नमूना उच्च प्रविधियुक्त नर्सरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७५, बुधबार ०६:२५

काँकडभिट्टा ।  झापा मेचीनगर–९ का एक युवकले रु ११ लाखभन्दा बढीको लगानीमा उच्च प्रविधियुक्त नर्सरी तयार गर्नुभएको छ ।

विसं २०६९ मा विदेशबाट फर्केर उन्नत कृषि व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले मेचीनगरमै पहिलो पटक एक कट्ठा जग्गामा सो नर्सरी तयार गर्नुभएको हो । उप्रेतीले डिएन्डडी बायोप्लानटेक नामक संस्था दर्ता गरेर तरकारी तथा फलफूलको नर्सरी व्यवसाय गर्दै आउनुभएको छ ।
खेतीलाई अत्याधुनिक र व्यावसायिक बनाउन नेपाल सरकारको आर्थिक सहयोगमा भर्खरै नर्सरी तयार गरिएको सञ्चालक उप्रेतीले बताउनुभयो । कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको नर्सरी निर्माणमा करीब रु १२ लाख खर्च भएको छ । त्यसमध्ये जिल्ला कृषि विकास कार्यालय झापामार्फत रु नौ लाखसरकारी अनुदान प्राप्त भएको र बायोप्लानटेकको करीब रु तीन लाख लागत सहभागिता रहेको उप्रेतीले बताउनुभयो ।

एक कट्ठा जमीनमा तयार गरिएको हाइटेक नर्सरी पूर्णरुपमा वातानुकूलित छ । नर्सरीभित्र वर्षैभरी खेती गर्न सकिने छ । दुई सय माइक्रोनको प्लास्टिकबाट बनाइएको नर्सरीको टनेल घाम छिर्ने तर पानी नछिर्ने र नच्यातिने बनाइएको छ । नर्सरीभित्रै थोपा सिँचाइ तथा विशेष प्रकारले व्यवस्थापन गरेर टनेलको छतबाट पानी छरी चिसोपन कायम राख्ने व्यवस्था गरिएको छ ।

बिरुवामा रोगकीरा लाग्न नदिनका लागि हावापानी आउँदा समेत असर नगर्ने र लेउ नलाग्ने व्यवस्था गरिएको छ । बाहिरबाट कुनै हानिकारक जीवाणु प्रवेश नगरोस् भन्नाका लागि नर्सरीमा दुई ढोकाको व्यवस्था गरिएको छ ।
दश वर्षसम्म प्रयोग गर्न सकिने उक्त नर्सरीको जमीनसँग जोडिएको भागमा विशेष प्रकारको एप्रोन जडान गरिएको छ जसले बिरुवालाई चाहिनेभन्दा बढी उत्पादन भएको कार्बन डाइअक्साइड र नाइट्रोजन नियन्त्रण गर्ने उप्रेतीले जानकारी दिनुभयो ।

पूर्णरुपमा जैविक खेती प्रणाली अपनाउनु भएका उप्रेतीले आफूलाई आवश्यक पर्ने प्राङ्गारिक मल आफैँ उत्पादन गर्नुुहुन्छ । उत्पादन हुने गड्यौले मल स्थानीयवासी किसानलाई समेत बिक्री गर्दै आएको उप्रेतीको भनाइ छ ।

व्यावसायिक खेती विस्तार गर्न जमीन अपुग भएकाले मेचीनगर–९ का डिल्ली न्यौपानेको एक बिघा र मेचीनगर–१० का दाताराम खनालको पाँच बिघचा जमीन भाडामा लिएर यसै वर्षदेखि उहाँले कागती, मेवा र तरकारी खेती शुरु गर्नुभएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाशकुमार खत्रीले झापामा आठ संस्थालाई उच्चप्रविधियुक्त नर्सरी, फलफूल तथा तरकारी खेतीका लागि सरकारले ७५ प्रतिशत अनुदान दिएको बताउनुभयो । उहाँका अनुसार भद्रपुर नगरपालिका–२ को एदन नर्सरी, वडा नं ८ को उदेश नर्सरी, अर्जुनधारा–८ को वैदिक एग्रो प्लान्टेड, मेचीनगर–९ को आइपिएम समाज झापा, बुद्धशान्ति गाउँपालिका–६ को शान्तिनगर कृषि सहकारी, शिवतासक्षी–२ का ताराप्रसाद गौतम र बिर्तामोड नगरपालिका–२ का राजेन्द्र कडरियालाई सो अनुदान प्रदान गरिएको छ । किसानलाई उत्साहित बनाउने उद्देश्यले झापामा पहिलो पटक शुरु भएको उच्च प्रविधियुक्त व्यवसायमध्ये उप्रेतीले सञ्चालनमा ल्याएको नर्सरी नमूनाकै रुपमा तयार भइसकेको कार्यालयका प्रमुख खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१