३८ स्थानीय तहमा तत्काल बैंक नजाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७५, शनिबार ०५:०३

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई हरेक स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको भए पनि तत्काल ३८ स्थानमा भने नपुग्ने भएका छन् । केन्द्रीय बैंकले संघीयता कार्यान्वयनसँगै वित्तीय पहुँच पनि विस्तार गर्ने उद्देश्यले आगामी असार मसान्तभित्र सम्पूर्ण स्थानीयतहमा शाखा खोल्न भनेको थियो ।
बिहीबार सक्षम, बैंकर्स संघ र राष्ट्र बैंकबीच भएको छलफलमा ३८ स्थानमा शाखा विस्तार गर्न कठिनाइ भएको बैंकरहरूले बताएका हुन् । कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै विशेषता रहेकाले शाखा विस्तार गरी आर्थिक क्रियाकलापमा सघाउन निर्देशन दिए । देशभर ७ सय ५३ वटा स्थानीय तह छन् । यसमध्ये ४५७ वटा स्थानीय तहमा बैंकको शाखा खोल्नुपर्ने थियो । ४ सय ५७ मध्ये ९८ वटा स्थानीय तहमा शाखा खुलिसकेका छन् ।
३ सय ५९ वटा स्थानीय तहमा शाखा खोल्नुपर्नेमा बैंकहरूले २ सय ४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धताअनुसार काम गरिरहेका थिए । बाँकी १ सय १६ स्थानमा शाखा खोल्न बैंकहरू तयार थिएनन् । राष्ट्र बैंकले ११६ मा पनि शाखा खोल्न भनेपछि बैंकहरूले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए । बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैंक तयार नभएपछि राष्ट्र बैंकले ठाउँ तोकेरै बैंकहरूलाई शाखा खोल्न निर्देशन दिएको थियो । यसमध्ये ३८ वटामा असार मसान्तसम्म शाखा खोल्न नसकिने बैंकरले राष्ट्र बैंकलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१