विवाहको गिफ्ट खोल्दा बम पड्केर दुलाहाको मृत्यु

भारतको एक शहरमा विवाहको गिफ्टमा लुकाइएको बम विष्फोट भएर एक नव–विवाहित सफ्टवयर इन्जिनियरको मृत्यु भएको छ । घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छिन् । यो घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले रहस्य पत्ता लगाउन सकेका छैन।

विवाहको पाँच दिन पछि गत २३ फरवरीमा ओडिशाको पाटनागढमा अफ्नो नयाँ घरमा सफ्टवेयर इन्जिनियर सौम्य शेखर साहू र उनकी २२ वर्षीय पत्नी रीमा भान्छामा कुरा गरिरहेका थिए ।

नवविवाहित जोडी के तरकारी बनाउने सल्लाह गरिरहेका समय सौम्यले आफ्नो घरको गेट बजेको सुने । एक डेलिभरी म्यान बाहिर उभिएको थियो । उसको हातमा सौम्यको नामको पार्सल थियो ।
बाक्साको बाहिर एक घोटिएको स्टीकरमा पठाउनेको नाम लेखिएको थियो । यसमा एस.पी. शर्मा, रायपुर (घटनास्थलबाट करिब २३० किलोमिटर टाढा रहेको शहर) लेखिएको थियो ।

रीमा भान्छाघरमा पतिले खोल्दै गरेको बाकस सम्झदै भन्छिन् “पार्सललाई हरियो कागजले बेरिएको थियो । यसबाट एउटा सेतो धागो निस्किएको थियो । सोही समय पछाडिबाट उनकी ८५ वर्षिया हजुरआमा जेमामणि साहू पार्सलमा के आएको रहेछ भन्दै हेर्न आइन् ।”
सौम्य शेखरले आफ्नो श्रीमतीलाई “यो विवाहको गिफ्टजस्तो देखिन्छ । तर यसलाई कसले पठाएको रहेछ , म त रायपुरमा कसैलाई चिन्दिन ” भने ।

उनले धागो तानेलगत्तै मेघ गर्जेझैं भयो । भाञ्छामा ठूलो विष्फोट भयो । तीनै जना यसको असरले जमिनमा लडे । तीनको शरीरबाट रगत बग्न लाग्यो ।

यो विष्फोटबाट छतको प्लास्टरमा चिरा प¥यो, वाटर प्युरिफायर फुट्यो । झ्याल फुटेर धुजाधुजा भयो ।

तीनै जना पीडाले छटपटाउन थाले थाल्यो । जेमामणि साहूको शरीरमा आगो लाग्यो । सौम्य शेखरले बेहोस हुनुभन्दा अगाडि कराउदै भने “बचाऊ, म मर्न लागें ।”

रीमाले आफ्नो पतिको बोलि सुनेको त्यो अन्तिम समय थियो ।

आगोले तीनको अनुहार र हात जलाएको थियो । उनको फोक्सोमा धुँवा भरिएको थियो र उनी श्वास लिनको लागि संघर्ष गरिरहेकी थिइन् । उनको कान चुईई कराइरहेको थियो । यही कारणले उनले

छिमेकीहरुले भनेको स्पष्ट रुपमा सुन्न सकिरहेकी थिइनन् । सायद तीनले ग्यासको सिलिण्डर पड्केको हो कि भनेर सोधिरहेका जस्तो सम्झन्छिन् उनी ।

उनको आखाँमा धुलोले छोपिएकाले दृश्य धमिलो हुदैँ गएको थियो ।
धरमराउदै बेडरुम पुगिन रीमा
त्यसपछि रीमा धरमराउदै बेडरुम पुग्न सफल भइन् र स्थानीय कलेजमा प्रध्यानापक रहेकी आफ्नी सासुलाई कल गर्न फोन उठाइन् । तर कल गर्नुभन्दा पहिले नै उनी बेहोस भइन् ।
यसको केही मिनेटपछि खिचिएको भिडियो फुटेजमा छिमेकीहरुले तीनजना घाइतेहरुलाई तन्नामा उठाएर बाहिर रहेको एम्बुलेन्समा हालिरहेको देखिन्छ । सौम्य शेखर र जेमामणि साहूको अस्पताल लाने क्रममा मृत्यु भयो । दुवै जना ९०% शरीर जलेको थियो ।
रीमा सरकारी अस्पतालको वर्न वार्डको एक कोठामा विस्तारै ठीक हुँदैछिन् ।

यो भीषण घटना घटेको एक महिनाभन्दा धेरै भइसकेको छ । तर सौम्य शेखरलाई कसले मारेको भन्ने कुराको अझै कुनै अत्तोपत्तो लागेको छैन ।

सौम्य र रीमाको पारिवारिक पृष्ठभूमी
सौम्य र रीमाको एक वर्ष अघि मात्र टिकोटालो भएको थियो । रीमाको बुवा एक कपडा व्यापारी हुन् जसले रीमालाई आफ्नो भाईसँग मागेर पालेका थिए । उनलाई आफ्नो दुई छोराहरु पछि एक छोरी चाहिएको थियो र उनको भाइका तीन छोरीहरु थिए ।

सौम्य शेखरका आमा बुवा दुवै कलेल टिचर छन् । उनका बुवा जीव विज्ञान पढाउथे र सौम्यले कम्प्युटर विज्ञान पढेको थिए । दुई महिना अघिमात्र उनको बेङ्गलुरुमा एक जापानी इलेक्ट्रोनिक कम्पनीमा काम पाएका थिए । यो कम्पनीमा जानु अघि उनले चण्डीगढ र मैसुरमा इन्फो–टेक कम्पनीहरुमा काम गरिसकेका थिए ।

एक अपरिचित फोन कल
सौम्य शेखरका बुवा रबिन्द्र कुमार साहू(५७) ले भने “सौम्य बैङ्लुरुमा हुदाँ उनलाई एक पटक एक अपरिचित फोन आएको थियो । यो कल पछिल्लो वर्ष आएको थियो । रीमाले मलाई बताएकी थिइन कि दुई फोनमा कुरा गरिरहदाँ सौम्यलाई त्यो फोन आएको थियो । त्यो बेला सौम्यले रीमालाई होल्डमा राखेर उसँग कुरा गरे र पछि रीमालाई फोनमा उनलाई धम्क्याएको बताए । एक पुरुषले उनलाई फोनमा विवाह नगर्न धम्की थिएको थियो ।”

“त्यसपछि उनीहरुले त्यस्तो फोन आएको उल्लेख गरेनन् । यही दौरान दुबैको विवाह भयो । हामीले त्यो फोन कलको बारेमा पुरै बिर्सिसकेका थियौं ।”
यो हत्यालाई लिएर दुई दर्जन जाँचकर्ताहरुले चार अलग अलग शहरहरुमा तीनका साथीहरु र आफन्तहरु समेत १०० भन्दा बढी मानिसहरुसँग सोधपुछ गरिसकेका छन् । तिनले मोबाइल फोन कल रेकर्डको अनुसन्धान गरे र नवविवाहितहरुको ल्यापटप र फोनको पनि जाँच गरिसके ।

अपरिस्कृत बम
पुलिसले हालसम्म यो पार्सल रायपुरबाट पठाएको पत्ता लगाएको छ । यसमा गलत नाम र ठेगाना लेखिएको थियो । हत्याराले यसको लागि ४०० भारु खर्च गरेको देखिएको छ । साथै उसले धेरै सावधानीसँग कुरियरको छनौट गरेको देखिन्छ । कुरियर कम्पनीको वरपर कुनै सीसीटीवी क्यामरा लगाइएको छैन, साथै पार्सललाई स्क्यान पनि गरिएको थिएन ।

तीन वटा बस र चार जना कर्मचारी हुँदै पार्सल ६५० किलोमिटरको बाटो तय गरेर २० फेब्रुअरी पाटनगढ पुगेको थियो ।

कुरियर कम्पनीका स्थानीय म्यानेजर दिलीप कुमार दासले भने “ डेलिभरी–म्यान त्यही साँझ सौम्य शेखरको घर पुगेको थियो । तर त्यहाँ रिसेप्सन पार्टी चलिरहेकाले उसले सामान नदिइ फर्केछ ।”
अन्तमा उसले त्यसको तीन दिनपछि पार्सललाई गेटमा डेलिभरी गरेको थियो ।

फोरेन्सिक विशेषज्ञ यो बम कति शक्तिशाली थियो भनेर पत्ता लगाउनमा लागेका छन् । जाँचकर्ताको भनाई अनुसार यो सुतरीको डोरीमा बेरिएको अपरिस्कृत बम थियो जुन विष्फोट पछि सेतो धुँवा निस्केको थियो ।

प्रहरीको थप आशंका
प्रहरीले घटनालाई कतै तिरस्कृत प्रेमीले गराएको हो कि भनेर अनुसन्धान गरेको छ ।

साथै पुलिसले विवाहको केही दिन अघि सौम्य शेखरले किन आफ्नो फेसबुक एकाउण्ट डिलीट गरेर नयाँ अकाउण्ट खोले त्यसमा पनि जाँच गरिरहेको छ ।

के यो साहू परिवारको सम्पत्तीलाई लिएर भएको हत्या थियो ? जसको एक मात्र हकदार सौम्य शेखर मात्र थिए ।

के यो हत्याको सम्बन्ध रीमाको माध्यामिक स्कूलको दौरान भएको एक विवादसँग रहेको छ ? जब एक सहपाठीले उनलाई दुःख दिएको थियो र उनका बुवा आमाले यसको उजुरी स्कूलका प्रिन्सिपललाई दिएका थिए । तर यसको सम्भावना कमै रहेको छ किनकी यो घटना भएको ६ वर्ष भइसक्यो ।

पुलिसले यस घटनालाई महत्व दिएर अनुसन्धान गरिरहेको छ।(रातोपाटि)

सोमवार, चैत्र २६, २०७४ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री