सशस्त्र एसपी शाहमाथि माथिल्लो तहको विशेष आशिर्वाद/ संगठनको नियमलाई लत्याउँदै घुमुवा छाड्दै:असुलीको लागि चौलिक्का चेकपोष्ट

udaysanu@gmail.com' uday shrestha
४ आश्विन २०७५, बिहीबार १२:१४

नेपालगन्ज, ०४ असोज । सशस्त्र प्रहरी बल ३० नम्बरको सिमा सुरक्षा कार्यालयले व्यापारीहरुबाट लाइन लिई भन्सार छल्ने गिरोहसँग साँठगाँठ शुरु गरेको सशस्त्र प्रहरी बलभित्रको विशेष स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी बल ३० नम्बरको सिमा सुरक्षा कार्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहद्वारा ब्यापक चर्चामा रहेको रकम असुलीको निम्ति स्थापना गरेको चौलिक्का चेकपोष्ट मुकदर्शक रहेको तथा स्थायी रुपमा घुमुवा प्रहरी परिचालन गरेको सार्वजनिक हुँदा पनि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले अहिलेसम्म कुनै चासो समेत नलिनु रहस्यमय मानिएको छ ।
३० नम्बरको सिमा सुरक्षा कार्यालयका विशेष स्रोतले बताए अनुसार एसपी शाहमाथि सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक मध्ये एकको विशेष आशिर्वाद भएको कारण निर्धक्कका साथ संगठनको नीति नियमलाई लत्याई आफुखुशी कार्य गरी रहेको आफ्नै सुरक्षाकर्मीले बताउने गरेको पाइएको छ ।
एसपी शाहले सशस्त्र प्रहरी बरिष्ठ हवलदार तिर्थ भाटको कमाण्डमा सशस्त्र प्रहरी हवलदार विनोद केसी र सशस्त्र प्रहरी जवान जयराम यादवलाई संगठनको नियमलाई लत्याउँदै घुमुवामा छाडेपनि माथिल्लो निकायबाट अहिलेसम्म केही जानकारी समेत नलिएको बताइएको छ ।
हुन त सशस्त्र प्रहरी बलमा १ वर्ष वा २–३ वर्षमा साना दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई सरुवा गरिने चलन वा नियम भएता पनि घुमुवामा हिड्नको लागि एसपी शाहको आशिर्वाद पाएका वरिष्ठ हवलदार भाट करिब ४ वर्ष बढी सोही कार्यालयमा कार्यरत रहेको, अंगरक्षक गार्डको हैसियतमा कार्यरत रहेका हवलदार केसीको सोही कार्यालयमा ४ वर्ष बढी अवधि भइसकेको र यसैगरी विशेष आशिर्वाद पाएका जवान यादव ३ वर्ष सोही कार्यालयमा कार्यरत अनि नवलपरासी सरुवा पुनः काज सरुवा मिलाई अहिले सोही कार्यालयमा दरबन्दी नै पार्न सफल भएका छन् ।
घुमुवाका इन्चार्ज वरिष्ठ हवलदार भाट भएपनि भित्री खेल भने हवलदार केसीको अहम भूमिका रहेको अन्य कर्मचारीले बताएका छन् । कहाँबाट ल्याउने, को–को लाई कति कति दिने भन्ने कुरामा केसी नै अगाडि हुने गरेको स्रोतले बतायो ।
यहाँसम्म की बिच बाटोमा पत्रकारलाई रोकी मोवाइलमा हात कमाउँदै भ्वाइस रिकर्ड गर्न खप्पिस केसीले आफ्ना हाकिमको दुत बन्ने गरेको पनि पाइएको छ । पत्रकारले पैसा मागिहाल्छन् भन्ने सोचले सुनियोजित तरिकाबाट गराइएको यो घिनौना खेल अहिलेसम्म सफल भने हुन सकेको छैन तथा मिडियामा सार्वजनिक नगर्नको लागि पनि विभिन्न माध्यमबाट पत्रकारलाई नगदको अफर दिई लोभ्याउने कार्य अहिलेसम्म जारी रहेको पाइएको छ ।
घुमुवामा हिड्ने सशस्त्र प्रहरीमाथि एसपी शाहको आशिर्वाद र एसपी शाह माथि सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक मध्ये एकको विशेष आशिर्वाद भएकाले सोही अनुसार कार्य भइरहेकोले अन्य कर्मचारी रुष्ट समेत देखिएको बताएका छन् ।
असोज ९ गते विशेष रुपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायण बाबु थापाको भ्रमण हुने निश्चित भइसकेको र एआईजी थापाको स्वागतको लागि आन्तरिक रुपमा विशेष स्वागत तयारी समेत भइरहेको भित्रि स्रोतले बताएको छ । एआईजी थापाको ९ गते यहाँ स्थित सिमा सुरक्षा कार्यालयमा निरिक्षण पश्चात बर्दियाको सिमा सुरक्षा कार्यालयमा पनि निरिक्षण गर्ने भित्रि योजना रहेको बताइएको छ ।
सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बर्दियाको क्षेत्रमा स्रोतले बताए अनुसार टिपु नाम गरेको बलेह गाउँ, फुटाहा बर्दिया निवासीले ठुलो मात्रामा सामान (खादमल, चिनि, कपडा लगायत) क्यारिङ गरी बर्दियाको बाँसगढी स्थित निर बहादुर खोलीको गोदामसम्म पु¥याई गोदामबाट दांग, सुर्खेत, कालीकोट लगायत पु¥याउने गरेको तथा नेपाल क्षेत्रमा विवाह गरी भारतीय मुलका परिया नाम गरेका एक व्यापारीले मिलेमतोमा भन्सार छली ताराताल बजारमा खुलेआम व्यापार गर्ने गरेको बर्दियास्थित सशस्त्र प्रहरीका एक कर्मचारीले बताएका छन् ।
असुलीको लागि चौलिक्का चेकपोष्ट ? : स्थानियको विरोध भएपछि नेताहरुको अगुवाईमा हटाइएको सशस्त्र प्रहरी बलको चौलिक्का चेकपोष्ट सरुवा भई आउने वित्तिकै एसपी शाहले एउटा खाट राखी २४ घण्टे ड्यूटीमा परिणत गर्दै पोष्ट स्थापना गरेका छन् । भारतबाट भन्सार छलेर आउने सामान चेकजाँच लगायत हातहतियारको विषयमा समेत चेकजाँच बढाउने भनिएर स्थापना भएको चौलिक्का पोष्टबाट चेकजाँच भन्दा पनि को–को क्यारिङ गर्ने व्यक्ति कति पटक सामान लिई छिरे तथा सामान्य रुपमा फुटकर रुपमा आयात गर्ने व्यापारीसँग नगद समेत उठाउने कार्य गरेको मात्र देखिएको छ ।
चौलिक्का चेकपोष्टमा राष्ट्रिय खबर डटकमले करिब १५–२० मिनेटको प्रत्यक्ष प्रशारण गर्ने क्रममा ठुलो मात्रामा सामान बरामद गरिएको थियो भने बरामद गरिएको सामान छुटाउनको लागि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयको मुल गेटको ड्यूटीमा रहेका सुरक्षाकर्मीले ‘पत्रकारले पक्राउ गर्न लगाएको हो, पत्रकारलाई नै भन्नुहोस्’ भन्दै स्थानिय जनतालाई उक्साउने कार्य समेत गर्न लगाएको कुरा मिडियामा सार्वजनिक हुँदा पनि अहिलेसम्म छानबिन नहुनु रहस्यमय नै मानिएको छ ।
सोही कार्यालयमा कार्यरत एक कर्मचारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा यहाँस्थित न्यूरोडका बुलेबुले भन्ने व्यापारीले मोटरसाइकलमा कपडा क्यारिङ गर्ने गरेको, पण्डिताई नाम गरेको एक क्यारिङ गर्नेले विभिन्न पसल–पसलमा वितरण गर्ने गरी कपडाको ठुलो थान आयात गर्ने, सितांग र मन्जुयांग गरेको दुई समूहले ठुलो मात्रामा कपडाको क्यारिङ गर्ने गरेको, सिखनपुर्वाका एक स्थानियले ठुलो संख्यामा अहिले काठ तस्करी गर्ने गरेको तथा ३० नम्बरको सिमा सुरक्षा कार्यालयको पुर्व तर्फबाट दैनिक लाखौं कुखुराका चल्ला अवैध आयात हुने तथा प्रतिबन्धित सामान भारततर्फ निर्यात गर्ने गरेको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी बलको सोही कार्यालयमा कार्यरत अर्का स्रोतले दाबी गर्दै भने–‘भारतबाट प्रत्येक हप्ता भन्सार नगरेर फलफुलको १ ट्रक भित्रिने गर्दछ । उक्त ट्रकमा भन्सारका हाकिम र विशेष आदेशमा चौलिक्काको मिलेमतोमा छाडिने गरेको छ ।’
भन्सार कार्यालयबाट छुटेको ट्रकको चेकजाँच गर्ने अधिकार सशस्त्र प्रहरी बलको राजस्व गुल्मलाई नभएपनि एसपी शाहको समूहलाई चेकजाँच मात्र नभएर जफत गर्ने समेत अधिकार हुँदाहुँदै वास्ता नै गरिएको हुँदैन ।
ती कर्मचारीले भने–‘हिजोको तुलनामा अहिले पत्रकारहरुको कारण असुली कम भएको भएपनि मासिक एसपी शाहका लागि करिब ५ लाख आसपास रकम छुट्टाइन्छ । हुन त एसपी साहेब कर्मचारीहरुको लागि निकै राम्रो हुनुहुन्छ, सबैलाई चाहिएको बेला विदा समेत दिनु हुन्छ तर खाने मामिलामा भने नम्बर वान नै हो ।’
७० नम्बर अंकित सिसमको रुख खोई ? : कुनै पनि सरकारी कार्यालयको स्वामित्वमा रहेको रुखको हकमा वन कार्यालयमा रहेको विशेष समितिमा लिखित निवेदन दिई विभिन्न कार्यालय प्रमुखहरुको रोहवरमा समितिबाट रुख कटानको लागि निर्णय गराई सम्बन्धित कार्यालयले उक्त काठ प्रयोगमा ल्याउन सक्ने व्यवस्था भएपनि सशस्त्र प्रहरी बल ३० नम्बरको सिमा सुरक्षा कार्यालयले त्यसो नगरिएको भेटिएको छ ।
सप्रब ३० नम्बरको सिमा सुरक्षा कार्यालयको कम्पाउण्डमा रहेको ७० नम्बरको सुकेको रुख एसपी शाहको आदेशमा कुनै मापदण्ड पुरा नगरी करिब ७ क्यूफिट मोटाईको सिसमको रुख भाद्र ६ गते काटिएको भित्री विशेष स्रोतले बताएको छ । अवैध रुपमा काटिएको उक्त सिसमको रुखका काठ कहाँ गयो भन्ने विषयमा अहिलेसम्म गर्भमा नै राखिएको छ ।
सरकारी स्वामित्वमा रहेको रुख कटानको लागि वन कार्यालयको विशेष समितिको निर्णय लिनु पर्ने विषयमा वन कार्यालयका निमित्त प्रमुख गणेश बहादुर खड्का भन्नुहुन्छ–‘दंगा प्रहरीको रुख कटानको लागि एक पटक निवेदन आएको थियो तर सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयबाट अहिलेसम्म रुख कटानको विषयमा निवेदन आएको छैन । रुख काटिएको छ वा छैन भन्ने विषयमा हामीलाई कुनै जानकारी नै छैन ।’

https://www.facebook.com/rastriyakhabar/videos/287838242006586/

https://www.facebook.com/rastriyakhabar/videos/2207002359547007/

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०