नायक अनमोल केसी पर्यटन प्रबद्र्धनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०७५, आईतवार १३:५६

काठमाडौं। नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको परिवारबाहेक अन्यलाई थाहा हुँदैन। फिल्ममा व्यस्त नहुँदा घरमै रमाउने अनमोललाई दर्शकले अरुबेला बिरलै भेट्छन्।

होमप्रोडक्सनको फिल्म ‘क्याप्टेन’मा व्यस्त अनमोलले यसपटक भदौको पहिलो सातादेखि अन्तिम सातासम्म दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दैछन्। सामाजिक कामसँगै पर्यटन प्रबद्र्धनका लागि आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’ मा अनमोल पूर्वको बिर्तामोडदेखि पश्चिमको बुटवलसम्म पुग्दैछन् । ‘मैले फिल्मबाट दर्शकको मन जितिसकेको छु। मलाई सानैदेखि नै सामाजिक काम गर्ने ठूलो इच्छा थियो । म अभिनयबाहेक सामाजिक रुपमा पनि सक्रिय हुन चाहन्थें,’ अनमोलले शनिबार राजधानीमा पत्रकारमाझ भने, ‘मैले अहिलेसम्म सामाजिक सेवा गरेको थिइनँ। अहिले त्यो काम गर्ने अवसर पाउँदा खुसी लागेको छ। मेरा लागि दर्शकसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने एउटा अवसर पनि हो।’

फिल्ममा महंगो पारिश्रमिक लिएर चर्चामा आउने अनमोलले ‘अनमोल इभ २०१८’का लागि कुनै पारिश्रमिक नलिएको खुलाए। ‘यो विशुद्ध सामाजिक काम हो। अन्य कार्यक्रमका लागि भए म पारिश्रमिक लिन्थें होला। तर समाजसँग जोडिएको काम भएकाले मैले एक रुपैंयाँ पारिश्रमिक लिएको छैन,’ अनमोलले भने, ‘मेरो सानैदेखिको रुचि पनि सामाजिक काम गर्ने भएकाले मैले पारिश्रमिक लिएको छैन।’

भदौमा फिल्म ‘क्याप्टेन’ रिलिजको तयारी हुने चर्चा चलिरहँदा अनमोलले यो कार्यक्रम फिल्म प्रमोसनको माध्यम पनि हुने संकेत गरे। ‘यो कार्यक्रममा ‘क्याप्टेन’को पनि केही प्रमोसन गर्छु। तर कार्यक्रमको उद्देश्य फरक रहेकाले पूर्ण रुपमा फिल्मको प्रमोसन गर्दिनँ। केही आंशिक प्रमोसन चाहिँ अवश्य हुन्छ,’ उनले भने।

मोनिका इन्टरनेसनल ग्रुपले भदौ ९ मा बुटवल, भदौ १६ मा पोखरा, भदौ २३ मा चितवन र भदौ २९ मा बिर्तामोडमा कार्यक्रम गर्दैछ। आयोजकले अनमोललाई कार्यक्रस्थलमा हेलिकप्टरमा पुर्याउने जनाएको छ।

ग्रुपका अध्यक्ष कमल जिसीले सांस्कृतिक कार्यक्रमसँगै पर्यटन प्रबद्र्धनका लागि कार्यक्रम महत्वपूर्ण हुने बताए। ‘कार्यक्रम पर्यटन प्रबद्र्धन, कला संस्कृति संरक्षणसँगै सामाजिक कामका लागि पनि लक्षित छ,’ उनले भने, ‘हामीले यो कार्यक्रमबाट उठेको रकमको केही हिस्सा नेपाल नेत्रहीन महिला संघलाई सहयोग स्वरुप दिनेछौं।’ कमलले आफूलाई एक वर्ष अघि नै संघलाई आर्थिक सहयोग जुटाउनका लागि इमेल आएको स्मरण गर्दै सोही आधारमा अनमोलमार्फत सामाजिक काम गर्नका लागि उनलाई छनौट गरिएको बताए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१