प्रधानमन्त्री मोदीको भ्रमण किन विगतको भन्दा पृथक ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७५, शनिबार ०६:१२

काठमाडौँ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ ।

नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या समाधानतर्फ बल पुग्ने देखिएको छ ।

दुई देशबीचको शताब्दीऔँ पुरानो र जनस्तरको सम्बन्धमा यस्ता उच्चस्तरका भ्रमणको आदानप्रदानले सौहार्दता वृद्धि गरी साझा समृद्धिको यात्रामा सहयोग विस्तार हुने अपेक्षा गरिएको छ । दुई देशबीच विगतमा भएका सम्झौताहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपालले यो भ्रमणलाई सदुपयोग गर्नुपर्ने परराष्ट्र मामिलाका जानकारहरुको मत छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री मोदी दुईदिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै काठमाडौँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुुभएको थियो ।

भारतका प्रधानमन्त्री मोदीबाट हुने धार्मिक र पर्यटकीय स्थल जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको अवलोकन भ्रमणको धार्मिक र पर्यटकीय महत्व देखिएको छ भने राष्ट्रपति÷प्रधानमन्त्रीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता हुने भएकाले यसको राजनीतिक आयाम पनि रहेको छ । नयाँ संविधान जारीका समयमा भारतले राजनीतिक रुपमा देखाएको असन्तुष्टि नेपालमाथि अघोषित नाकाबन्दीका रुपमा समेत प्रकट भएपछि दुई देशबीचको सम्बन्धमा नकारात्मक असरसमेत परेको थियो ।

प्रधानमन्त्री मोदीको यो भ्रमणले विगतका नकारात्मक पक्षलाई बिर्सेर सौहार्दतर्फ उन्मुख गराउन खोजेको मानिएको छ । भारतका राजनेता मोदीले व्यापार, पर्यटन, पारवहन, प्रविधि र परम्परामा आपसी सहकार्यका लागि जनकपुरबाट गर्नुभएको सम्बोधनले बहुआयामिक सम्बन्धलाई बोकेको देखिन्छ । दुई देशबीच सन् १९५० को सन्धिलगायत आपसी सम्बन्धको पुनरावलोकनका लागि प्रबुद्ध समूह गठन भई समीक्षा जारी छ ।

भारतका लागि पूर्व नेपाली राजदूत प्रा लोकराज बराल भन्नुहुन्छ, “मोदीको भ्रमण सकारात्मक छ । यसले नयाँ समझदारी बढाउन मद्दत गर्छ । विगतका सम्झौताहरुको कार्यान्वयनमा नेपालले सदुपयोग गर्न सक्नुपर्छ ।” उच्चस्तरीय भ्रमणको आदानप्रदान हुनु आफैँमा सकारात्मक भएको भन्दै उहाँले भारत सरकारले विगतमा घोषणा गरेका सहयोगका प्रतिबद्धताहरु चाँडो पूरा हुनुपर्ने राससलाई बताउनुभयो ।

परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ उच्चस्तरीय भ्रमणको आदानप्रदानले कूटनीतिक तहमा हल र संवाद हुन नसकेका विषयलाई सहज संवाद गराउन सहज हुने प्रतिक्रिया दिनुभयो । श्रेष्ठले भन्नुभयो, “छिटोछिटो रुपमा यस प्रकारको भ्रमण हुनु सकारात्मक हो, भ्रमण पूरा भइसकेपछि समग्र समीक्षा गर्नु उचित हुनेछ ।”

नेकपा ९माओवादी केन्द्र० का विदेश विभाग सचिव युवराज चौलागाईंका विचारमा उच्चस्तरको भ्रमणका क्रममा आपसी सम्बन्धमा देखिएका समस्या समाधान गर्ने अवसरका रुपमा हेर्नुपर्ने जनाउँदै नेपालको नयाँ राजनीतिक स्थितिमा यो भ्रमणको दीर्घकालीन महत्व रहने टिप्पणी गर्नुभयो ।

उहाँले मोदीका लागि गरिएको आतिथ्यता र स्वागतलाई नकारात्मक र बढाइचढाइ गरेर सामाजिक सञ्जालमा गरिएको विरोध अनावश्यक भएको पनि बताउनुभयो ।

भारतका प्रधानमन्त्री मोदी यसअघि २०७१ साउन र मंसिरमा नेपालको भ्रमणमा आउनुभएको थियो । त्यसबेला उहाँले संसदलाई सम्बोधन गर्नु पनि भएको थियो । उहाँले अहिलेको भन्दा बढी स्वागत, सत्कार र आतिथ्यता पाउनुभएको थियो । – प्रकाश सिलवाल ररासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१