‘गोरे’ बारे खुल्यो यस्तो रहस्य:भारतीय सेनामा जागिर खान ट्रेनिङ गरेका गोरे भागेर दूबई प्रहरीमा जागिर खाना गए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०४:३१

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत  सार्वजनिक गरेको हो ।

साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा  बिहान ५ः३४ मा काठमाडौँ महानगरपालिका– ८ गौरीघाटबाट पक्राउ गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।

यसअघि भारतबाट पक्राउ गरिएको भनिए पनि अनुसन्धान टोलीले गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

यस प्रकरणमा विसं २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरु ३३ जना अहिलेसम्म पनि फरार रहेको पौडेलले बताउनुभयो ।

संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रुपमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “यी अभियुक्तबाहेक अन्य विषयमा पनि सूचना प्राप्त भएको छ, हामी चाँडै नै अरु अभियुक्तलाई पनि सार्वजनिक गछौँ” – उहाँले भन्नुभयो ।

अनुसन्धानका लागि गठित टोलीलाई ४५ दिनको म्याद दिइए पनि टोलीले अनुसन्धान पूरा गरी नसकेकाले सरकारले टोलीको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ ।

संयोजक पौडेलले सुन काण्डका मुख्य अभियुक्त गोरे समातिएकाले गोरेसँगको बयानबाट थप अनुुसन्धान गरिने बताउनुभयो ।

के हो सुन काण्ड ?

माघ अन्तिम साता युएइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायव भयो । सुन तस्करीमा संलग्न मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँगै त्यो सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको भन्दै छानबिनका क्रममा पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री अझै फरार छन् । सुन काण्डका अभियुक्तमाथि जिल्ला अदालत मोरङमा बहस भइरहेको छ ।

भारतको भगौडा आर्मीदेखि सुन तस्करीसम्म

चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ(११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।

उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन्, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’

दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०