ग्यासको भाडा नबढेको भन्दै भारतीय ट्रान्सपोर्टरले ढुवानी रोक्ने चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १२:४९

काठमाडौं – लामो समयदेखि ग्यासको भाडा नबढेको भन्दै भारतीय ट्रान्सपोर्टरले ढुवानी रोक्ने चेतावनी दिएका छन्। नेपालमा ग्यास ढुवानी गर्दै आएका ट्रान्सपोर्टरले यहाँका ग्यास उद्योगीलाई पत्र लेख्दै ढुवानी भाडा वृद्धि गर्न दबाब दिँदै यस्तो चेतावनी दिएका हुन्।ट्रान्सपोर्टरले भाडा वृद्धि नगरे अक्टोबर १ बाट ग्यास ढुवानी नगर्ने पत्र उद्योगलाई पठाएका छन् । डिजललगायत लागत खर्च बढेको कारण अहिलेको भाडा दरमा ढुवानी गर्न नसकिने बेहोराको पत्र पठाएकोले नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।भारतको बरौनी–काठमाडौं रुटमा एक सिलिन्डर ग्यास ढुवानीको भाडा ८६ रुपैयाँ रहेको छ । यो भाडा पर्याप्त नभएको भन्दै प्रतिसिलिन्डर १७–१८ भारु वृद्धि नगरे ढुवानी रोक्ने चेतावनी दिएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । नेपालमा बिक्री हुने ग्यास भारतीय बुलेटले ढुवानी गर्दै आएका छन्।ग्यास ढुवानीमा भारतयि निर्भरता रोक्न आयल निगमले स्वदेशी उद्यमीलाई ७ सय ७५ बुलेट सञ्चालन अनुमति दिए पनि भारतीय अवरोधले सञ्चालनमा आउन सकेका छैनन् । स्वदेशी बुलेट नभएले पनि समस्या हुने गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘उपभोक्ताको भान्सासँग जोडिएको विषयमा राज्यका अधिकारी गम्भीर हुनुपर्छ,’ घिमिरेले भने, ‘स्वदेशी बुलेट नहुँदा पनि पटक–पटक भारतीय ट्रान्सपोर्टरले दुःख दिने गरेका छन् ।’भारतीय निकायले ग्यास बुलेटको लािग ‘एक्स्प्लोसिभ’ प्रमाणीकरण नगरेका कारण नेपाली ग्यास बुलेटले ढुवानी गर्न नपाएका हुन्।संघले नेपाल आयल निगमले २०७४ साउन १ देखि लागू हुने गरी सिलिन्डर प्रतिस्थापनबापत प्रतिसिलिन्डर २० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन नगरेकाले सो रकम उपलब्ध गराउन पनि माग गरेको छ । नेपालमा सञ्चालनमा रहेका ५६ वटा ग्यास बोटलिङ उद्योगको कुल क्षमताको ४० प्रतिशतभन्दा बढी सञ्चालन हुन नसक्दा लागतको उचित प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीले बताएका छन् । ४८ वर्षदेखि खाना पकाउने एलपी ग्यासमा रहँदै आएको निजी क्षेत्रको लगानीमाथि खेलवाड भएको व्यवसायीको गुनासो छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१