यार्सा टिप्न शिक्षक-विद्यार्थी लेकतिर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० बैशाख २०७५, सोमबार ०३:४७

बझाङ । देशव्यापी भर्ना अभियान चलिरहेका बेला बझाङ जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् ।

विद्यालय बन्दले करिब ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ ।

जिल्लाको उत्तरी भेकमा पर्ने साइपाल, तल्कोट, सुर्मा र मष्टा गाउँपालिकाका प्रायस् सबै विद्यालय बन्द छन् । यस्तै, बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी क्षेत्रका विद्यालय पनि पूर्ण बन्द भएका छन् ।

यस क्षेत्रका बासिन्दाको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बु रहेकाले पनि यो मौसममा ७र८ वर्षका बालकदेखि ७० वर्षका वृद्धसम्म यार्सागुम्बु टिप्न लेकतिर चढ्ने गरेका छन् । विद्यार्थीसँगै शिक्षकशिक्षिका पनि यार्सा टिप्न पाटनतिरै उक्लिएका छन् ।

चैतको अन्तिम साताबाट यार्सागुम्बु संकलन सुरु गरी असारको मसान्तसम्म टिप्ने क्रम जारी रहने हुनाले ३ महिना विद्यालय पूर्ण रूपमा बन्द भएको साइपाल गाउँपालिकाका एक शिक्षक उज्ज्वल बोहराले बताए ।

समुद्री सतहदेखि ४ हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सागुम्बु टिप्न अहिले यस जिल्लामा छिमेकी जिल्ला बाजुरा, बैतडी, हुम्ला, दार्चुला र अछामबाट मानिस ओइरिने क्रम सुरु भइसकेको छ । यार्सागुम्बा टिप्न र व्यापार गर्न दाङ, सुर्खेत, रुकुम, रोल्पा, काठमाडौं, भारत र चीनको तिब्बतबाट एक सिजनमा २० देखि ३० हजार मान्छे यहाँ आउने गरेका छन् । धेरै उचाइमा गएर काम गर्नुपर्ने र पालमुनिको बास हुने हुनाले अधिकांश बालबालिका र वृद्ध बिरामी र कतिपयले ज्यानैसमेत गुमाउने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१