यार्सा किन्न हेलिकप्टर चार्टर !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०७५, शुक्रबार ११:०३

रुकुम। रुकुमपूर्व जिल्लाको बुकीमा यार्चा सकलनसँगै विक्री पनि शुरु भएको छ ।यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी आएका छन् ।४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट र पंकज दवाडी ७ किलो ८ सय ग्राम यार्चा किनेर काठमाडौं फर्किए ।

बुकीमा प्रतिगोडा ६५० रुपैयाँमा यार्चा खरिद गरेको ओलीले बताए ।५ सयदेखि ५५० रुपैयाँसम्म प्रतिगोटा यार्चा कारोवार भइरहेको रहेछ, उनले भने, हामीले प्रतिगोटा ६५० रुपैयाँ तिरेर एकमुष्ट ठुलो मात्रामा यार्चा खरिद गरेका थिए ।

‘प्रतिकिलो १८ लाख ५० हजार रुपैयाँ पर्न आयो,’ ओलीले भने । सामान्यतया १ किलो यार्चामा २ हजार ८ सय वटा हुन्छन् । उनका अनुसार बिहीबार मात्रै १ करोड ४४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।
उनीहरूले छुट पुर्जीबापत प्रतिकिलो २५ हजारका दरले जिल्ला वनलाई २ लाख ५० हजार रुपैयाँ राजस्व तिरे । ७ किलो ८ सय ग्रामको १ लाख ९५ हजार रुपैयाँ तिर्नुपर्नेमा १० किलोको छुट पुर्जी बनाएकाले त्यति रकम तिरेको उनीहरूले बताए ।

बाँकी यार्चा अर्को पटक लैजाने पनि उनीहरूले बताए । ‘बिहीबार खरिद गरिएको यार्चा १/२ दिनमै चीन पठाइनेछ,’ ओलीले भने, ‘हाम्रा व्यापारी मित्र भट्ट चीनमा बस्छन् । उनले त्यतै यार्चा बिक्री गर्नेछन् ।’

असुरक्षाका कारण हेलिकप्टर चार्टर गरेरै यार्चा खरिद गर्न आएको व्यापारीले बताए । ‘हेलिकप्टरमा नगद बोक्न नपाइने हुनाले सबै रकम चुक्ता गर्न सकेनौं,’ ओलीले भने, ‘बाँकी रकम बुझाउन बुकीबाटै एक जनालाई सँगै काठमाडौं लिएर जाँदै छौं ।’

यस सिजनमा बुकी खुला भएको १० दिन भयो । जेठ १५ गतेदेखि बुकी खुला गरिएको थियो । पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाको पुपाल, अरबिजा, जंगला, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कु, पानीढल, फूलबारीलगायत स्थानमा यार्चा पाइन्छ । स्थानीय तथा अन्य सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यही भएकाले संकलनका लागि प्रत्येक वर्ष एक महिना बुकी खुला गरिन्छ।

यार्चा सिजन व्यवस्थापन समितिले यस वर्ष यार्चा टिप्न पुगेका स्थानीयबाहेकलाई प्रतिव्यक्ति १ हजार ५ सय, स्थानीय व्यापारीलाई १५ हजार र बाहिरका व्यापारीलाई ३० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१