हेर्नुहोस सन् २०१८ काे वार्षिक राशिफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०७५, सोमबार ०४:५४

वर्षफल सन् २०१८

वर्षको प्रारम्भमा कन्या लग्न रहेको छ । लग्नपति मानिएको बुध ग्रह पराक्रम स्थानमा शत्रु मङ्गलको घर बृश्चिक राशिमा रहेर वर्षको प्रारम्भ भएको छ । उता भाग्यपति शुक्र पनि आफ्नो परम शत्रु बृहस्पतिको घरमा केन्द्रवर्ती भएर बसेको देखिन्छ । त्यसैले विश्वले केही आशा र केही चुनौतीको सामना गर्नुपर्छ । नयाँ वर्ष २०१८ बृश्चिक राशिमा पर्ने नेपाल र धनु राशिमा पर्ने भारत दुबै देशले मिश्रित फल प्राप्त गर्नेछन् । वर्षको प्रारम्भमा रहेको ग्रहहरूको शुभताको प्रभावले आर्थिक प्रगति, योजनाको निर्माण, जनतामा महत्त्वाकाङ्क्षा र उल्लासको अभिबृद्धि हुने सङ्केत छ । विकसित र ठूला राष्ट्रहरूले कुनै नयाँ परीक्षण र अन्वेषण सुरु गर्नाले आर्थिक पक्षमा नयाँ आशा जाग्ने सम्भावना देखिन्छ । साथै धनु राशिमा रहेको शनिश्चर अप्रिल १७ देखि सेप्टेम्बर ०४ सम्म बक्री रहने भएकाले उक्त अवधिमा पूर्वी एशियाका कतिपय स्थानमा प्राकृतिक विपत्ति आइलाग्न सक्छ, नेपाल र भारतमा जनताहरूले विद्रोह गर्ने र सामाजिक सद्भाव बिथोलिने खतरा देखिन्छ । बृहस्पतिका निमित्त तुला राशि शत्रुगृह भएकाले उक्त ग्रहको गतिमा अतिचार र बक्रतासमेत देखिने भएकाले समाज र आमजीवनमा सन् २०१८ जालझेल, खुट्टा तानातान, ठगी, फट्याइँ र चाकरीचाप्लुसीको आधिक्य रहेको वर्ष नै हुनेछ ।

बृहस्पति बृश्चिक राशिमा रहेको समय फेब्रुअरीदेखि अप्रिलसम्म र अक्टोबरपछि बाँकी समय सरकार कडिकडाउ भएर जाने सङ्केत देखिन्छ तर अन्य समयमा सरकार र प्रतिपक्षका बीचको जुवारी यथावत रहने छ । दलहरू आपसी गुटबन्दीमा रुमल्लिने छन् । चन्द्रमाको अधिकार क्षेत्र मानिएको कर्कट राशिमा राहु ग्रह उपस्थित हुनाले गृहिणीहरूमा चिडचिडेपना र अशान्ति व्याप्त हुनेछ । बृद्धावस्थाका व्यक्तिहरूको स्वास्थ्यसमस्या परिवारका सदस्यहरूका लागि चिन्ताको विषय बन्नेछ । अप्रिलदेखि अगस्टसम्म शनिश्चर ग्रहको बक्रताका कारण बलियो र अशान्त ऊर्जा शक्तिशाली हाबी बन्ने देखिन्छ । बृश्चिक, धनु र मकर राशि तथा मकर र कुम्भ लग्नका जातकले उक्त समयमा धनमालको नोक्सानी गर्नुपर्ने वा शारीरिक चोटपटकको विकृति सहनु पर्ने हुन सक्छ । महँगी बढ्ने छ, भ्रष्टाचारमा बृद्धि हुनेछ । त्यस्तै धनु राशिमा शनि बक्री रहेको समय (अप्रिल १७ – सेप्टेम्बर ०४) मा पर्याप्त वर्षा नहुनाले पूर्वी तराईका साथमा भारतको अधिकांश भागमा अनिकाल र सुखाले जनजीवन आक्रान्त हुनसक्छ । शनिको बक्रताका कारण साना र ठूला राजनैतिक दल, उच्च र निम्न वर्ग आदिका बीचमा रहेको असमझदारी र दूरी अझ बढ्दै जाने सङ्केत छ । राज्य पक्षले जनसरोकारका विषयमा चासो दिन सक्दैन । बृहस्पतिको बक्रता र अतिचारका कारण धार्मिक र बौद्धिक क्षेत्रमा रहेका व्यक्तिहरूले पनि अनेकानेक बाधा र आरोहअवरोहको सामना गर्नुपर्छ । आडम्बर र पाखण्डले प्रश्रय पाउने छ । विशेष गरी मार्चदेखि जुलाईसम्म झैझगडा, विवाद र तनावले ग्रस्त वातावरण देशले ब्यहोरी रहने परिस्थिति छ । शैक्षिक र प्राज्ञिक क्षेत्रमा आशा गरेअनुरूप सफलता मिल्दैन । बुद्धिजीविमाथि तस्कर र राजनीतिज्ञ हाबी हुनेछन् ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुने जातकहरूका लागि सन् २०१८ राम्रै वर्ष रहने छ । सप्तम भावमा भाग्येश बृहस्पतिको उपस्थिति रहेकाले उमेर पुगेका वर र बधु वैवाहिक जीवन तर्फ आकर्षित र प्रविष्ट हुने सम्भावना देखिन्छ । पति वा पत्नीका साथमा सुमधुर सम्बन्ध कायम हुनेछ । आवासगृह वा निवास स्थानमा परिवर्तन हुने सङ्केत छ । उन्नतिको आकाङ्क्षा राखी व्यवसायिक वा पेसागत स्थितिमा सुधार हुनसक्छ, कतिपयले समुचित अवसर प्राप्त गर्नाले नोकरी वा कारोबारमा परिवर्तन गर्नेछन् । मानसिक पक्ष बलियो छ । आर्थिक र सामाजिक हैसियतमा पनि बृद्धि हुनेछ । लामो दूरीको यात्रा सफल हुनेछ । धार्मिक विषयवस्तु वा पुराना कुरा  र शास्त्रीय ज्ञानका लागि गरिएको प्रयास सफल हुनेछ । घरमा माङ्गलिक कर्म र धार्मिकसांस्कृतिक कृत्यहरू सम्पादन हुनेछन् । तर मातापिता वा परिवारका बृद्ध सदस्यहरूको स्वास्थ्यस्थिति अनुकूल हुने छैन । विशेष गरी आमाको मानसिकतामा चिन्ता, शङ्का र खटपटीले बास गर्नेछ । समग्रमा राम्रो वर्ष छ, यद्यपि अझ बढी शुभफल प्राप्त गर्न भगवान् शिवको आराधना गर्नु मुनासिब हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

यो वर्ष तपाईंका लागि केही चुनौती, परीक्षा र सङ्घर्षका साथमा उपस्थित भएको छ । नोकरी वा व्यवसायबाट सन्तुष्ट हुन नसक्दा सामान्य फेरबदल वा परिवर्तनको सम्भावना देखिन्छ । घरमा पितासँग सम्बन्धमा वा अफिसमा हाकिमसँगको सम्बन्धमा तीतोपन आउन सक्छ । बुवा वा परिवारको बृद्ध पुरुषको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्नेछ । चलिआएको बन्दव्यापारमा थप लगानी गर्नु र स्तरोन्नति गर्नु त ठिकै हुनेछ, तर नयाँ कारोबारमा रकम लगानी गर्नु उचित हुँदैन । उता स्वास्थ्यमा पनि मौसमी रोगको प्रकोप देखा परिरहने छ भने गृहस्थी जीवन र प्रेमसम्बन्ध पनि सुमधुर रहन सक्दैन । यद्यपि मार्च, नोभेम्बर र डिसेम्बर महिनामा हाँकेताकेका काममा सफल भइने छ । त्यसो त स्वास्थ्यसंस्था, सरकारी अड्डाका कर्मचारी वा न्यायिक क्षेत्रका व्यक्तिहरूका लागि भने यो वर्षको समस्त अवधि भाग्योन्नति हुने वर्ष देखिन्छ । यस राशिका जातकहरूले यस वर्षमा शुभफल प्राप्त गर्न नियमित रूपमा महालक्ष्मी भगवतीको भक्तिआराधना गर्ने र असहाय दुःखी कन्या केटीको आवश्यकता विचार गरी रेशमी कपडा दान गर्ने वा अन्य भौतिक सहयोग गरेमा लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कलाक्षेत्रका व्यक्तिहरू, लेखक, फेसन डिजाइनसँग जोडिएका व्यक्तिहरूका लागि यो वर्ष सकारात्मक वर्ष रहने छ । यद्यपि आयमार्गमा विविध समस्याको सामना गरिरहनु पर्नेछ । घरायसी खर्चमा अनायासै बृद्धि हुनेछ । जीवनसाथीसँगको सम्बन्धमा निराशा नै देखिन्छ । परिवारभित्र पनि किसिमकिसिमका समस्या देखा परिरहने सङ्केत छ । तर परदेशीहरूले राम्रो आम्दानी गर्नुका साथै दूरगामी भविष्यसम्म काम लाग्ने क्षेत्रमा निवेश गर्ने देखिन्छ । विद्यार्थी र शैक्षिक क्षेत्रका व्यक्तिहरूले राम्रो नतिजा हात पार्ने छन् । साझेदारीमा गरिएको कारोबारबाट लाभ लिन सकिने छैन । साझेदारसित वैमनस्य बढ्ने र पुराना साथीभाइ टाढिने सम्भावना पनि देखिन्छ । बन्दव्यापारमा परिवर्तन गर्नु वा नयाँ कारोबारमा लगानी गर्नु हानिकारक बन्नसक्छ, सचेत हुनुपर्छ । व्यापार वा व्यवसायमा आफैंले गरेको काममा मात्र सफलता मिल्ने भएकाले सहयोगी वा कामदारलाईपूर्ण विश्वास गर्नु हानिकारक बन्ने सङ्केत छ । भ्रमका पछि कुद्नु बुद्धिमत्ता हुँदैन । यस वर्षलाई सफल तुल्याउन हृदयतः भगवान् विष्णुको उपासना गर्नोस् वा आवश्यकता भएका छात्रछात्रालाई वा विद्यालय वा गुरुकुलमा दानादि गर्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कल्पना, भावना, भ्रम र आनन्दका पछि कुद्ने बानी भएकाले यो वर्ष सुखद परिणाम प्राप्त गर्न सक्दैनन् । दाम्पत्य सम्बन्ध अनुकूल हुन सक्दैन, प्रेमसम्बन्धमा पनि तिक्तता आउने सम्भावना छ । ससाना कुरामा विवाद र झगडाको स्थिति आउन बेर लाउँदैन । निवासस्थानमा परिवर्तन हुने वा घरको मर्मतसम्भार गर्नु पर्ने ग्रह योग देखिन्छ । व्यापारीहरूले वैदेशिक प्रयोजनका कामबाट मनग्ये धनार्जन गर्नेछन् । स्वास्थ्यस्थितिमा सुधार हुनेछ । पछाडि कुरा काट्ने व्यक्ति, शत्रु वा प्रतिस्पर्द्धीहरू पराजित हुनेछन् । अभिभावक र गुरुजनसँग सम्बन्धमा प्रगाढता आउने सङ्केत छ । भाषिक क्षेत्रमा काम गर्न व्यक्तिहरू, मनोविज्ञान र मनोचिकित्साका क्षेत्रमा कार्यरत र विदेशमा गई रोजगारीमा रहेका कर्कट राशिका जातकहरूले लाभ, प्रशंसा र मानसम्मान प्राप्त गर्नेछन् । त्यस्तै घरजग्गाका कारोबारी र शैक्षिक क्षेत्रमा कार्यरतहरूले पनि शुभफल नै प्राप्त गर्नेछन् । समग्रतामा मिश्रित प्रभाव प्राप्त हुने साल भएकाले यस वर्षलाई अझ शुभकर बनाउन माता दुर्गाको भक्तिभावका साथमा उपासना गर्नु र दैनिक रूपमा दुर्गाकवचको पाठ गर्नु उपयुक्त हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका जातकहरूका निमित्त यस वर्षको सुरुका केही समय कठिन र सङ्घर्षशील रहे पनि समग्रतामा शुभफल नै प्राप्त हुने सङ्केत छ । वैवाहिक सम्बन्ध र प्रेमजीवन अनुकूल रहने छ । भाइबहिनी वा सन्ततिका स्वास्थ्य र व्यक्तित्व विकासका समस्याले चिन्तित तुल्याउन सक्छ । सामाजिक प्रतिष्ठा कायम हुनेछ । आत्मविश्वास बढ्ने छ । आफ्नो क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैदेशिक प्रयोजनका कामबाट मनग्ये लाभ लिन सकिने छ । बन्धुबान्धव र दाजुभाइसँग सरसहयोग र सम्बन्ध राम्रो रहने छ । धर्म, अध्यात्म, योग, ध्यान र आत्मचिन्तनका निमित्त उपयोगी समय रहने छ । विद्यार्थीहरूले कडा मिहिनेत गर्नुपर्छ । व्यक्तिगत स्वास्थ्यमा समस्या देखा परिरहने सङ्केत छ, मानसिक तनाव, थकावट र अनिद्राका समस्या देखा पर्नेछन् । समग्रतामा शुभफलकै अधिकता हुने यस वर्षमा अझ राम्रो प्रतिफल प्राप्त गर्न आशुतोष भगवान् शिवको उपासना गर्नु वाञ्छनीय देखिन्छ, स्वयं वा ब्राह्मणद्वारा रुद्राष्टाध्यायी पाठ गर्नुगराउनु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष सफल र स्मरणयोग्य वर्ष रहने छ । निजी र पारिवारिक आयमा बृद्धि हुनेछ । आगामी एक वर्षको अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । गरेको कामबाट लाभ र प्रशंसा दुबै मिल्ने देखिन्छ । रोजगारीका क्षेत्रमा पदोन्नति हुने वा आयमूलक क्षेत्रको काम हातपर्ने सम्भावना छ । वित्तीय क्षेत्र, इलेक्ट्रोनिक, फेसन डिजाइन, मौखिक अभिव्यक्तिका काम आदि क्षेत्रमा जोडिएका व्यक्तिहरूले अयाचित उपलब्धी हासिल गर्नेछन् । यस वर्ष घरघडेरी वा जेथो जोड्ने वर्ष हो । सेयर कारोबारबाट पनि राम्रै लाभ मिल्ने देखिन्छ । तर पारिवारिक स्वास्थ्यको स्थिति राम्रो देखिंदैन । वैदेशिक कारोबारबाट लाभ लिन सकिने छैन । , परदेशमा बस्नेहरू मानसिक तनाव र झमेलामा फँस्ने सम्भावना हुन्छ । काममा लगानी गर्नु लाभप्रद नै रहने छ, तर उधारो वा ऋणमा काम गरेमा राम्रो फल प्राप्त हुन सक्दैन । यस वर्षलाई शुभप्रद बनाउन तपाईंले माता लक्ष्मी र गणेशको आराधना गर्नु बुद्धिमानी हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका जातकहरूमा यस वर्ष साहस, पराक्रम र आत्मविश्वासमा बृद्धि हुने वर्ष छ । निजी जीवन र व्यक्तित्वको विकासमा सकारात्मक समय छ । दाम्पत्य सम्बन्ध उल्लासमय रहने देखिन्छ, कतिपयले दाम्पत्य जीवनमा प्रवेश गर्नेछन् भने कतिपयले सन्तानलाभ गर्ने सम्भावना देखिंदैछ । कतिपय वस्तुहरूमा नयाँ अनुभव र ज्ञान प्राप्त गर्ने अवसर पाइने छ । व्यवसायिक यात्राको सम्भावना छ । वित्तीय क्षेत्र र सेयर मार्केटमा गरेको लगानी लाभप्रद बन्नेछ । कारोबारको विस्तारका लागि ऋण वा सापटी लिनु पर्ने परिस्थिति सिर्जना हुनेछ । पुरानो सम्पत्तिको बिक्रीबट्टा हुने अथवा कुनै पारिवारिक विवाद वा झमेलाको अन्त्य हुने सम्भावना देखिंदैछ । परिवारमा मातापिता वा ज्येष्ठ नातेदार र कार्यक्षेत्रमा हाकिम वा सिनियर साथीसँगको सम्बन्धमा चिसोपन देखिने सम्भावना हुन्छ । दैनिक खर्चलाई नियन्त्रण गर्न सकिंदैन । त्यस्तै यस अवधिमा विशेषतः आमाको स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । समग्रमा यो वर्ष शुभफलका साथमा उपस्थित भएको छ, यद्यपि अझ उत्कृष्ट परिणामका लागि बेलुकाको समय वा रात्रीकालमा लक्ष्मीनारायणको पूजाउपासना गर्नु लाभप्रद हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका व्यक्तिहरूका लागि उताचढाव र सङ्घर्षले भरिएको समयावधि हो, नयाँ साल २०१८ । आर्थिक पक्ष असन्तुलित रहने देखिन्छ । घरायसी खर्च र कारोबारमा व्यर्थको लगानी बढ्ने सङ्केत देखिंदैछ । रिस, घमण्ड, अहङ्कार र गर्वका कारण झमेलामा फँस्ने सम्भावना छ, ससाना कुरामा कचिङ्गल मच्चिन सक्छ, सचेत हुनुपर्छ । घरका बृद्धसदस्यको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । विशेषतः संयमता र अनुशासनको नियममा बस्नु बुद्धिमानी हुनेछ । त्यसो त केही विषयमा यस वर्ष लाभप्रद पनि रहने देखिन्छ । वैदेशिक प्रयोजनका काम वा विदेशको बसाइ लाभप्रद रहने छ । लामो वा छोटो दूरीका ससाना यात्राको सम्भावना छ । कुनै धार्मिक वा पर्यटकीय क्षेत्रको भ्रमण हुनेछ । समग्र अवधिमा तपाईंभित्र पराक्रम,  आत्मविश्वास र साहसमा बृद्धि हुने सङ्केत छ । योग र धार्मिक कृत्यका निमित्त सक्रिय भूमिका निर्वाह गरिने छ । घरमा किशोरावस्थाका केटाकेटी छन् भने तिनको सामाजिकता र चरित्रप्रति विशेष ध्यान दिनु राम्रो हुनेछ । समयलाई लाभप्रद तुल्याउन तपाईंले गरिबगुरुबा, भिखारी र दिनदुःखीको सहयोग गर्नु र भोजनादि गराउनु राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यो वर्ष लाभमूलक क्षेत्रमा उल्लेखनीय उपलब्धी लिने वर्ष हो । समग्रतामा आयक्षेत्रमा वृद्धि हुनेछ, कुनै दीर्घकालिक प्रयोजनमा रकम निवेश हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रामा गिरावट आउने छ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ । तर दाम्पत्य जीवन सुखद रहने सङ्केत देखिंदैन, ससाना कुरामा विवाद र तनाव भइरहने छ । पार्टनरसिपमा गरिएको कारोबार फलदायी हुँदैन । विवाद र कलहको योग पनि देंखिदैछ, नजिकका मित्र तथा पति वा पत्नीसित हेलचक्र्याइँ गर्नु र जिस्किनुको परिणाम खराब हुने भएकाले मुखलाई नियन्त्रणमा राखेको जाति हुनेछ । अत्यधिक मिहिनेत र खटाइले गर्दा शरीरमा पोषक तत्त्वको कमी हुनेछ, परिणामतः शारीरिक कमजोरीको अनुभूति हुनसक्छ । कार्यक्षेत्रको बोझ र एकान्तप्रिय हुनाले नातेदार र परिवारका सदस्य टाढिने सम्भावना छ, त्यसैले सामाजिकतामा विशेष ध्यान पुर्याउनु पर्छ । तर पेसा वा व्यवसायमा प्रशंसाको भागीदार भइने छ । भाइबहिनी र छोराछोरीका तर्फबाट शुभ सङ्केत प्राप्त हुनेछ । यस वर्ष अझ फलदायी बनाउन शनिश्चर ग्रहको उपासना गर्नु र शनिमृत्युञ्जय स्तोत्रको पाठ गर्नु वाञ्छनीय देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोजगारी र बन्दव्यापारमा शुभ परिणाम प्राप्त हुनेछ । यो अवधिलाई तपाईंको जीवनकालकै सर्वश्रेष्ठ समय प्रमाणित गर्न सक्ने सङ्केत छ । अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग मिल्नेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । कार्यालयका हाकिम वा सिनियरहरूले सहयोग र प्रशंसा गर्नेछन् । बढुवा, प्रशंसा वा पुरस्कार प्राप्त हुनेछ । तर प्रेमीप्रेमिका वा पतिपत्नीको आन्तरिक सम्बन्धमा भने यदाकदा खटपट र निराशाको वातावरण कायम हुनेछ । स्वास्थ्यस्थितिमा मौसमी रोगव्याधिको प्रकोप रहने भएकाले सचेत हुनुपर्छ ।  वर्ष सकारात्मक नै देखिन्छ, तर सानातिना चोरी हुने वा सामान हराउने सम्भावना भने प्रबल छ । यस वर्षलाई अझ उत्कृष्ट तुल्याउन आफैंले वा घरका बृद्ध सदस्यमार्फत पितृदेवताको चित्त बुझाउनु वा कुनै तीर्थस्थानमा गएर श्राद्धादि गर्नु मुनासिब हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका जातकहरूका लागि यो वर्ष अत्यधिक सकरात्मक वर्ष रहने सङ्केत देखिन्छ । व्यक्तिगत जीवन र पेसाव्यवसायका सन्दर्भमा शुभफल प्राप्त हुनेछन् । व्यापार, नोकरी वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा अधिकतम समय घुमफिरमा बित्नेछ । भ्रमण र पर्यटनका लागि अनुकूल समय छ । शत्रुको प्रतिष्ठा गिराउन सफल भइने छ । पारिवारिक जीवन सुखद हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । कर्मचारीले राम्रो फाइदा बटुल्न सक्नेछन्, इच्छाएको जिम्मेबारी प्राप्त गर्न सकिने छ । अध्यात्म र धार्मिक गतिविधिमा रुचि जागृत हुनेछ । प्रतिस्पर्द्धी र शत्रुको नाश हुनेछ । ऋणभारमा कमी आउने छ । स्वास्थ्यस्थितिसमेत अनुकूल रहने छ । बालबच्चाबाट सुख र सन्तुष्टि प्राप्त हुनेछ । पारिवारिक र दाम्पत्य सम्बन्धको भरपूर सुख भोग गर्न पाउनु हुनेछ । पति वा पत्नीको कार्यक्षेत्रबाट समेत लाभ मिल्नेछ । समग्रमा अत्यन्त शुभकारक वर्ष भए पनि यस वर्ष तपाईंले गरेको तीर्थयात्राबाट तपाईंले इहलोक र परलोक दुबै सुधार्ने अवसर प्राप्त गर्नुहुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ वर्ष २०१८ मा मीन राशिका जातकहरूको जीवनशैलीमा केही अप्रत्याशित परिणाम प्राप्त हुने सम्भावना देखिन्छ । व्यक्तिगत र पेसागत जीवनमा समेत परिवर्तनको आभास मिल्नेछ । यस समयमा सामान्यभन्दा बढी खट्ने समय हो । तर गरिएको परिश्रम र मिहिनेतको परिणाम उल्लेखनीय र लाभप्रद रहने छ । घरपरिवारका सदस्यहरूले काममा सघाउ पुर्याउन सक्दैनन् । बालबच्चाको स्वास्थ्यस्थितिमा असर पर्ने वर्ष छ, तिनको खानपान र आहारविहारमा सचेतता अपनाउनु पर्दछ । सकेसम्म समय निकालेर घरपरिवारको भावना बुझ्ने प्रयास गर्नु राम्रो हो । आर्थिक पक्ष जोखिमयुक्त छ, सट्टापट्टा, साझेदारी वा जुवाजन्य क्रियाकलापबाट फाइदा हुने देखिंदैन । भ्रम र उच्चाकाङ्क्षा हानिकारक बन्ने भएकाले  समस्यामा जान्नेबुझ्ने र गुरुजनको राय लिनु वाञ्छनीय देखिन्छ । मनमा आवेश र अहङ्कारको प्रवेश हुनु हुँदैन, संयमता र धैर्यताका निमित्त योग र ध्यानमा समय दिनुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१