नदी कटानको चपेटामा बेनी बजार

बेनी । केही वर्ष अगाडि मात्रै बेनीको क्याम्पस चोक र मंगलाघाट क्षेत्रमा भेल बाढीले बजार डुबानमा पारेको थियो । करोडौँको क्षति पु¥याएको बाढीको त्यो घटना बिर्सन नपाउँदै बेनीवासीले फेरि नदी कटानको जोखिम व्यहोर्नु परेको छ। भदौ २७ गते साँझ कालीगण्डकी नदीमा आएको भीषण बाढीले बेनी बजारसँगै गलेश्वरसमेत कटानको जोखिममा पर्यो। धौलागिरि हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा आएको भीषण वर्षा र पहिराको कारण रघुगंगा नदीमा पछिल्लो चार दशक यताकै ठूलो बाढी आएको थियो। रघुगंगा नदी गलेश्वरमा आएर कालीगण्डकीसँग मिसिएको छ। सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा बनाइँदै गरेको पक्की पर्खाल बाढीले बगाएपछि बजार जोखिममा परेको छ।

बेनीस्थित जेसीज हलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिसम्मको हालै निर्माण गरिएको १०० मिटर भन्दा लामो पक्की पर्खाल कालीगण्डकी नदीले बगाएको छ। त्यसैगरी, रघुगंगा नदीको कटानले बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ मा रहेको गलेश्वर बजारको वारि र पारि दुबैतर्फका बस्तीलाई उच्च जोखिममा पारेको छ। बेनी–जोमसोम सडक खण्डअन्र्तगत गलेश्वरमा रघुगंगा नदीमाथिको बेलिब्रिजसँगै नदी किनारमा रहेका वस्ती नदी कटानको जोखिममा परेको स्थानीयवासी मिम प्रसाद थकालीले बताए।रघुगंगा नदीको मुहान क्षेत्र कुईनेमंगले र मुस्ताङको तल्लो क्षेत्रमा भीषण वर्षा हुँदा नदी कटान बढेको हो ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत तिल्केनी, भुरुङ तातोपानी, लगायतका ठाउँमा सडक नै भत्किएका छन्।रघुगंगा खोलामा आएको बाढीबाट रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन र एउटा शौचालय बाढीले बगाएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन बगाएपछि नियमित पठनपाठन प्रभावित बनेको वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए। बाढीले घ्याँसीखर्कमा निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्य चौकी र तीन वटा झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ । रघुगंगा नदीको कटानले घ्याँसीखर्क र खरिबोट वस्तीलाई समेत उच्च जोखिममा परेको छ।

 

आइतवार, भदौ ३१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री