४ करोड ८१ लाख लागतमा भीमसेन मन्दिर पुनर्निर्माणको कार्य सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार १०:४३

ललितपुर – ललितपुर पाटन क्षेत्रका व्यवसायी, स्थानीय र सरोकारवाला व्यक्ति भीमसेन मन्दिर पुनर्निर्माणमा जुटेका छन्। भूकम्प गएको साढे तीन वर्ष बित्दा पनि माथिल्लो निकायले मन्दिर पुनर्निर्माणमा चासो नदेखाएपछि स्थानीयस्तरमै रकम जुटाई मन्दिर पुनर्निर्माणका लागि उनीहरू सक्रिय भएका हुन्।स्थानीयले बारम्बार पहल गर्दा पनि पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिर पुनर्निर्माणमा बेवास्ता गर्दै आएका थिए। भूकम्पका कारण मन्दिरको भित्री भागमा क्षति पुगेको छ। अहिले मन्दिर जोखिम अवस्थामा छ। जुनसुकै बेला ढल्ने र मानवीय क्षति पु-याउन सक्ने भन्दै स्थानीयले तत्काल मन्दिर पुनर्निर्माण थाल्ने बताएका छन् । सरोकारवाला निकायकै ढिलासुस्तीका कारण पुनर्निर्माण रोकिएको मन्दिर बनाउन ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय हातेमालो गर्न लागेका हुन्।दुई वर्षमा पुनर्निर्माण सक्ने गरी ४ करोड ८१ लाख लागतमा मन्दिर पुनर्निर्माणको कार्य सुरु हुनेछ।भीमसेन देवता व्यापारी वर्गको मुख्य देवता मानिन्छन् । यसअघि विश्वसम्पदामा सूचीकृत यो मन्दिर मर्मतसम्भार गर्न पुरातत्व विभागले भारतीय दूतावासलाई दिने निर्णय गरेको थियो। तर, भारतीय दूतावासबाट कुनै जवाफ नआएपछि विभागले स्थानीयलाई टार्दै आएको थियो।यो मन्दिरलाई कान्तिपुत्र, चक्रवती, पञ्चपाकवलगायत नामले पनि चिनिन्छ । भीमसेन देवता राखेको तेस्रो तलामा भूकम्पले क्षति पुगेकाले तान्त्रिक विधिअनुसार मूर्तिलाई भुइँतलामा राखिएको छ। अहिले व्यापारी र स्थानीयले भुइँतलामैै पूजाआजा गर्दै आएका छन् । केही दिनअघि मन्दिर जोखिम अवस्थामा देखिएकाले स्थानीयले टेको लगाएका थिए । क्षमा पूजाका बेला स्थानीयले यही मन्दिरमै पूजाआजा गर्ने गर्दछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१