दुवै खुट्टा नभएका आरोही सगरमाथा शिखरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०३:५९

यसपाली वसन्त ऋतुमा आरोहणको क्रम शुरू भएसँगै दुवै खुट्टा नभएका एक चिनियाँसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको एक अधिकारीले बताएका छन्।

दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीले बताए।

उनी नेपाली मोहडाबाट सगरमाथाको शिखर पुग्ने पहिलो ‘डबल एम्पुटी’ भनिने दुवै खुट्टा नभएका आरोही हुन्।यसअघि सन् २००६ मा न्युजिल्याण्डका मार्क इङ्ग्लिशले तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण गरेका थिए।

आइतवार नेपाली आरोही टोलीले शिखरको बाटो खोले लगत्तै सिया बोयुसहित ५० जनाभन्दा बढी आरोहीले सगरमाथाको शिखर चुमिसकेको सगरमाथा आधार शिविरस्थित पर्यटन मन्त्रालयका प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठले बीबीसीलाई बताए।

उनले भने, “सिया र अरू करिब ५० जनाले सगरमाथा चढेको खबर आएको छ। अहिले उनीहरू साउथ कोलको बाटो तल झरिरहेका छन्।”

४० वर्षअघि हिउँको चिसोका कारण सियाको दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको थियो। पछि क्यान्सर रोगका कारण उनले दुवै खुट्टा गुमाउन पुगे।तर उनी अविचलित रहे। उनले सगरमाथा आरोहण गर्ने योजना परित्याग गरेनन्।सन् २०१५ मा भूकम्पले उनको सगरमाथा आरोहण गर्ने योजनालाई प्रभावित तुल्यायो।

६ महिनाअघि नेपाल सरकारले दुवै खुट्टा नभएका आरोहीलाई आरोहण गर्न नदिने नियम ल्याएको थियो।पछि अदालतले त्यो नियम कार्यान्वयन नगर्न आदेश दिएपछि सिया सगरमाथा आरोहणको तयारीमा जुटे।उनी अन्ततस् सफल भए। सिया र उनका आरोहण सहयोगी सोमवार बिहान ८।३० बजेतिर सगरमाथाको शिखर पुगेको श्रेष्ठले बताए।बीबीसीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१