३३ किलो सुन तस्करीमा मेरो संलग्न छैन : चेतन भण्डारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०७५, बिहीबार ०५:०३

काठमाडौं । ३३ किलो सुन तस्करीमा काण्डमा संलग्न भएको भन्नेबारे समाचारप्रति चर्चित रेष्टुरेन्ट ‘बाजेको सेकुवा’ सञ्चालक चेतन भण्डारीले गम्भिर ध्यानकर्षण गराएका छन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्ट्याटस पोष्ट गर्दै सुन तस्करीमा संलग्न भनि गरिएको भ्रामक दुस्प्रचार मेरो परिवार र व्यवसायलाई नोक्सान पुर्याउने दुस्प्रयास मात्र रहेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘हाम्रो रेष्टुरेन्ट सार्वजनिक ठाउँमा भएकाले मानिसहरुको जमघट हुनु स्वाभाविक हो, देशलाई माया गरेर देशको लागि आफ्नो क्षेत्रबाट योगदान गर्ने मेरो व्यवसायीक अभियान बाहेक कुनै किसिमको गैरकानूनी कार्यमा मेरो संलग्नता छैन ।’

‘विगत तीन दशकदेखि नेपालमा नितान्त कानुनी दायरामा रहेर व्यापार गर्दै आइरहेको छु,’ भण्डारीले भने, ‘हाल म अमेरिकाको न्यूयोर्कमा बाजेको सेकुवाको फ्रेन्चाईज शाखा विस्तारको क्रममा रहेको बेला मेरो नाम एक सुन तस्करी काण्डसँग जोडिएर विभिन्न समाचार माध्यममा आएको कुरा जानकारी पाएको हुँ ।’

सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले भण्डारीमाथि छानबिन अघि बढाएको र उनको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको प्रहरीले जनाएको छ ।

भण्डारीको फेसबुक स्ट्याटस जस्ताको तस्तैः–

मलाई जोडेर विभिन्न अनलाइनमा सुन तस्करीमा संलग्न भएको भन्नेबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

हाम्रो रेस्टुरेन्ट सार्वजनिक ठाउँ भएकाले मानिसहरुको जमघट हुनु स्वाभाविक हो तर त्यसलाई लिएर मेरो सो तस्करीमा संलग्न भनी गरिएको भ्रामक दुस्प्रचार मेरो परिवार र व्यवसायलाई नोक्सान पुर्याउने दुस्प्रयास मात्र हो।

म लगायत मेरो परिवार बिगत तीन दशकदेखी नेपालमा नितान्त कानूनी दायरामा रहेर व्यापार गर्दै आईरहेका छौं। हाल म अमेरिकाको न्यूयोर्कमा बाजेको सेकुवाको फ्रेन्चाईज शाखा बिस्तारको क्रममा रहेको बेला मेरो नाम एक सुन तस्करी काण्डसंग जोडिएर बिभिन्न समाचार माध्यममा आएको कुरा जानकारी पाएँ।

कुनै घटनासंग सम्बन्धित र शंकाको घेरामा परेको बिभिन्न पक्षहरूको जांचपड़ताल र सोधपुछ गर्न पर्ने र पाउने कानूनी प्रक्रिया हो र म त्यसको सम्मान गर्छु साथै त्यसमा सघाउने प्रतिबद्धता पनि जनाउंछु।र दोषी ठहरिएमा कारबाहीको भागी बन्न पनि सदैब तयार छु।

देशलाई माया गरेर देशको लागी आफ्नो क्षेत्रबाट योगदान गर्ने मेरो व्यवसायीक अभियान बाहेक कुनै किसिमको गैरकानूनी कार्यमा मेरो संलग्नता छैन।

म र मेरो व्यवसाय प्रति बिश्वास राख्ने सबैंमा म कृतज्ञता व्यक्त गर्छु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१