सरकारी राजस्व बृद्धिमा पत्रकारले देखाएको चासोमा सशस्त्र एसपी शाहको आपत्ति, सिभिल इन्जिनियर एसपीले जिल्लाको जिम्मा पाएपछि …. ?

नेपालगन्ज।   प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी राजस्व बृद्धि र भ्रष्ट कर्मचारीको विषयमा आएको अभिव्यक्तिसँगै सरकारी राजस्व बृद्धि गराउन पत्रकारले देखाएको भूमिकाप्रति सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहले प्रश्न वाचक चिन्ह लगाउँदै आपत्ति जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी राजस्व बृद्धिको विषयमा आएको अभिव्यक्तिसँगै स्थानिय पत्रकारले भारतबाट आयात हुने जमुनाहादेखि चौलिक्कासम्मका सशस्त्र प्रहरीले गरेको चेकजाँचको सम्बन्धमा विभिन्न चेकप्वाइन्टमा पत्रकारको टोली केही समय कुरेर तस्बिर र भिडियो बनाई समाचार प्रकाशित गर्दा सशस्त्र प्रहरी उपरिक्षक शाहले चित्त नबुझी आपत्ति जनाउँदै पत्रकारबीच छलफल गर्ने गरेको समेत भेटिएको छ । सशस्त्र प्रहरी उपरिक्षक शाहले केही पत्रकार समक्ष ‘चेकप्वाइन्ट अगाडि कुरी तस्बिर खिच्ने, भिडिया बनाउने, कुन–कुन सामानमा भन्सार भएको छ भनी कुरा गर्ने गरेको’ भनी आपत्ति जनाएका छन् । उनको भनाई अनुसार पत्रकार आएर स्वाट्ट फोटो खिचुन अनि जाउन । पत्रकारको उपस्थितीमा भारतबाट साइकल र रिक्साबाट सामान आयात गर्ने गरेकोमा आधा घण्टामा भन्सारले करिब २० हजारको राजस्व समेत संकलन गर्न सफल भएको थियो भने भन्सार कार्यालयको दुई वटा चेकप्वाइन्टमा सशस्त्र प्रहरी बलको राजस्व गुल्मले विस्तारै राजस्व संकलनमा मद्दत पु¥याई अहिले विस्तारै कडा बनाएको छ । तर सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयले स्थापना गरेको चौलिक्का चेकप्वाइन्ट भने अहिले पनि मुक दर्शकको रुपमा रहनुको साथै कहिले काही मात्र सामान बरामद गरेको देखिन्छ । नेपालगन्ज भन्सार कार्यालयमा हालै मात्र सरुवा भइ आउनु भएका प्रमुख उमेश श्रेष्ठले भारतबाट आयात हुने कपडाको राजस्व संकलनमा चित्त नबुझेको बताउनु भएको छ । उहाँले पनि विशेष रुपमा गोप्य अभियान चलाई पाइला चलाउने तर्फ योजना बनाइरहेको बुझिएको छ । भारतबाट सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयको पुर्व क्षेत्रबाट भारतबाट सालको काठ चोरी पैठारी हुने गरेको चर्चासँगै अहिलेसम्म उक्त कार्यालयले कुनै किसिमको कडा कारवाही भने गर्न सकेको छैन । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयले स्थापना गरेको चौलिक्का चेक प्वाइन्ट ‘सिडिओ सा’बले रोक भने पछि सामान रोक्छु’ भनी पत्रकारलाई हप्काउन पछि नपर्ने सशस्त्र प्रहरी उपरिक्षक शाहले सशस्त्र प्रहरीको माथिल्लो निकायबाट झपार खाएपछि रोकेजस्तो गरेर मुक दर्शक बनी काम अगाडि बढाएका छन् । माथिल्लो निकायबाट झपार खाएपछि सशस्त्र एसपी शाह सरकारी राजस्व बृद्धि अभियानमा लागेका पत्रकारसँग रुष्ट समेत भएको स्रोतले बतायो । सुरक्षा र चोरी निकासी रोक्ने जिम्मा पाएका सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका सशस्त्र एसपी शाहलाई सरकारी राजस्व संकलनमा पत्रकारहरुको समूहले गरेको सहयोगलाई अहिले आपत्ति जनाउनु रहस्यमय बन्दै गएको छ । सिभिल इन्जिनियरको हैसियतमा सशस्त्र प्रहरी बलमा प्रवेश पाएका एसपी शाहबाट बाँके जिल्ला जस्तो ठुलो खुला बोर्डर सिमा क्षेत्रमा कार्य गर्न अप्ठ्यारो हुन सक्ने कुरा अहिले सशस्त्र प्रहरी अधिकारीबीच पनि चर्चा चल्न थालेको छ । स्थानिय बासिन्दा, राजनीतिक दलका नेता लगायतको दबावपछि चौलिक्का चेकप्वाइन्ट हटाइएकोमा पुनः सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयले स्थापना गर्नु अहिले रहस्यमय बन्दै पनि गएको छ । भारतबाट साइकल र रिक्सामा आयात हुने सामानको चेकजाँच नेपाल प्रहरीको जमुनाहा नाका, भन्सार कार्यालय यात्रु शाखा अगाडि भन्सार कर्मचारी र सशस्त्र प्रहरीको संयुक्त टोली, भन्सार कार्यालयको मुल गेटमा भन्सार कार्यालय कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तथा नेपाल प्रहरीको सिमा कार्यालय अगाडि गरी ४ स्थानमा चेक प्वाइन्ट हुँदाहुँदै मुक दर्शकको रुपमा स्थापना भएको चौलिक्का चेकप्वाइन्ट खडा गर्नु अहिले रहस्यमय मानिदै आएको छ ।

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री