किन हल्लिन्छ मुटु ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०७५, शनिबार ०६:३६

मुटु मानव शरीरको एक प्रमुख जीवनदायी अंग हो । नियमित रूपले मुटु आफ्नै गतिमा दिनरात चलिरहन्छ । मुटुको यो नियमित चाललाई ढुकढुकी भन्छि । एक स्वस्थ मानिसको मुटु प्रतिमिनेट ७४ पटक घड्किन्छ । आधुनिक चिकित्सा विज्ञानले सामान्य अवस्थामा ६० देखि सय पटक मुटु धड्किनुलाई सामान्य मान्छ ।

मन, मस्तिष्क र मुटु

सामान्य अवस्थामा कुनै पनि व्यक्तिले मुटु धड्किएको थाहा पाउँदैन । तर मनमस्तिष्क उत्तेजित भएको अवस्थामा मुटुको ढुकढुकीको अनुभव मानिसले गर्छ । अर्को शब्दमा भन्ने हो भने जब मानिसलाई डरत्रास पैदा हुन्छ, दु:खपीडा पर्छ, खुसीले मन रमाउँछ, तब एकाएक मुटु बेस्सरी धड्किएको अनुभव हुन्छ । हिजोआज मुटु हल्लिने समस्या लिएर मुटु रोग विशेषज्ञकहाँ जँचाउन आउने बिरामीहरूको संख्या दिनदिनै बढ्दो छ । यसको प्रमुख कारण सामाजमा देखा परेको अशान्ति, असुरक्षा, दु:ख, व्यापार व्यवसायमा घाटा, झैंझगडा तथा दैवी प्रकोप आदि हो । मानसिक तनाव यसको उपज हो । यो आधुनिक जीवनशैलीको नतिजा हो ।

मनोत्रास र मुटु

मुटुको धड्कन ढिलोमा प्रतिमिनेट ४० सम्म र छिटोमा १२० सम्म भएका मानिसले कुनै अप्ठेरोपन अनुभव गर्दैन । यदि धड्कन प्रतिमिनेट ४० भन्दा कम भयो भने चक्कर लाग्ने, बेहोस हुने हुन्छ भने १२० भन्दा बढी भयो भने मुटु हल्लिएको अनुभव हुन्छ । मुटुको धड्कन सामान्य (६० देखि १०० प्रतिमिनेट) हुँदा पनि कसैले मुटु हल्लिएको अनुभव गर्दछ भने यो मानसिक तनावको कारणले हुन सक्छ ।

५० वर्षीय राजेश (नाम परिर्वन) एक प्राइभेट कम्पनीमा लेखापाल हुन् । उनी बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काममा खटिन्छन् । उनलाई अफिसमा कामको निकै बोझ हुने गर्छ । एकतिर आर्थिक समस्या, अर्कोतिर तीनजना जवान छोरीहरूको विवाहको पिरलो उनलाई छ । जेठो छोरो पढ्दा पढ्दै बिहे गरेर अलग्गै बसेका छन् । यी यावत् कारणले राजेश केही समयदेखि मानसिक तनावमा छन् ।

के हो मनोत्रास ?

– मनोत्रास कम कडा खालको मानसिक रोग हो ।
– जटिल बन्दै गएको समाज, औद्योगीकरण, आर्थिक, सामाजिक तथा पारिवारिक दबाबले मनोत्रास बढ्छ ।
– सामाजिक असुरक्षाको भावना, हीनता, पारिवारिक कलह, अन्तद्र्वन्द्व, तनाव तथा कुनै खतरनाक शारीरिक वा मानसिक रोग अत्याधिक चिन्ता आदिले पनि मनोत्रास उत्पन्न गर्न सहयोग गर्छ ।
– कतिपय व्यक्तिमा रासायनिक स्थितिका कारण पनि यो रोगको सम्भावना हुन्छ ।
– मनोत्रासको मूल कारण मनोवैज्ञानिक नै हो ।

एक साँझ पत्रिका पढ्दै थिए, उनलाई अनौठो किसिमको बैचनी हुन थाल्यो । एक्कासि घवराहट बढ्न थाल्यो । उनको हातखुट्टा काम्न थाल्यो । मुटुको धड्कन बढेर, हल्लिएर मुटु नै बाहिर आउला जस्तो भयो । सास रोकिएला जस्तो भयो । उनी आत्तिएर बाहिर आए । हिँड्दा उनलाई चक्कर लाग्यो ।
उनलाई लाग्यो, ‘अब मेरो मुटु फुट्ने भयो, म बेहोस हुने भएँ, मर्ने भएँ ।’ यो स्थिति लगभग २०, २५ मिनेटसम्म कायम रह्यो । अनि स्थिति सामान्य हुँदै गयो ।

तीन हप्तापछि अफिसमै उनलाई यस्तो भयो । सहकर्मी कर्मचारीले उनलाई मुटु अस्पतालमा लगे । जाँच गर्दा रिपोर्टहरू सामान्य देखियो । मुटुरोग विशेषज्ञले उनलाई मनोचिकित्सकसँग परामर्श गर्ने सल्लाह दिए ।
मनोचिकित्सकको जाँचमा राजेश मनोत्रास (पैनिक अटैक) नामक मानसिक रोगबाट पीडित भएको देखियो । केही महिनासम्म औषधि तथा कग्निटिभ थेरापीद्वारा उनको उपचार गरेपछि फेरि समस्या देखा परेको छैन ।

मनोत्रासको लक्षण

मनोत्रास विकृतिको एक अर्को रूप हो । बिनाकारण एक्कासि पूर्वसूचनाबिना डर लागेर आउने, मुटुको धड्कन तेज हुने, सास रोकिएला जस्तो हुने, हातखुट्टा लगलग काम्ने, रिंगटा लाग्ने तथा पसिना आउने समस्यालाई मनोत्रास भनिन्छ । मनोत्रासको बेला व्यक्तिलाई बेहोस भई पल्टिने वा मर्ने वा कुनै भयानक घटना घटने भय हुन्छ । ऊ अत्याहटलाई नियन्त्रण गर्न नसकी कराएर मानिस एकत्रित गर्ने प्रयास गर्छ । । केही समयसम्म तीव्र भएर विस्तारै स्वत: शान्त हुन पुग्छ ।

तर एकपटक मनोत्रासको दौरा आएपछि मानिस फेरि पनि त्रास आउने हो कि भन्ने डरले भयभीत भइरहन्छ । पटकपटक यस्तो अटैक आएपछि मानिसले बाटोमा हिँड्न, बजार आदि ठाउँमा जान तथा सवारीसाधन चलाउनसमेत छोड्छ । धड्कन बढ्ने र मुटु हल्लिने हुँदा यस रोगबाट पीडित व्यक्तिले आफू हृदय रोगबाट पीडित भएको ठान्छ । साधारणतया यो रोग २० वर्षको उमेरपछि देखा पर्छ । पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।

मनोत्रासको कारण

मनोत्रास जटिल हुँदै गएको समाज, औद्योगीकरण, व्यक्तिमाथि बढेको आर्थिक, सामाजिक तथा पारिवारिक दबाब, सामाजिक असुरक्षाको भावना, हीनता, पारिवारिक कलह, अन्तद्र्वन्द्व, तनाव तथा कुनै खतरनाक शारीरिक वा मानसिक रोग अत्यधिक चिन्ता आदिले पनि मनोत्रास उत्पन्न गर्न सहयोग गर्छ । कतिपय व्यक्तिमा रासायनिक स्थितिका कारण पनि यो रोगको सम्भावना हुन्छ । तर, मनोत्रासको मूल कारण मनोवैज्ञानिक नै हो ।

मनोत्रास कम कडा खालको मानसिक रोग हो । विश्वमा अहिले यस रोगको उपचारका लागि प्रचलित प्रमुख दुई उपचार पद्धति छन् । ती हुन्: जैविकचिकित्सा (औषधिद्वारा) र मनोचिकित्सा (साइकोथेरापी) । यसका साथै वि श्राम चिकित्सा तथा बायोफिड ब्याक आदि पनि निकै प्रभावकारी मानिन्छ ।

दुवै चिकित्सा पद्धति सँगसँगै उपयोगमा ल्याउने हो भने मनोत्रासको चिकित्सा प्रभावकारी हुन्छ । मनोत्रास एक कम कडा खालको मानसिक रोग भए पनि यसको उपचारमा कम्तीमा पनि आठ महिनादेखि एक वर्ष लाग्छ । तर कतिपय मानिसामा पुन: देखा पर्न सक्दछ । यस्तो स्थितिमा उपचारको समय बढ्न सक्दछ ।

धड्कनको समस्या

अधिकांश मुटु हल्लिने रोग एन्जाइटीसँग सम्बन्धित भए पनि मुटुको धड्कनसँग सम्बन्धित खराबीका कारण पनि मुटुको ढुकढुकीमा गडबडी आउँछ । मानिसले आफ्नो मुटु छातीभित्र बेस्सरि हल्लिएको अनुभव गर्दछ । कहिलेकाहीँ मुटुको चालको बीचबीचमा अतिरिक्त धड्कनहरू पनि उत्पन्न हुन सक्छन् । यस्ता अतिरिक्त धड्कनले गर्दा पनि मानिसले मुटु हल्लिएको अनुभव गर्दछ । यो पनि रोगकै अवस्था हो ।

उपचार

मुटु जुनसुकै कारणले गर्दा हल्लिएको भए पनि यसको उपचार तत्काल गर्नुपर्छ । मुटु हल्लिएको कारण पत्ता लगाउन ईसीजी परीक्षण गर्नु पर्दछ । कहिलेकाहीँ २४ घन्टे ईसीजी परीक्षणको पनि आवश्यकता पर्दछ । मुटु हल्लिएको कारण पत्ता लागेपछि उपचार गर्न सजिलो हुन्छ । मुटु हल्लिने रोगको कारण मानिसक एन्जाइटीमात्रै हो भन्ने भ्रममा बस्नु हुँदैन ।

उचित औषधि उपचारले मुटु हल्लिने समस्या ठीक हन्छ । उपचारबाहेक बिरामीले आफ्नो आहारबिहारमा ध्यान पुर्‍याउनु जरुरी हुन्छ । मानसिक तनाव, रक्सी, बढी चिल्लो, कफी, सुपारी, पान पराग र सुर्तीले मुटु हल्लिने रोगलाई बढाउँदछ यसकारण यस्तो समस्या भएकाले यी पदार्थलाई जति सक्यो टाढा राख्नु पर्दछ ।

मुटुलाई स्वास्थ्य राख्न व्यायाम गर्ने, पर्याप्त मात्रामा सागपात तथा फलफूलको सेवन गर्ने, ३० वर्ष पार गरेका व्यक्तिले हरेक वर्ष मुटुको स्वास्थ्य परीक्षण गर्ने तथा सकारात्मक जीवनशैली अपनाउनुपर्छ । अन्नपूर्ण बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१