रुपन्देहीमा खुल्यो ‘बेबी डाइपर’ उद्योग

बुटवल । औद्योगिक हब बन्दै गएको रुपन्देहीको तिलोत्तमामा एकअर्ब रुपैयाँ लगानीमा नवजात शिशुका लागि प्रयोग हुने ‘डाइपर’ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । बच्चा जन्मने बित्तिकै उनीहरुको सरसफाईमा प्रयोग गरिने बेबी डाइपर (नेपकिन कट्टु) को उत्पादन गर्ने यो उद्योग नेपालमै पहिलो भएको उद्योगका संचालकको दावी छ ।  बजारको सम्भाव्यता अध्ययन गरी भारत र भुटानलगायतका देशहरुमा निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गरी उत्पादन शुरू गरेको अधिकारीले बताए ।बजारमा अहिले बाह्य मुलुकमा उत्पादित डाइपर प्याकेजिङ् गरी विक्री वितरण हुँदै आएको छ । अमेरिका र चीनमा निर्मित अत्याधुनिक प्रविधिका मेसिनहरू जडित उद्योगले प्रतिमिनेट ४ सय ५० पिस डाइपर उत्पादन गर्छ । प्रतिघन्टा २७ हजार पिस उत्पादन हुन्छ ।दैनिक ८ घन्टा उद्योग चलाउँदा २ लाख १६ हजार पिस बेबी डाइपर उत्पादन हुँदै आएको उद्योगका उत्पादन प्रबन्धक गंगाधर अधिकारीले बताए । हाल दैनिक ८ घन्टा मात्रै उद्योग चलिरहेको छ । आवश्यक कच्चा पदार्थ नेपालमा नहुँदा उद्योगले अमेरिका, क्यानडा र थाइल्याण्डबाट आयात गर्दै आएको छ ।

स्वदेशमै डाइपर उत्पादन हुन थालेपछि अहिले करिब २५ प्रतिशत आयात प्रतिस्थापन भएको उद्योगका अध्यक्ष अधिकारीको दावी छ । भन्सार विभागको तथ्यांकअनुसार मुलुकमा वाषिर्क ४ अर्ब बराबरको डाइपर आयात हुँदै आएको छ । डाइपरको बजार मूल्य प्रतिपिस न्यूनतम १४ देखि २० रुपैयाँसम्म तोकिएको छ ।उद्योगले डाइपरसँगै अब छिट्टै महिलाहरूले प्रयोग गर्ने सेफ्टी प्याडको उत्पादन समेत गर्ने तयारी गरेको छ । त्यसका लागि थप २० करोड लागतमा इटालियन प्रविधिको मेसिन ल्याइने उद्योगले जनाएको छ । उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री