सर्वोच्च शिखर सगरमाथामा फोहोरैफोहोर

विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहण दलका सदस्यले कति फोहोरजन्य सामग्री लैजान पाउने सीमा तथा लगिएका सामग्री फिर्ता नगरे धरौटी जफतसहित थप कारबाही हुने कानुनी व्यवस्था छ । तर, हिजोआज सगरमाथा फोहोरै फोहोरको थुप्रोले ढाक्न थालेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सगरमाथा ९८, ८४८ मि० को फोहोर व्यवस्थापन गर्न सरकारले सगरमाथा प्रदूषण नियन्त्रण संस्थालाई जिम्मा दिए पनि सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्म फोहोर झन् बढ्दा पर्यटन व्यवसायी चिन्तित बनेका हुन् । कानुनी आधार प्रशस्तै भए पनि फोहोर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले काम नगर्दा फोहोरको थुप्रो बढ्दै गएको आरोहीको आरोप छ ।

आरोहण दलका सदस्यले प्रयोग गरेका सामग्री जथाभावी फाल्दा आधारशिविरदेखि चुचुरोसम्मै फोहोरले ढाकेको पाइएको हो ।

फोहोरजन्यवस्तु कस्ता र कति परिणाममा हिमालमा लगेको भन्ने तथ्यांक राखी फिर्ता ल्याए÷नल्याएको अनुगमन गरी पर्यटन विभागलाई सिफारिस गर्ने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण संस्थाले लिएको छ । पर्वतारोही सञ्चालक संघले सन् २०१८ सम्म सगरमाथा सफाइ अभियान सञ्चालन गरी त्यसलाई पूर्ण सरसफाइयुक्त गराउने घोषणा गरेपछि पर्यटन विभागले सहयोग गरेको छ । फोहोरमैला व्यवस्थापनको निगरानी आरोहण दलका सम्पर्क अधिकृत, सगरमाथा प्रदूषण नियन्त्रण संस्थाले गर्नुपर्ने भए पनि यो नगर्दा सगरमाथामा फोहोर बढेको सगरमाथा आरोहीको भनाइ छ ।

हिउँभन्दा फोहोर बढी देखेपछि आरोहणका लागि आएका विदेशी पर्यटक खिन्न हुने गरेको पर्वतीय गाइड आङदावा शेर्पा बताउनुहुन्छ । फोहोरबारे आरोही र कामदारमा चेतना अभाव हुनु, ट्रेकिङ एजेन्सी पनि जिम्मेवार नहुनु र सरसफाइको जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण संस्थाको अनुगमन र निगरानी कमजोर हुनुले फोहोर बढेको शेर्पाको ठहर छ । हिमाल सुरक्षाका विषयमा चासो नराखी पैसा कमाउने ध्येय मात्रै राख्ने गैरजिम्मेवार एजेन्सी थपिएका कारण सगरमाथा क्षेत्रमा फोहोर थुप्रिएको आरोही गाइडको आरोप छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिले ०५४ सालदेखि प्रतिआरोही पाँच सय डलर लिँदै आएको र ०७० सालदेखि परिमार्जन गरी प्रतिआरोही ६ सय डलर असुल गर्न थालेको हो । बाटो मर्मत गरेबापत र सामग्री खरिद गरेबापत शुल्क लिएको संस्थाको दाबी छ । यता, बाटो मर्मत गरी बचेको रकम त्यस क्षेत्रको वातावरण प्रदूषण नियन्त्रणका लागि प्रयोग गर्ने भनिए पनि फोहोर व्यवस्थापनमा कुनै चासो नदेखिँदा सगरमाथाको प्रदूषण नियन्त्रणमा प्रश्न उठेको छ ।

समितिले शौचालय निर्माणदेखि फोहोर संकलन केन्द्र स्थापना गर्दै आएको जनाएको छ । प्रत्येक आरोहीले आठ सय डलर बुझाउने गरे पनि फोहोर आफैं ल्याउनुपर्ने व्यवस्था छ तर सम्बन्धित पक्षले अर्बौं रकम संकलन गरे पनि प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल नभएको आरोहीको गुनासो छ ।

मङ्लबार, असार १९, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री