चिनियाँहरु यसकारण खाइरहेछन् साङ्लाको जुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार १७:३५

काठमाडौं । घर तथा कोठाभित्र र अझ भान्सामै साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर चीनमा भने मानिसहरुका लागि यहीँ साङ्ला कमाइको माध्यम बनिरहेको छ । सम्भावित औषधीय गुणका कारण चिनियाँ औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसरको रुपमा खडा भएको छ ।
चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने चलन पनि छ । अब चाहीँ चीनमा साङ्लाको ठूलो परिमाणमा उत्पादन गरिँदैछ । चीनको शिचांग सहरमा एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ । साउथ चाइना मर्निङ पोस्टका अनुसार एक भवनमा साङ्ला पालन गरिएको छ । उक्त भवनको क्षेत्रफल झण्डै दुईवटा खेल मैदान जत्तिकै छ । दराजका पातला घर्राहरुमा साङ्ला पालन गरिन्छ । साङ्लाका लागि खाना तथा पानीको जोहो पनि गर्नुपर्दछ । साङ्लाका लागि अँध्यारो वातावरण र उचित आद्रता पनि उपलब्ध गराइएको हुन्छ र प्रजननका लागि पर्याप्त ठाउँ पनि रहेको हुन्छ । साङ्लाहरु घरबाहिर निस्कन पाउँदैनन् । यसरी पालन गरिएका साङ्लाहरु वयस्क भएसँगै संकलन गरी पिँधेर लेदो बनाइन्छ । यसरी सांग्लाको जुस तयार गरिन्छ र परम्परागत औषधिको रुपमा बिक्रि गरिन्छ । पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ । चिनियाँ विज्ञका अनुसार साङ्लाको जुस वास्तवमा चमत्कारी औषधिको रुपमा काम गर्दछ । यसले अनेक खालका रोग निको पार्दछ । चीनमा बुढापाकाहरुको जनसंख्या बढिरहेको छ र त्योसँगै मानिसमा स्वास्थ्य समस्या पनि बढ्दैछन् । यस्तोमा सस्तो तथा स्थानीय रुपमा उत्पादित औषधिको माग उच्च छ । सोही कारण साङ्लाको जुस निकै लोकप्रिय बनिरहेको छ । औषधिका लागि साङ्लाको पालन गर्ने काम सरकारी योजनाको एउटा हिस्सा पनि हो । सांग्लाको जुसको औषधिलाई अस्पतालहरुले पनि प्रयोगमा ल्याएका छन् । तर कतिपय विज्ञ चाहीँ साङ्लाको जुस मानिसका विभिन्न खाले रोगको उपचारमा रामवाण रहेको भन्नु सत्य नभएको बताउँछन् । उनीहरुका अनुसार बन्द ठाउँमा ठूलो परिमाणमा यसरी साङ्ला पाल्नु तथा साङ्लाको पैदावार बढाउनु खतरनाक पनि सावित हुनसक्छ ।
यदि मानिसको गल्ती वा भूकम्प लगायतका कारण अर्बौंको संख्यामा पालिएका साङ्लाहरु बाहिर खुल्ला वातावरणमा निस्किए भने त्यसले विनाशकारी असर पनि निम्त्याउन सक्दछ ।– बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१