहले आजभोलि अत्यधिक मूनाफा भएको निकासीको लागि प्रतिबन्धित लगाइएको कालो मरिच रुपैडिहा लैजाने कार्यमा सक्रिय रहेको बताइएको छ ।

कालो मरिच रुपैडिहा लगेवापत क्यारिङ गर्नेलाई प्रति केजी रु. २ सयदेखि २ सय पचास दिने भएपछि अहिले कालो मरिच निकासी कार्य फस्टाएको बताइएको छ । हिजोआज थोरै मात्रा अर्थात करिब ४–५ किलो कालो मरिच रुपैडिहा लगेमा रु. १ हजारबढी आम्दानी हुने भएकोले क्यारिङ गिरोह यस व्यापारमा संलग्न रहेको बताइएको छ ।

भन्सार कार्यालयको चेकजाँचको नीतिमा आयातमा मात्र कडाई गर्ने भएकाले निर्यातमा कुनै सक्रियता नदेखिएकोले अवैध कालो मरिच निर्यातको व्यापार अहिले फस्टाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०