कालीगण्डकीले धार परिवर्तन गरेपछि तटीय क्षेत्र कटानको उच्च जोखिममा

म्याग्दी – केही वर्षयता कालीगण्डकी नदीमा बाढी आउने क्रम बढेर तटीय क्षेत्रमा कटानको जोखिम निम्तिएको छ । पानीको आयतन बढेपछि तटीय क्षेत्रका बस्ती सँगै विकासका पूर्वाधार कटान र डुवानको चपेटामा परेका हुन् । मौसम परिवर्तनका कारण मुस्ताङमा अत्यधिक वर्षा हुनु, विभिन्न ठाउँका पहिरो, सडकको ट्र्याक खोल्ने र विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा माटोको व्यवस्थापन नहुँदा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी, स्याङ्जा, पाल्पा, नवलपरासी भएर नारायणीमा मिसिने कालीगण्डकी नदीमा विगतका वर्षको तुलनामा बाढीको आयतन बढेको छ । यसअघि न्यून मात्रामा पानी पर्ने मुस्ताङमा यस वर्ष अत्यधिक वर्षा भएको थासाङ गाउँपालिका २ कोवाङका रत्न शेरचनले बताउनुभयो । उहाँकाअनुसार जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिउँदमा कम हिउँ पर्ने र बर्खामा विगतका वर्षको तुलनामा पानी धेरै पर्न थालेको छ । धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीमा मुस्ताङमा सिर्जना भएको वर्षासँगैको बाढीले म्याग्दीमा आइपुग्दा कटान तथा डुवानको समस्या सिर्जना भएको हो । जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले मुस्ताङमा पानी धेरै पर्दा बाढी र नदीको सतह बढेर म्याग्दीलगायत तल्लो क्षेत्रका जिल्लामा कटान र डुवानको समस्या बढाएको बताउनुभयो । “मुस्ताङमा धेरै पानी पर्दा कालीगण्डकीमा बाढी आउनु र सतह बढ्नु स्वाभाविकै हो,” अधिकृत पौडेलले भन्नुभयो – “कमजोर भूगोल भएको म्याग्दीमा बाढीको आयतन बढेर आउँदा साँघुरो ठाउँमा कटान हुने, गहिरिने र फराकिलो ठाउँमा गेगर थुप्रिएर नदीको सतह बढेको हो ।”

कालीगण्डकीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कोप्चेपानी र भुरुङ्ग तातोपानीमा क्षति गरेको छ । मुस्ताङको कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा पर्ने एउटा काठे पुललाई साउन अन्तिम हप्ता कालीगण्डकीमा आएको बाढीले बगाएको थियो । तटीय क्षेत्रका बस्ती, सडक कटान गर्ने, पुल बगाउने जस्ता समस्या देखिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “हामीले विकास ग¥यौं कि विनाश भनेर सोच्नुपर्ने बेलाआएको छ,” अध्यक्ष पुनले भन्नुभयो – “भूगोल हेरेर वातावरणमैत्री विकास पूर्वाधार बनाउनुको विकल्प देखिएन ।” निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक विस्तारका क्रममा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग र निस्किएको ढुँगा, माटो र गेगरको सुरक्षित व्यवस्थापन नहुँदा पहिरो, बाढी र कटानको समस्या बढेको अध्यक्ष पुनको भनाइ छ । कालीगण्डकीले कटान गरेर अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको छ कोठे र आमा समूहको एक वटा सामुदायिक भवन बगाएको छ । कटानको जोखिम बढेपछि दश घर परिवार विस्थापित भएका वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । सडक विस्तारका क्रममा खनिएको पाखो भत्किन र लस्किन थालेपछि पहिरोको जोखिमका कारण अन्नपूर्ण गाउँपालिका ३ गुइठेका ८ र काभ्रेका ३ घर विस्थापित भएका छन् ।

कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्न थालेपछि पर्यटकीय स्थल भुरुङ तातोपानी उच्च जोखिममा परेको छ । नदीले कुण्डतर्फ धार परिवर्तन गरेको छ । कुण्डको करिब दुई सय मिटर तल रहेको एउटा मासुपसल र ब्लक उद्योगमा क्षति पु¥याएको छ । सर्वोदय माविको खेल मैदानको आधाभन्दा धेरै भाग कालीगण्डकीले बगाएको छ । सीमा प्रहरी चौकी वरपरका बासिन्दाहरु सामान सुरक्षित ठाउँमा सारेर बस्न छाडेका छन् । कालीगण्डकीको किनारै किनार खनिएको बेनी–जोमसोम–कोरला सडक पहिरो र कटानले छियाछिया बनाएपछि विगत एक हप्तादेखि अवरुद्ध बनेको सवारी चालक खेम कार्कीले बताउनुभयो । पहिरो पन्छाउन र हिलोमा फसेको गाडी तान्न बाउसो, बेल्चा, कैंची, तार साथैमा बोकेर हिड्ने गरेको कार्कीले बताउनुभयो । मुस्ताङको घाँसा, म्याग्दीको भुरुङ्ग–तातोपानी, बेगखोला, भिरकाटेमा कालीगण्डकीले सडक कटान गरेको छ । चमेरे, बैसरी, बेगखोला, महभिर, गुइठे, डुवाडी, घट्टेखोला, तितर, रुप्से र काभ्रेमा पहिरो खसेर सडक अवरुद्ध बनाएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताउनुभयो । दर्जनांै ठाउँमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको यात्रा गर्न स्थानीयवासी, तीर्थयात्री र पर्यटकहरुलाई समस्या भएको छ । यसअघि बेनीदेखि पाँच घण्टामा जोमसोम पुगिनेमा हाल दुई दिनसम्म लाग्ने गरेको यात्रु बिशन शेरचनले बताउनुभयो । खण्ड खण्डमा सवारी चलाउने यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा अशुल गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

कालीगण्डकीमा बाढी आउनुमा निर्माणाधीन बेनी–जोमसोम कोरला सडक आयोजना र ग्रामीण सडक खन्दा निस्किएको ढुङ्गा माटोको सुरक्षित व्यवस्थापन नहुनु तथा लेतेको पहिरोसमेत थप कारण भएका स्थानीयवासी र जनप्रतिनिधिहरुले बताएका छन् ।प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापा र प्रदेशसभा सदस्य विनोद केसीले संसदको शून्य समयमा बोल्दै सडक खन्दा निस्किएको माटोको सुरक्षित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले म्याग्दीका बाढी पहिरो पीडितको राहत र भत्किएको भवन पुनःनिर्माण, सडक मर्मतमा प्राथमिकता दिन प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले सडकका कारणले नभएर प्राकृतिक विपद् र पहिरोका कारण नदीमा बाढी आएर कटान भएको बताउनुभयो । नदीमा बाढी नै आउने गरी ढुँगा माटो आयोजनाले त्यत्तिकै छाडेको उहाँको दावी छ । लेतेको पहिरो र उपल्लो मुस्ताङमा भएको भारी वर्षात्का कारण बाढी आएर कटान भएको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । जलवायु परिवर्तनको असर र जोखिम न्युनीकरण, पहिरो नियन्त्रण, वातावरणमैत्री सडक र ढुँगा माटो व्यवस्थापनमा ध्यान दिनुपर्ने र तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने भू–संरक्षण अधिकृत पौडेलले बताउनुभयो ।

सोमवार, भदौ ४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री